

नवलपुर । प्राङ्गारिक (जैविक) मल तथा जैविक विषादीको प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले नवलपुरका किसानलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम कावासोतीमा सम्पन्न भएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई, नवलपुरको आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा माटो सुधारका लागि जैविक मलखादको महत्व र प्रयोग विधिबारे किसानहरुलाई सैद्धान्तिक तथा व्यवहारिक जानकारी प्रदान गरिएको थियो । कृषि विज्ञ राजेन्द्रजंग रायमाझीले माटोको स्वास्थ्यबारे जानकारी दिँदै माटो स्वस्थ भए मात्रै उत्पादन पनि स्वस्थकर र राम्रो हुने बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय किसानहरु बोटबिरुवाको उत्पादनमा मात्रै केन्द्रित हुँदा माटोको स्वास्थ्य बिग्रँदै गएको छ । उत्पादनलाई दीगो र गुणस्तरीय बनाउन माटोको स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।
रायमाझीले सकेसम्म जैविक मलको प्रयोग गर्न र आवश्यक परेमा मात्रै रासायनिक मल सही मात्रा र अनुपातमा प्रयोग गर्न किसानलाई सुझाव दिनुभयो । गाईभैँसीको गोबर मलको प्रयोग घट्दै जाँदा माटोको स्वास्थ्यमा असर परेको उल्लेख गर्दै उहाँले घरमा कम्तीमा एउटा गाईवस्तु पाल्न आग्रह गर्नुभयो । गाईको गहुँत र गोबर माटोका लागि अत्यन्त उपयोगी हुने उहाँले बताउनुभयो ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई, नवलपुरका प्रमुख डा. देवराज अधिकारीले जैविक विषादी बनाउने ज्ञान तथा सीप प्रदान गर्दै माटो, बिरुवा तथा बालीको स्वास्थ्य सुधार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । कृषकहरुलाई रासायनिक मलमा निर्भरता घटाउँदै जैविक खेतीतर्फ आकर्षित गर्न कार्यक्रमले टेवा पुग्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा कृषकहरुलाई जैविक मल उत्पादन विधि, प्रयोग तरिका तथा जैविक विषादीको सुरक्षित र प्रभावकारी प्रयोगबारे जानकारी दिइएको थियो । साथै जिल्लाका केही किसानले आफूहरुले जैविक मल तथा विषादी उत्पादन गरी प्रयोग गर्दै आएको अनुभव पनि साट्नुभएको थियो ।
कार्यक्रममा कार्यालयका सूचना अधिकारी रणबहादुर महतोले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा तरकारी सुपरजोन तथा अमिलो जातका फलफूल खेतीतर्फका कृषक, कार्यालयका इन्टर्नसहित करिब ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रम कावासोतीस्थित कृषि उपज थोक बजार व्यवस्थापन समितिको सभाहलमा सम्पन्न भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |