

नवलपुर। मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जंगल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोला–दुम्किबास बीचको जंगल क्षेत्रमा टेलिकमको टावर निर्माण गरिएको नेपाल टेलिकम कावासोती शाखाका प्रमुख निरोज घिमिरेले जानकारी दिनुभयो। उक्त क्षेत्रमा टावर जडान भएपछि अहिले नेटवर्क समस्या समाधान भएको उहाँले बताउनुभयो। टावर सञ्चालनमा आएपछि त्यहाँ टुजी र फोरजी सेवा सहज रूपमा उपलब्ध भएको पनि उहाँले जानकारी दिनुभयो।
मुख्य राजमार्गमा मोबाइल नेटवर्क नहुँदा कहिलेकाहीँ विपद् पर्दा सञ्चार अभावका कारण उद्धार कार्यमा ढिलाइ हुने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिले यसअघि नै राजमार्ग क्षेत्रमा नेटवर्क विस्तार गर्न सुझाव दिएको थियो।
नवलपुरको चोरमारा–अरुणखोला र डण्डा–अरुणखोला खण्डको राजमार्ग स्थित जंगल क्षेत्रमा समेत नेटवर्क समस्या रहेकाले ती स्थानलाई पनि टावर जडानका लागि प्राथमिकतामा राखिएको प्रमुख घिमिरेले बताउनुभयो।
नेपाल टेलिकमले कालीगण्डकी करिडोर र जिल्लाका पहाडी क्षेत्रलाई समेत लक्षित गरी टावर निर्माणलाई प्राथमिकता दिएको उहाँले जानकारी दिनुभयो। यसअन्तर्गत बुलिङटारको बोझापोखरीमा टावर निर्माण कार्य सम्पन्न भइसकेको छ र केही दिनमै सञ्चालनमा आउने तयारी रहेको छ। यस्तै, बुलिङटारकै थामबेसीमा टावर निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको उहाँले बताउनुभयो।
“पहाडी क्षेत्रमा नेटवर्कको समस्या रहेकाले त्यसको समाधानका लागि कार्यालयको योजना अनुसार चाँडै बोझापोखरीमा टावर सञ्चालनमा आउँदै छ, अर्को स्थानमा निर्माण कार्य सुरु भइसकेको छ,” प्रमुख घिमिरेले भन्नुभयो।
जिल्लाको पहाडी क्षेत्र विनयी त्रिवेणीको धुरकोटमा पनि टावर निर्माणका लागि अनुमति प्राप्त भइसकेको छ भने हुप्सेकोटको चारघरेमा सर्वेक्षण कार्य सम्पन्न भई अनुमति प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो।
त्यस्तै, पर्यटकीय क्षेत्र अमलटारीमा नेटवर्क समस्या रहेको गुनासो आएपछि त्यहाँ पनि टावर निर्माणका लागि अनुमति प्राप्त भएको र चाँडै निर्माण कार्य सुरु हुने बताइएको छ। पर्यटकीय क्षेत्रका रुपमा विकास भएका ठाउँ भएकाले समेत पर्यटकहरुलाई समस्या नहोस भनेर यहाँ टावर निर्माणको अनुमति आएको उहाँले बताउनुभयो ।
नेटवर्क सुधारका लागि यसअघि सौर्य ऊर्जाबाट सञ्चालनमा रहेका टावरमा विद्युत् आपूर्ति पु¥याउने काम पनि भइरहेको छ। सौर्य प्रणालीमा निर्भर हुँदा जाडो मौसम वा घाम नलाग्दा नेटवर्कमा समस्या आउने भएकाले नियमित र सहज सेवा सुनिश्चित गर्न विद्युत् जडानको काम अगाडि बढाइएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो।
यसैबिच नवलपुरमा टेलिकमले कपर वायर टेक्नोलोजीलाई प्रतिस्थापन गरि फाइबर वायर टेक्नोलोजीबाट सेवा प्रदान गरिरहेको छ। साथै शनिबार र सार्वजनिक बिदाको दिनमा पनि काउन्टर र मर्मत सेवा दिँदै आएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |