

नवलपुर । नवलपुरमा चैते (हिउँदे) धान रोपाइँ ९५ प्रतिशत सम्पन्न भएको छ । कृषि विकास कार्यालय नवलपुरका कृषि अर्थ विज्ञ संजय ढकालले अहिलेसम्म जिल्लामा चैते धान रोपाइँ ९५ प्रतिशत सम्पन्न भएको जानकारी दिनुभएको हो ।
जिल्लाको कावासोती नगरपालिकाको चिलाहा, रतौल, मगरकोट, पिठौली, अग्यौली, अमलटारी लगायतका क्षेत्रमा चैते धान खेती बढी गरिन्छ । भने गैंडाकोट नगरपालिकाको भेडाबारी क्षेत्रमा चैते धान रोपाइँ बढी हुने गरेको ढकालले बताउनुभयो ।
त्यसबाहेक अमरापुरी, देवचुली, मध्यविन्दु, अरुणखोला, रजहर र पहाडी पालिका बुलिङटार र बौदीकालीका केही क्षेत्रमा पनि चैते धान लगाउने गरिएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा सिमसार क्षेत्र भएको कारण चैते धान राम्रो हुने गरेको छ । सिँचाइको सुविधा समेत राम्रो हुँदा यहाँका किसानले माघ महिनाको अन्तिम हप्ताबाटै रोपाइँ सुरु गर्छन् ।
पहाडी क्षेत्रमा सिँचाइको सुविधा कम भएकाले वर्षा भएपछि रोपाइँ हुन्छ। पहाडी क्षेत्रमा र तल्लो क्षेत्रका केही स्थानमा रोपाइँ बाँकी छ । बाँकी रहेका क्षेत्रमा चाँडै रोपाइँ सम्पन्न हुने ढकालले जानकारी दिनुभयो ।
जिल्लामा यस वर्ष करिब १ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुने र ८ हजार १ सय १५ मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको ढकालले बताउनुभयो । गत वर्ष १ हजार २ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो भने ७ हजार ८ सय ५३ मेट्रिक टन धान उत्पादन भएको ढकालले बताउनुभयो ।
कृषि विकास कार्यालयले चैते धान खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । कार्यक्रमअन्तर्गत सिँचाइ सुविधाका साथै कृषिमा यान्त्रिकीकरणका लागि अन्य उपकरणमा अनुदान प्रदान गर्दै आएको कार्यालयका सूचना अधिकारी एवं कृषि प्रचार अधिकृत विश्वास काफ्लेले बताउनुभयो ।
यहाँ वर्षे धानभन्दा चैते धान खेती राम्रो हुने गरेको छ ।
जिल्लामा विशेषगरी चैते–५, हर्दिनाथ, ताइचिन, भेडे अनदी जातका चैते धान रोप्ने गरिएको छ । चैते धानमा असारे धान जस्तो रोग र कीरा कम लाग्ने तथा फल पनि बढी लाग्ने हुँदा उत्पादन राम्रो हुने गरेको काफ्लेले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |