२०८० मंसिर २५, सोमबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र अन्र्तगत पर्ने दुईवटा पालिकाको जनसंख्या घट्दो रुपमा रहेको छ । जिल्लाको बौदिकाली र बुलिङटार गाउँपालिकाको जनसंख्या पछिल्लो १० वर्षमा घट्दो रुपमा रहेको छ ।
तथ्याङ्क कार्यालय चितवनले गएको आइतबार मात्र कावासोतीमा विंस. २०७८ को जनगणनाको अन्तिम नतिजा विवरण सार्वजनिक गरेको छ । जनगणनाको नतिजा सार्वजनिक गर्दै तथ्याङ्क कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीले नवलपुरको दुई पालिकामा तिव्र रुपमा जनसंख्या घट्दो क्रममा देखिएको बताउनुभयो ।
बौदिकाली गाउँपालिकामा जनगणनाको तथ्याङ्क अनुसार ३ दशमलव १४ प्रतिशतको दरले जनसंख्या वृद्धिदर ऋणात्मक रहको छ । यस पालिकामा २०६८ मा १५ हजार ७३४ जनसंख्या रहेकोमा २०७८ मा यो संख्या घटेर ११ हजार ३३८ मा झरेको छ ।
जिल्लाकै पहाडी क्षेत्रमा पर्ने बुलिङटार गाउँपालिकामा २ दशमलव ५७ प्रतिशतले जनसंख्या घटेको छ । यहाँ २०६८ मा १९ हजार १२२ जनसंख्या रहेकोमा २०७८ को जनगणनामा घटेर १४ हजार ६३७ मा पुगेको छ ।
जनगणना हालैको तथ्याङ्क अनुसार सबैभन्दा धेरै रोजगारीको खोजीमा, व्यापार ,व्यवसायको सिलसिला र अध्ययनका लागि बसाइसराइ गर्नेको संख्या धेरै रहेको तथ्याङ्क कार्यालय चितवनका प्रमुख भण्डारीले बताउनुभयो ।
पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता नहुनुनै पहाडका बस्ती खाली हुँदै जानु प्रमुख कारण रहेको बौदिकाली गाउँपालिका –२, डेढगाउँका स्थानीय अगुवा उज्वल ओझाले बताउनुभयो । बजार क्षेत्रसँगको पहुँच कम हुनु, यातायातको सुविधा नहुनु र शिक्षा ,स्वास्थ्यको गुणस्तर पहाडी क्षेत्रमा कमजोर हुनुले बसाइसराइ तीब्र रहेको उहाँको भनाई रहेको छ ।
पहाडमा बासिन्दा टिकाउन मुख्यतः शिक्षा ,स्वास्थ्यको गुणस्तर वृद्धि गर्नुपर्ने र रोजगारी सिर्जना हुने योजना बनाउन आवश्यक रहेको बौदिकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । पहाडबाट दिन प्रतिदिन मानिस बसाइसराइ गरि बाहिर जानु चिन्ताजनक रहेको उहाँले बताउनुभयो । गाउँपालिकाले यसै विषयलाई मध्यनजर गरि पछिल्लो एक वर्ष शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर अगाडि बढेको अध्यक्ष ओझाले बताउनुभयो । पहाडमा शैक्षिक र स्वास्थ्यको गुणस्तर सुधारमा आफूहरू केन्द्रित रहेको अध्यक्ष ओझाले बताउनुभयो । ‘हामी बसाइँसराइको यो गम्भिर परिस्थितिको जानकार छौं ,त्यसैले पहाडलाई बस्न योग्य बनाउने हाम्रो योजना हो, सोही अनुसार शिक्षा ,स्वास्थ्यको गुणस्तर सुधार , रोजगारी सिर्जनाको विषयलाई प्राथमिकता दिएर लागेका छौं’ गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो । सीमित स्रोतका कारण यि विषयको द्रुत रुपमा विकासका लागि पालिकाको पहलमा मात्रै गर्नभने चुनौतिपूर्ण रहेको उहाँले बताउनुभयो । पालिका सहित प्रदेश र संघले समेत पहाडको विकासलाई प्राथमिकता दिने गरि आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो । पालिकाका आगामी योजनाहरु शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार र रोजगारी सिर्जनामा केन्द्रित रहने समेत अध्यक्ष ओझाले बताउनुभयो ।
जिल्लाकै हुप्सेकोट गाउँपालिकामा समेत जनसंख्या वृद्धिदर न्यून रहेको छ । यहाँको जनसंख्या वृद्धिदर शून्य दशमलव ५६ प्रतिशत मात्रै रहेको छ । पालिकाको पहाडी क्षेत्रमा जनसंख्या घट्दो रहेको छ ।
जिल्लाको पहाडी क्षेत्रको साक्षरता दर समेत कम रहेको छ । जिल्लाको ८ वटा पालिका मध्य बुलिङटारमा सबैभन्दा कर ७२ दशमलब ८९ र बौदिकालीमा ७५ दशमलब ५४ प्रतिशत साक्षरता दर रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |