

नवलपुर । वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाहरूले हस्तकला उद्यममार्फत आयआर्जनसँगै स्थानीय रोजगारी सिर्जना गर्न सफल भएका छन ।
जिल्लाको देवचुली नगरपालिकास्थित नमुना महिला सामुदायिक वनमा आबद्ध महिलाहरूले थाकल र अमृसोको उपयोग गरी विभिन्न हस्तकला सामग्री तथा कुचो उत्पादन गर्दै आत्मनिर्भर बन्ने अभियानलाई सफलतापूर्वक अघि बढाएका हुन ।
पहिले वनमा खेर जाने थाकल अहिले महिलाहरूको आम्दानीको मुख्य स्रोत बनेको छ । उनीहरूले थाकलबाट झोला, टेबल म्याट, टी–म्याट, टोपी, गमला, सजावटका सामग्रीलगायत विभिन्न हस्तकला उत्पादन गरिरहेका छन । त्यस्तै अमृसोबाट कुचो उत्पादन गरी स्थानीय बजारदेखि काठमाडौंसम्म बिक्री गर्दै आएका छन ।
नमुना हस्तकला सामान उत्पादन महिला समूहकी अध्यक्ष कोपिला रायमाझीका अनुसार केही वर्षअघि थाकलको झोला बुन्ने तालिम लिएपछि सामान्य झोला उत्पादनबाट सुरु गरिएको उद्यम अहिले विभिन्न प्रकारका हस्तकला सामग्री र अमृसोका कुचो उत्पादनसम्म विस्तार भएको छ । हाल समूहमा करिब २० जना महिला सक्रिय रूपमा आबद्ध छन ।
उहाँका अनुसार समूहका सदस्यहरूले सामुदायिक वनबाट थाकल संकलन गरी त्यसलाई प्रशोधन गरेर विभिन्न सामग्री उत्पादन गर्छन । उत्पादनमा संलग्न सदस्यहरूलाई निश्चित पारिश्रमिक प्रदान गरिन्छ भने बाँकी बचत पुनः उद्यम विस्तारमै लगानी गर्ने व्यवस्था गरिएको छ ।
उद्यममा आबद्ध खगिसरा लुङगेलीले घरधन्दा सकेपछि फुर्सदको समयमा घरमै बसेर थाकलका झोला, टोपी तथा अमृसोका कुचो बनाउने गरेको बताउनुभयो। उद्यमबाट हुने आम्दानीले व्यक्तिगत खर्च व्यवस्थापन गर्न तथा परिवारको आर्थिक आवश्यकतामा सहयोग पुगेको उहाँको भनाइ छ ।
भर्खरै कुचो बनाउने तालिम लिनुभएकी कुमारी श्रेष्ठले अन्य महिलाहरू उद्यममार्फत आत्मनिर्भर बनेको देखेपछि आफू पनि समूहमा आबद्ध भएको बताउनुभयो । सीप हासिल गरेपछि आफ्नै मेहनतबाट आम्दानी गर्न सकिने आत्मविश्वास बढेको उहाँले सुनाउनुभयो ।
समूहले उत्पादन गरेका सामग्रीहरू मुख्यतः होमस्टे, पर्यटन क्षेत्र तथा काठमाडौंसम्म पुग्ने गरेका छन । पछिल्लो समय बजार खोज्दै हिँड्नुपर्ने अवस्था नरहेको र विभिन्न संघसंस्था तथा ग्राहक स्वयं माग गर्न आउने गरेको अध्यक्ष रायमाझीले बताउनुभयो ।
नमुना महिला सामुदायिक वनकी अध्यक्ष रिलकुमारी तामाङका अनुसार थाकलबाट हस्तकला सामग्री उत्पादनसँगै व्यावसायिक रूपमा अमृसोका कुचो उत्पादनलाई समेत विस्तार गरिएको छ । आफ्नै सामुदायिक वनमा अमृसो पर्याप्त नहुँदा अन्य सामुदायिक वनबाट कच्चा पदार्थ ल्याएर उत्पादन बढाइएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल काठमाडौंबाट एकैपटक एक सयवटा हस्तकला सामग्रीको अर्डर प्राप्त भएको छ । अर्डरको माग बढ्दै जाँदा समूह थप उत्साहित बनेको उहाँले बताउनुभयो ।
उद्यमलाई व्यवस्थित बनाउन समूह दर्ता गरी संस्थागत रूपमा सञ्चालन गरिएको तामाङले जानकारी दिनुभयो। उद्यम विस्तार गर्ने उद्देश्यले केही दिनअघि मात्रै थप २० जना महिलालाई तालिम प्रदान गरिएको थियो । उक्त तालिम सञ्चालनका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको उहाँले बताउनुभयो ।
वनमा खेर जाने प्राकृतिक स्रोतको सदुपयोग गर्दै सञ्चालन गरिएको यस उद्यमले महिला सशक्तीकरण, आयआर्जन र स्थानीय रोजगारी प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी सुवास अधिकारीले बताउनुभयो । वन पैदावारको दिगो उपयोग मार्फत वातावरण संरक्षणसँगै ग्रामीण महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन डिभिवन वन कार्यालयले यहाँका सामुदायिक वनहरुलाई प्रोत्साहन समेत गर्दै आएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |