२०८० आश्विन ५, शुक्रबार
ज्ञानु पंगेनी । कावासोती । रिटर्नीहरुको पहलमा निर्माण सुरु गरिएको नवलपुर चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम तिब्र पारिएको छ ।
तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माणको पहिलो चरणको काम अन्तरगत साईड अफिस र पार्किङ्ग निर्माण सम्पन्न भईसकेको छ । भने, कम्पाण्डवाल निर्माणको काम धमाधम भईरहेको छ । कम्पाण्डवाल निर्माणको काम करीब २० प्रतिशत सम्पन्न भईसकेको ईन्जिनियर प्रदिप अर्यालले जानकारी दिनुभयो । अहिले पाँच जना मिस्त्री सहित १५ जना कामदार दैनिक रुपमा खटिएका छन् । पहिलो चरणको काम अब छिट्टै सकिने र दोश्रो चरणको काम सुरु हुने अर्यालले बताउनुभयो ।
जर्मनी प्रविधिबाट निर्माण गरिने चिस्यान केन्द्र आधुनिक हुनेछ । केन्द्रमा पाँवटा च्याम्वर रहनेछन् जहाँ फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले चिस्यानकेन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् भनें, भाडामा लिएर आफ्ना सामान राख्न चाहनेहरुका लागि पनि सेवा उपलव्ध हुने अर्यालले बताउनुभयो ।
केन्द्र, प्रदेश , स्थानीय तह र रिटर्नी नेपालीहरुको लगानी गरी रु. २० करोडको लागतमा नवलपुर चिस्यान केन्द्र निर्माणको काम थालनी गरिएको रिटर्नी कृर्षि तथा पशुपालन कम्पनी लिमिटेडका अध्यक्ष नेत्र थनेतले बताउनुभयो ।
‘प्रवासबाट आर्जित सिप, ज्ञान र पूँजी स्वादेशका लागी’ भन्ने नारा लिएर विदेशबाट फर्किएका नेपालीहरुको पहलमा चिस्यान केन्द्र निर्माण थालनी गरिएको हो । बैदेशिक रोजगारमा आर्जेको शिप र ज्ञानलाई आफ्नै माटोमा प्रयोग गरेर आत्मनिर्भर बन्ने र देशलाई पनि समृद्धिको बाटोमा अगाडी बढाउन सहयोग पुर्याउने उदेश्यले रिटर्नीहरुको पहलमा चिस्यान केन्द्रको काम अघि बढाएको अध्यक्ष थनेतले बताउनुभयो । यस चिस्यान केन्द्रमा देशभरका रिटर्नीहरुको सहभागीता रहेको छ ।
१८ कठ्ठा जग्गा लिजमा लिएर चिस्यान केन्द्र निर्माण सुरु गरिएको हो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
नवलपुर कृषि उपजका हिसावले समृद्ध रहेको र यहाका किसानलाई थप प्रोत्साहित गर्न सकिएमा किसान देखि उपभोक्तासम्मलाई लाभ दिन सकिने भएका कारण चिस्यान केन्द्र निर्माण गर्ने योजना बनाएर काम थालनी गरिएको थनेतले बताउनुभयो । कृषि उपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालिम र बीउ बीजन चिस्यान केन्द्रले नै उपलव्ध गराउने अध्यक्ष थनेतको भनाई छ । यसले हालको भन्दा बढी उत्पादन हुने र किसानलाई लागत खर्च कम भई प्रतिफल वृद्धि हुने उहाँ बताउनुहुन्छ ।
जिल्लामा नै चिस्यान केन्द्र निर्माण हुने भएपछि यहाँका किसान पनि खुसी भएका छन् ।
चिस्यान केन्द्र सञ्चालनमा आएपछि जिल्लाका किसानहरुले उत्पादित कृषि उपजको भण्डारण गर्न अन्यत्र जान नपर्ने भएपछि खुसी भएका छन् ।
जिल्लामा उत्पादन हुने आलु , सुन्तला, अमिलो , प्याज लगायतका कृषि उपज र हिमाली क्षेत्रको स्याउ समेतको यहाँ भण्डारण गरेर वेमौसममा बिक्री गरि अम्दानीमा बृद्धि गर्न सकिने प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तलाजोन कार्यक्रमका वरिष्ठ कृषि विकास अधिकृत विष्णु प्रसाद शर्माले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |