

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पूर्वाधार विकास कार्यालय नवलपुरद्वारा सञ्चालित योजनाहरूले पूर्णता पाउन सकेका छैनन् । जिल्लामा सञ्चालित पूर्वाधार विकासका योजनाहरू निर्माण व्यवसायीले काम रोक्दा अधुरै रहेको पूर्वाधार विकास कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख विष्णु पौडेलले बताउनुभयो ।
चालु आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने ४३ वटा योजनामध्ये ३२ वटा योजना महँगीका कारण निर्माण व्यवसायीले काम नगर्दा अधुरा रहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।
बत्तीस वटा प्याकेजमा विभाजन गरी ३७ वटा योजना अघि बढाइएकोमा ३२ वटा योजना अधुरा रहेको उहाँको भनाइ छ । चार वटा योजना बहुवर्षीयमा गएको र केही जग्गा विवादका कारण काम हुन नसकेको उहाँले बताउनुभयो ।
ठेक्का लागेका योजना अधुरा रहँदा विकास निर्माणको काम प्रभावित बनेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो। “सबैजसो कालोपत्र गर्ने योजनाहरू अधुरा रहेका छन् । चालु आर्थिक वर्षमा यी योजना सम्पन्न गर्नुपर्नेमा काम बाँकी छ । निर्माण व्यवसायीले महँगीको कारण देखाउँदै निर्माणको काम रोक्दा योजनालाई पूर्णता दिने विषयमा थप अन्योलता भएको छ,” कार्यालय प्रमुख पौडेलले भन्नुभयो ।
जिल्लामा ठूला तथा क्रमागत योजनाहरू समेत प्रभावित बनेको उहाँले बताउनुभयो। कतिपय पहिलेदेखि सञ्चालित क्रमागत योजनामा समेत काम हुन नसकेको उहाँको भनाइ छ ।
ठेक्का लागिसकेका योजना भएकाले कि निर्माण कम्पनीलाई कारबाही गरी ठेक्का तोड्नुपर्ने वा म्याद थप गरी योजना सम्पन्न गराउन लाग्नुपर्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । योजनाहरूलाई पूर्णता दिलाउनेतर्फ नै आफूहरूले पहल गरिरहेको उहाँको भनाइ छ ।
ठेक्का लिँदाको दररेट र अहिलेको दररेटमा ठूलो फरक आएकाले निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नरहेको नवलपुर निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष हेमुशंकर देवकोटाले बताउनुभयो । डिजेल, बिटुमिनदेखि ज्याला र अन्य आवश्यक सबैजसो कच्चा पदार्थको मूल्य धेरै वृद्धि भएकाले निर्माणको जिम्मा लिएको कामसमेत गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । “डिजेल महँगो छ, त्यसले सबैतिर असर गरेको छ। बिटुमिनको मूल्य पनि उस्तै बढेको छ । त्यसमाथि बिटुमिनको अभावसमेत भएको छ। महँगीले काम नै गर्न नसक्ने अवस्था आएपछि धेरैजसो निर्माण व्यवसायीले काम रोक्नुभएको छ,” अध्यक्ष देवकोटाले भन्नुभयो । अत्याधिक मूल्य वृद्धिका कारण आफूहरुले काम गर्न सक्ने अवस्था नरहेकाले सरकारले मूल्य समायोजन गरिदिनुपर्ने अध्यक्ष देवकोटाले बताउनुभयो । मूल्य वृद्धिलाई मध्यनजर गरि मूल्य समायोजना गरिदिएमा निर्माण व्यवसायीहरुले सहज रुपमा काम गर्न सक्ने उहाँको भनाई छ ।
तस्विर : AI
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |