

नवलपुर । नवलपुरको कावासोती नगरपालिका नगर खेलकुद विकास समितिले नयाँ प्रशिक्षक उत्पादन गर्न फुटबल प्रशिक्षक तालिम सुरु गरेको छ । खेलकुद क्षेत्रको विकासका लागि प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले नगर खेलकुद विकास समितिले प्रशिक्षक तयार पार्न लागेको हो ।
कावासोती नगरपालिका –१२, पिठौलीमा आजदेखि तालिम सुरु गरिएको छ । जेठ ८ गतेसम्म चल्ने तालिमको आज कावासोती नगरपालिका नगर उप प्रमुख फूल कुमारी थनेतले उद्घाटन गर्नुभएको छ । तालिमको उद्घाटन गर्दै नगर उप प्रमुख थनेतले खेल क्षेत्रले मानिसलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । खेलले समाज र राष्ट्रलाई समेत चिनाउन सहयोग पुर्याउने बताउनुभयो । नगर उप प्रमुख थनेतले कावासोती नगरपालिका द्धारा प्रदान गरिएको तालिमले नयाँ प्रशिक्षकहरू तयार हुने र खेल क्षेत्रको विकासमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले सहभागीलाई शुभकामना दिँदै पछिल्लो समय मानसिक स्वास्थ्यको विषय समेत पेचिलो बन्दै गएकोमा खेलले मानिसलाई मानसिक रूपमा स्वस्थ राख्न सहयोग पुग्ने हुँदा खेल क्षेत्रमा धेरै भन्दा धेरै विद्यार्थी सहित व्यक्तिहरूलाई जोड्दै जान सके अझ राम्रो हुने बताउनुभयो ।
जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेतबहादुर पुनले जिल्लामा खेलाडीहरू भए पनि प्रशिक्षकको अभाव देखिएको हुँदा यसलाई महसुस गरी कावासोती नगरपालिका खेलकुद विकास समितिले तालिम प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।
कावासोती नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष एवं कावासोती –१२,का वडा अध्यक्ष ध्रुव खनाल (दीपेश)ले स्वास्थ्य , राष्ट्रका लागि र सामाजिक रूपान्तरणका लागि खेलकुद हुँदै गर्दा निर्वाहका लागि हुन नसकेको बताउँदै व्यावसायिक प्रशिक्षक बनाउने उद्देश्यका साथ तालिमको सुरुवात गरेको बताउनुभयो । तालिम पछि उत्पादन भएका प्रशिक्षक व्यावसायिक रूपमा जोडिन सक्ने साथै यस क्षेत्रको खेल क्षेत्रको विकासमा समेत सहयोग पुग्ने बताउनुभयो । कावासोती नगरपालिका नगर खेलकुद विकास समितिले समग्र खेल क्षेत्रको विकासका लागि विभिन्न योजना बनाएर कार्य गर्दै आएको समेत उहाँले बताउनुभयो ।
तालिममा नवलपुरका विभिन्न स्थानीय तह सहित चितवनका गरी करिब ४० जनाको सहभागिता रहेको छ । उनीहरूलाई फुटबलका विषयमा एन्फाका प्रशिक्षक पङ्कज शाही र संजित सिंहले तालिम प्रदान गर्नुहुनेछ ।
क्याटोगोरी डी अन्तरगतको फुटबल प्रशिक्षक तालिममा प्राविधिक सहयोग अखिल नेपाल फुटबल सङ्घ, सह आयोजक डायमन्ड युथ सोसाइटी, व्यवस्थापन पिठौली चौर युवा समिति र समन्वय नवलपुर जिल्ला फुटबल सङ्घले गरेका छन् । तालिमको उद्घाटन सत्रको सञ्चालन नगर खेलकुद विकास समिति सदस्य मनीषा पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष तिर्सन घर्तीले राख्नु भएको थियो । तालिमको उद्धघाटन कार्यक्रममा खेल क्षेत्रमा आवद्ध विभिन्न व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |