

टोकियो जापान ।शालिकराम भट्टराई। नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठको नेतृत्वमा टोकियोस्थित नेपाली राजदूतावास पुगेर सेवा प्रवाह, समस्या तथा आगामी योजना बारे जानकारी लिइएको छ।
शुक्रबार मेगुरोस्थित राजदूतावासमा भएको भेटमा महासंघले जापानमा रहेका नेपालीहरू माझ सही र प्रभावकारी सूचना प्रवाह गर्ने उद्देश्यसहित संस्थागत रूपमा जानकारी आदान प्रदान गरिएको हो।
कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले दूतावासबाट प्रदान गरिँदै आएका सेवा, भोग्नु परेका चुनौती तथा आगामी कार्य योजना बारे विस्तृत जानकारी गराए। आफू कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेपछि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन पहल गरिएको उनले बताए।
उनका अनुसार दूतावासमा दैनिक ९ सय भन्दा बढी टेलिफोन आउने गरेका छन्। ती गुनासो तथा जिज्ञासालाई व्यवस्थित रूपमा सम्बोधन गर्न ‘आईभीआर प्रणाली’ सञ्चालनमा ल्याइएको छ। साथै, मासिक रूपमा फेसबुक लाइभ तथा ह्वाट्स एप मार्फत सेवाग्राहीका गुनासा सुन्ने र समाधान गर्ने प्रयास भइरहेको उनले जानकारी दिए।
यसै क्रममा उनले जापानमा रहेका नेपाली विद्यार्थीहरूमा आत्महत्या दर बढ्दो क्रममा रहेकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। चालु आर्थिक वर्षको श्रावणदेखि हालसम्म जापानमा ५३ जना नेपालीको मृत्यु भइसकेको बताउँदै उनले ती मध्ये करिब ८० प्रतिशत घटना आत्महत्यासँग सम्बन्धित रहेको जानकारी दिए।
जापान सरकारले विद्यार्थीलाई हप्तामा २८ घण्टा काम गर्न पाउने व्यवस्था गरेको भए पनि केही विद्यालय तथा कलेजहरूले सो अनुमति नदिएको गुनासो दूतावासमा आउने गरेको उनले बताए। आर्थिक दबाब, कामको दबाब र मानसिक तनावका कारण विद्यार्थीहरू जोखिममा पर्ने गरेको उनको भनाइ थियो।
त्यस्तै, श्रम स्वीकृतिको अभावमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउन समेत कठिनाइ हुने समस्या रहेको उनले औंल्याए।
“श्रम स्वीकृति लिएका व्यक्तिको मृत्यु हुँदा राज्यको कोषबाट शव घरसम्म लैजाने व्यवस्था छ, तर विद्यार्थी र डिपेन्डेन्टका हकमा यस्तो सुविधा नहुँदा समस्या हुने गरेको छ,” उनले भने।
महासंघका अध्यक्ष श्रेष्ठसहित उपाध्यक्ष लक्ष्मी पौडेल, सदस्यहरू दिनेश थापा, विनोद ढकाल तथा पत्रकार जीवन सुवेदीले जापानमा रहेका नेपाली समुदायका विभिन्न समस्या दूतावास समक्ष राखेका थिए।
उनीहरूले दूतावासको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सूचना साझेदारीमा सहकार्य गर्ने, सही सूचना समुदायसम्म पुर्याउने तथा दूतावास र नेपाली समुदाय बीच पुलको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |