

ढोरपाटन । काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले विनियोजन गरेको रु तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण गरिएको हो । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोलाले तीन वर्ष अगाडि नै गाउँगाउँमा आधारभूत स्वास्थ्य सेवा पुर्याएको थियो ।
नागरिकलाई गाउँबाटै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आधारभूत अस्पताल बनाएको हो । पालिकामा अहिलेसम्म स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाइबाहेक अन्य स्वास्थ्य संस्था थिएनन् । स्थानीयलाई अलि जटिल प्रकारको स्वास्थ्य समस्या देखिए बागलुङ बजार जानुको विकल्प छैन । गाउँपालिकाले प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ ।
पालिकाका सात वडामा सात स्वास्थ्यचौकी तथा चार स्थानमा आधारभूत स्वास्थ्य एकाइ स्थापना गरी सञ्चालनमा छन् । साविकका रेश, भिमापोखरा, बिहुँकोट, लेखानी, धम्जा, तङ्ग्राम र लेखानी गाविसमा एक–एकवटा स्वास्थ्यचौकी भए पनि नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउन सकेका थिएनन् । टाढाका गाउँलेलाई लक्षित गरी रेशमा अस्पताल बनाउन लागेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।
गाउँगाउँमा आधारभूत स्वास्थ्य एकाइ स्थापना भएपछि उपचारका लागि सहज भए पनि सेवाको गुणस्तर र जटिल रोगको उपचार पनि गाउँमै गर्न आधारभूत अस्पताल निर्माण प्रारम्भ भएको उनको भनाइ छ । सोह्र महिनामा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले २०८१ साउनदेखि काम सुरु गरको थियो । करिब छ महिनाअगावै काम सकिएको अध्यक्ष थापाले जानकारी दिए ।
उनले भने, “हरेक नागरिकले सहज रूपमा स्वास्थ्योपचार गर्न पाउनुपर्छ । त्यसैले पालिकाको विभिन्न वडामा स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर पहिलेदेखि नै सेवा दिँदै आएका छौँ, अब एउटा अस्पताल पनि आवश्यक देखिएको हुँदा वडा नं ७ मा पाँच शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ, केही समयमै सेवा सञ्चालन हुनेछ ।”
काठेखोला–७ का वडाध्यक्ष प्रेम लामिछानेले यहाँ स्वास्थ्यचौकी मात्र रहेकाले आधारभूत अस्पताल निर्माण गरेको बताए । अब स्वास्थ्यचौकीको सेवा आधारभूत अस्पतालमै गाभिने र सेवा थप गरेर प्रवाह गरिने छ । पछिल्लो पाँच वर्षमा काठेखोलाले वडा नं ८ कादेसमा स्वास्थ्य एकाइ, वडा नं १ दोबिल्ला स्वास्थ्य एकाइ, वडा नं ४ मा फापरखेत स्वास्थ्य एकाइ र वडा नं ५ मा बिहुँ स्वास्थ्य आधारभूत स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |