

नवलपुर । प्रत्यक्ष अवलोकन भ्रमण गरी मनोरञ्जनका साथ ज्ञानको दायरालाई फराकिलो बनाउने उद्देश्यका साथ शान्ति निकुञ्ज माध्यमिक विद्यालय, कावासोती – १२, नवलपुरमा अवस्थित विद्यालयबाट मिति २०८१ मंसिर ३गते देखी ६ गते सम्म कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीको भ्रमण एवं अवलोकन को यो भ्रमण यात्रा प्रतिवेदन हो। यस विद्यालयको स्थापना विस २०१२ मा भई ६९ वर्षको यात्रामा शैक्षिक सत्रको अन्त्यमा हुने पालिका, प्रदेश र राष्ट्रिय स्तरको परिक्षामा पालिका भित्र आफ्नो नतिजा सदैव गौरव गर्न लायक रहेको छ । विद्यालयले अतिरिक्त र सह- क्रियाकलापलाई महत्वपूर्ण स्थान दिएको छ । विगतमा पनि विद्यालयले विद्यार्थीको सिर्जनशिलता र व्यक्तित्त विकासको लागि शैक्षिक भ्रमणको कार्यक्रम कहिले नेपालको पूर्वी भाग त कहिले पश्चिम सम्मको छोटो र लामो रूपमा शैक्षिक भ्रमण र वनभोज कार्यक्रम सम्पन्न गरेको छ । यस वर्षको वार्षिक कार्ययोजनानुसार शैक्षिक भ्रमणको कार्यक्रम रहेकोले २०८१र०८र०२ गते विधालय व्यवस्थापन समित र शिक्षकहरुको वैठकले भ्रमणको तय गरियो। उक्त छलफलले भ्रमण संयोजक सीता ढकाल काफ्ले (म )र सदस्य तिलक भुसाल र ज्योति खोजवार लाई जिम्मेवारी दिनुभएकोमा आभारी छौ । भ्रमणमा लागि पोखरा, बाग्लुङ, कालिका मन्दिर, पञ्चकोट, कालिगण्डकी जलविद्युत आयोजना, पाल्पा, बुटवल, भैरहवा लुम्बिनि सुनौली नाका सम्मको यात्रामा विद्यार्थी, अभिभावक र शिक्षकको सहमति भयो । भ्रमणको लागि आर्थिक र प्राविधिक समस्या समाधान गर्नकालागि प्रत्येक विद्यार्थी बाट र शिक्षकबाट (विद्यालयबाट) प्रतिव्यक्ति रु. ६५०० जम्मा गरी भ्रमणको लागि तयारी गर्ने निर्णय गरियो । शैक्षिक भ्रमण सहयात्रीकोरुपमा ४२ सिटको बस रिर्जभ गरेका थियौं। शैक्षिक भ्रमण तथा अवलोकनको क्रममा ३७ जना विद्यार्थी र ३ शिक्षक भ्रमणको लागि तयार भयौं । सोमबार ठिक ५:३० बजे बिहन विद्यालयमा जम्मा हुने गरी हामी सबै ४ बजे छुट्टी भए पछि आ-आफ्नो घर गई तयारीमा लागियो ।
भ्रमणका उद्देश्यहरु
कुनै पनि शैक्षिक भ्रमण एवं अवलोकनको उद्देश्य स्पष्ट हुन जरुरी हुन्छ । सोही बमोजिम हाम्रो भ्रमणको उद्देश्य निम्न लिखित रुपमा राख्यौ ।
विद्यालयमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नु,
नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले धनी देश हो, यहि विविधतालाई अवलोकन गर्नु, विभिन्न नयाँ स्थानको बारेमा जानकारी लिनु, मनोरञ्जन गर्नु, भौगोलिक विविधताको बारेमा जानकारी लिनु, व्यक्तित्व विकास र सिर्जनशिल बन्नु, प्राचीन कला, सभ्यता र संस्कृतिको जानकारी लिनु ।
भ्रमण अध्ययन विधि
यस भ्रमण र अवलोकनलाई सफलतापूर्वक सम्पन गरी उपलब्धिमूलक र उद्देश्य प्राप्तिको लागि निम्न लिखित विधि छनोट गरियो ।
१.अवलोकन विधि
२.प्रश्नोत्तर विधि
३.अन्वेषण विधि
भ्रमणका उपलब्धि
पहिलो दिन (मिति २०८१/०८/०३ गते पाताले छाँगो, गुप्तेश्वर महादेव गुफा, पुम्दिकोट शिवालय मन्दिर, फेवा ताल हुदै पोखरा लेक साइड बास)
पूर्व निर्धारित योजना अनुसार बिहान ५:३० बजे विद्यालयमा जम्मा भई ६:०० बजे ३७ जना विद्यार्थी ३ शिक्षक र २ जना गाडी चालक र सहचालक गरी जम्मा ४२ जनाले यात्रा सुरुवात गरियो । बाटोमा जाम परेको हुनाले बिहानको खाना ११ बजे घासिकुवामा अवस्थित वविना होटलमा खायौ र २ बजे मात्र पोखरा पुग्यौ।
पहिलो अवलोकन डेभिज फल्स (पाताले छाँगो)
पाताले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ । जमीनको सतह भन्दा तल गुप्तेश्वर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको रहेछ । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म रहेछ । सन् १९६१ मा फेवा तालमा पौडदै गर्दा एक जना स्विस पर्यटक अप्रत्यासित रूपले आएको बाढीको कारण पानीमै बगीन र उसलाई उसको श्रीमानले जोगाउन सकेन यसै प्रकार, त्यस महिलाको शरीर कहिले पनि भेटाउन सकिएन जसको फलस्वरूप यस पाताले छाँगोलाई त्यस महिलाको नाम बाटै डेभिज फल नामाङ्कित गरिएको रहेछ । विद्यार्थि भाइबहिनीहरु एकदमै उत्साहित हुदै अवलोकन, गर्न थाले । यस पछि गुप्तेश्वर महादेव गुफा तर्फ लाग्यौ ।
गुप्तेश्वर महादेव गुफा
कास्की जिल्लाको पोखरा महानगरपालिका भित्र पर्ने एउटा धार्मिक एवं पर्यटकीय स्थल हो। गुफाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व रहेको पाइयो । साँझमा सुख, शान्ति र पितृ उद्धारको लागि आरती वाल्ने चलन रहेछ । गुफा जमिन देखि १५० मि भित्र तल रहेको गुफा भित्रवाट पातले छाँगा वाट खसेको झरना हेर्न सकिन्छ ।
विद्यार्थीले अवलोकन पश्चात् यस्तो गहिरो सुन्दर कसरी बने होला भन्दै एकआपसमा रमाइलो मान्दै कुराहरु आदानप्रदान गरेको पाइयो । हामि गुप्तेश्वर महादेव गुफाको अवलोकन गरी सिटी बस रिर्जभ गरि पुम्दिकोट शिवालय मन्दिर तर्फ लाग्यौ ।
पुम्दिकोट शिवालय मन्दिर
५६ फिट अग्लो शिवको मूर्ति निर्माण भएको, मन्दिर स्थल उच्च स्थानमा भएको कारण पोखरा बजार सराङ्कोट, फेवा ताल, विहानको समय हुँदा चाँदी जस्तै टल्कने माछापुच्छ्रे, अन्नपूर्ण हिमालहरु नजिकवाट देख्न पाँउदा विद्यार्थी भाइवहिनीहरु फुरुङ्ग र खुसि थिएँ।
एकदमै रमणीय वातावरण भएको हुँदा विद्यार्थी भाइबहिनीहरु फोटाहरु खिच्न र भिडीयो खिच्न व्यस्त भए । हामि करिब ६ बजे तिर सिटी बसमै त्यँहा बाट हाम्रो बस पाताले छागोमा थियो त्यँहा आयौ र बस फेरेर हामि आजको बसाई हुने होटल तर्फ लाग्यौ र होटलमा हाम्रो अर्को शिक्षक लक्ष्मण सर भेट हुनु भयो । ८ बजे तिर बेलुकाको खाना खाएर हामि फेवा ताल तर्फ लाग्यौ ।
फेवा ताल
पोखरा बजारको मुटुमै रहेको सुन्दर र मनमोहक फेवातालमा पुग्दा निक्कै आनन्द लाग्यो । अन्नपूर्ण र माछापुच्छे हिमालको काखमा रहेको फेवातालगा पुगेर विद्यार्थी भाईबहिनीहरु प्रकृत्तिको सुन्दरतामा रमाउँदै विभिन्न खेलहरु खेल्न थाले । प्रशिस अनिश सिशान्त आदी ३६०° को पिङ खेलें । मलाई भने हेर्दैमा डर लाग्यो। हामि पनि पिङ (रोटे पिङ) खेल्न मन लागेर टिकट लिग्यो ।निकै डर र नयाँपनका साथ पिङ खेलियो । कोही विद्यार्थी Ice-cream खान रमाइरहेका ” थिए । यसरी व्यहाँ बाट हामी १०:३० बजे राती फकियौं र हामिले खाना र बस्नको लागि लिगेको होटलमा बास बस्यो ।
दोस्रो दिन
विन्दवासिनी मन्दिर, बाग्लुङ कालिका, पञ्चकोट, शालग्राम संग्राहलय, झलुड़े, पुल (पर्वत) देखि स्याङ्जासम्मको यात्रा) बिहान उठेर आ-आफ्नो नित्यकर्म सकेपछी हाम्रो योजना अनुसार।
विन्ध्यवासिनी मन्दिर
पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो। यो हिन्दूमन्दिर पोखराको वडा नं २, मिरुवामा अवस्थित रहेछ ।यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीय वासी, देशभरका नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको रहेछ । यो मन्दिरको मूल देवी विन्ध्यवासिनी हो। विन्ध्यवासिनीलाई भगवती कालीको अवतार हुन्। मन्दिर परिसरमा देवी सरस्वती, शिव, हनुमान, गणेशका साना मन्दिरहरू रहेको र मन्दिर एउटा सानो पहाडमा अवस्थित छ। मन्दिरसम्म पुग्नको लागि ढुङ्गाको सुन्दर सिढी बनाइएको रहेछ । बिन्दबासिनी मन्दिर बिहानको ७ बजे दर्शन गरि । बाग्लुङ कालिका तर्फ लागियो र बिहान ९:३० बजे मन्दिर पुगियो।
बाग्लुङ कालिका मन्दिर :
पर्वतका राजा प्रताप नारायण मल्लको विवाहा वि.सं. १५९१ मा पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग भएको थियो । विवाहा हुँदा मणि मुकुन्दकी छोरीले माझकी देविलाई पनि दाइजोको रूपमा आफु सँगै बुवासँग मागेर ल्याइएकी थिइन र पाल्पाबाट पर्वत आउने क्रममा देवि रहेको ठाँउमा बिसाएर उठाउदा नउठेपछि राजदम्पतिले यस ठाउँमा मन्दिर स्थापना गरी पुजा गर्ने व्यवश्था मिलाइएको थियो । यसरी बाग्लुङ कालिका भगवती मन्दिरको स्थापना भएको विश्वास गरिन्छ । मंगलबार, शनिवार र अष्टमीको दिन विशेष पुजा साझ प्रत्येक दिन आरती पुजा हुने, मन्दिर दर्शन गरेमा मनोकामना पुरा हुने, पुत्र नहुनेलाई पुत्र हुने, विश्वास रहेको छ । यसपछि खानाको लागि दाहि्वाल होटलमा गएर खाना खाइयो र १२:१० बजे पञ्चकोट लागि Local Bus मा पञ्चकोट तर्फ लागियो ।
पञ्चकोट (सर्वसिद्धिधाम पञ्चकोट)
बाग्लुङ नगरपालिकाभित्रका ताराजालकोट, राङराङ कोट, माझकोट, कारिकोट संसारकोट मिलाएर पञ्चकोटको नामाकरण गरिएको। यस क्षेत्रमा बाइसे- चौबिसे राजाहरूले देविको पूजा-आराधाना गर्ने इतिहासमा उल्लेखित रहेछ। समुन्द्री सतहदेखि एक हजार एकसय मिटरको उचाइमा अवस्थित पञ्चकोटबाट गुर्जा, अन्नपूर्ण, धौलागिरि, निलगिरीलगायतका दर्जन बढी हिमश्रृखलाहरू अवलोकन गर्न सकिनि राहेछ । यहाँबाट कालीगण्डकी नदीसँगै बाग्लुङ बजारको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँ मानव निर्मित धार्मिक संरचना, सिसमहल, हनुमानको मूर्ति, गरुडशिलाको दर्शन एवम् दर्जन बढि हिमाल अवलोकनले विद्यार्थी भाइबहीनीहरु अत्यन्तै उत्साहित भएका थिए । कोही फोटो खिच्न, कोही भिडियो एवं टिकटक बनाउन व्यस्त थिए । विद्यार्थी भाइबहिनीहरू र हामी शिक्षककालागि पनि नयाँ र अनुपम क्षण रह्यो । सुन्दर यस स्थलबाट मन नहुदा नहुदै पनि हामी त्यहाँबाट फेरि शालिग्राम संग्राहलयको लागि यात्रा सुरू गयौं ।
शालग्राम संग्रहालय
बाग्लुङ नगरपालिका-४, कुंडुले फेदीमा रहेको यस संग्रहालयमा सुरुङ निर्माण गटी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्वेछुटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिक सगै भारतीय पर्यटक आउने गरेका छन् । यो बाग्लुङ बजारदेखी ३ किलोमिटर पशि्चममा पर्छ । मन्दिर, संग्रहालय लगायत संरचना निर्माण गर्दा १० करोड बढी लगानी भएको बताए। भगवान विष्णुको मुर्ति, शिला, शालिग्राम सबै भाझ हामी पुग्न पाउँदा स्वर्ग नै यही हो को जस्तो भान भयो। सारै राम्रो अवधारणाका साथ निर्माण यस संग्राहलय को अवलोकन पनि सुन्दर रह्यो हामी बाग्लुङ बजार फकियौं र बस फेरेर गण्डकी गोल्डेन ब्रिजको लागि यात्रा सुरू गयौं ।
झलुङ्गे पुल (गण्डकी गोल्डेन ब्रिज )
संसारकै लागो झलुङ्गे पुल मध्येको एक भनेर चिनिने यो झलुङ्गे पुल ५६७ मि लामो रहेको छ। यसले कुश्मा नगरपालिका (पर्वत) र बाग्लुङलाई जोडेको छ। यस पुलमा पुगी हिड्दा विद्यार्थीहरु डराइरहेका थिए । समतल ठाउँमा हुर्किएका बालबालिकाल पहाडी भेग, डाँडापाखा, भञ्ज्याङ, झलुङ्गा झै हल्लिने झलुङे पुल यी सबै यीनीहरुकालागी नितान्त नौलो रह्यो। यो पुल अवलोकन पश्चात हामी स्याङ्जा, पुतलीबजार गएर बस्यो।
तेस्रो दिन
( कालिगण्डकी जलविद्युत आयोजना •ड्याम, पाल्पा दरबार संग्राहलय, टुलिखेल र तानसेन नगरपालिका कार्यालय भ्रमण तथा अवलोकन )
तेस्रो दिन बिहान उठेर आफ्नो तयारी गरेर ठिक ६ बजे हामी मिर्मिको लागी हिड्यो । बाटोमा देखिने दृश्य अत्यन्त मनमोहक र सुन्दर थिए । अझ बाटोमा रहेको अम्बाको बुटमा रोकिएर अम्बा टिप्दाको क्षण अझ रमाइलो भयो। मिठो ,स्वादिलो अम्बा , सुन्दर दुष्य रमाइलो भयो ।यस दिन हामिले न्यु कालिगण्डकी होटल एण्ड पाटी प्यालेसमा करिब ९:३० मै खाना खायौ र कालिगण्डकी नदिमा इस्टिमर चढेर ठुलो शालिग्राम सम्म पुग्न पानिको सतह थौरै भएको हुनाले सम्भव भएन ।अब हामि कालिगण्डकी जलबिद्युत ‘ए’ विद्युत आयोजना ड्याम तर्फ लाग्यौ ।
कालिगण्डकी जलविद्युत “ए” विधुत आयाेजना ड्याम नेपालको दोस्रो ठूलो जलबिद्युत आयोजना जसको उत्पादन क्षमता १४४ मेघावाट, वि.स. २०५४ बाट सुरुवात गरि विस, २०५८ मा निर्माण सम्पन्न, कालिगण्डकी नदी र आँधिखोला संगत्रस्थलमा बाँध निर्माण भएको रहेछ । ड्याम भित्रका मेसिनरी, विद्युत्त प्रवाहका प्रकृयालाई नजिकैबाट अवलोकन गराउनका लागि हामी विद्यार्थीलाई लिएर भित्र प्रवेश गर्न निधो गर्यौ । प्रवेश गर्नु अधि आवश्यक कागजातमा हस्ताक्षर गरी घट्न सक्ने दुर्घटनाको पनि जिम्मेदारी लिनु पर्ने रहेछ । ३७ जना विधार्थीको ज्यूँज्यानको जोखिम लिगेर हामी प्रवेश गर्यौ । त्यहाँ रहनु भएको गार्डले दिनुभएको निर्देशन सुन्दा त एकछिन डर पनि लाग्यो । यँहा अपनाउनुपर्ने होसियारीका साथ विद्यार्थीलाई केही कुरा सिकाउ भनि प्रवेश सिडि मार्फत पानीमुनि पुगेर सिडि मार्फत माथि आउँदा शाहसिक काम गरेजस्तो अनुभव गरे विद्यार्थीहरुले ।
यसपश्चता होगी पाल्पा तर्फ लाग्यौं । हामी २ बजे दिउसो पाल्पा पुग्यौ र रानीमहलको यात्रा गयौ । हाम्रो बस अलिक लामो भएकोले रानीमहल पुग्न सकेनौ र फर्केर पाल्पा दरबार तर्फ यात्रा सुरु गर्यौ।
पाल्पा दरबार तथा संग्राहालय:-
प्रवेश टिकट काटेर सबै विद्यार्थी भाइबहिनी र हामी ३ जना शिक्षक यहाँ प्रवेश गन्यौ । यहाँ भित्र संग्रह गरिएका ऐतिहासिक, सांस्कृतिक सामाजिक, धार्मिक महत्वबोकेका सामाग्रीहरुको अवलोकन र अध्ययनले हामी सबै अत्यन्त उत्साहित र प्रफुल्लित भयौ ।
१३ मिनेट को नेपालको इतिहास बोकेको डकुमेन्ट्रीले त झन विधार्थीमा आत्मविश्वास, विर सहिद प्रतिको श्रद्दा र देश प्रेम अझ बढेको महसुस भयो। विधार्थी आफु आफुमा कुरा गर्दै अब त सामाजिकमा नेपालको इतिहास सम्बधि प्रश्न आयो भनि राम्रोसँग लेख्न सक्छौं भनेर भनेको नि सुनियो । यसपछी टुडीखेल तर्फ लागियो । सबै विद्यार्थी लाइनबद्ध भएर हिडेको देख्दा स्थानिय मानिसहरु दङ्ग , परेर हेरिरहेका थिए। टुडिखेल मा धेरै बालबालिका तथा युवाहरु खेलिरहेका थिए । अन्य मानिसहरु हिडिरहेका थिए। यहां रहेको ठूलो करुवाले यसको सुन्दरतालाई अझ बढाएको थियो र सँगै रहेको तानसेन न. पा. को कार्यालय। त्यँहा सबै ठाउँहरुको अवलोकन भ्रमण गरेर हामी करिब ५ बजे बुटवलको लागि यात्रा सुरु गर्यो। बुटवल ७ बजे पुग्यौं। त्यहाँ रहेको होटल न्यु इरामा बस्ने सल्लाह भइसकेकोले त्यहाँ गयौ र हामीसँग अशोक सर पनि भेट हुनु भयो । होटल ,होटल मात्र नभएर एक सुन्दर संग्राहालय पनि रहेछ। सम्पूर्ण विद्यार्थी एकदम खुसी भए यहाँको व्यवस्थापन देखेर ( लिफ्ट, AC room, तातो -चिसो पानी, प्रत्येक कोठामा टि.भि , छुटै छुटै नेट , हल, सरसफाई आदी ) विधार्थीहरू उत्साहित हुदै लिफ्टबाट रूममा पुगे । हामी बेलकाको खाना खाई सकेपछि त्यति राम्रो हल देखेर विधार्थीहरूको नाच्ने रूचि गरेर करिब १०:३० सम्म नाचेर सुत्यौ ।
चौथो दिन
बिहान सबैरै ६ बजे हामी लुम्बिनिको लागि प्रश्थान गयौं। हामी सगै अशोक सर पनि यात्रामा निस्किनु भयो ठिक ७ बजे लुम्बिनि पुगियो । त्यहा न्यु थकाली भान्छाघरमा नास्ता खाएर मन्दिर क्षेत्र तर्फ लाग्यौं । बिचबिचमा फोटोहरु लिदै विभिन्न देशले बनाएको मन्दिर अवलोकन गर्दै करिब ९ बजे अशोक सर हामीसँग बिदा भएर जानु भयो ।
हामी मायादेवि मन्दिर प्रवेश गयौ । यस क्षेत्रमा पुगेसी देशमा सु-शान्ति छाओस् भनेर सबैले प्रार्थना गर्यो । लुम्बिनि क्षेत्रका ऐतिहासिक तथा पुरातात्वविक वस्तुहरुको स्थलगत भ्रमण भयो । माया देवि मन्दिरमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको र हिडेको ७ पाइलाहरु अवलोकन गर्यौं। अशोक स्तम्भ, शान्तिदिप पनि अवलोकन गर्यो । विद्यार्थी भाइबहिनिहरु स्टीमरमा चढ्दा सौर खुसि भए । यस पश्चात ठिक १२:३० मा खाना खानको लागी होटल गयौं। त्यहाँको सेवा ले सबै दङ परे। खाना पछि १:४५ मा हामी निस्केउ । २: बजे अन्तर्राविट्रय विमान स्थल पुगेर त्यहाको प्रवेश प्रकृया तर्फ लाग्यो । आवश्यक अनुमती लिएर विमानस्थल भित्र गइयो। संयोगले हामी अवलोकन गर्न जाँदा हवाइजहाज उडान र अवतरणको दृश्य देख्न पाइयो । Zazeera, Quatar, Dubai र नेपालको उडाहा र अवतरण हेर्ने अवसर जुट्यो । यसपछि हामी सुनौली गराइयो। नाकामा विद्यार्थीहरुलाई लगी अवलोकन र ठिक ४:३० बजे कावासोति तिर लागियो । अत्यन्त रमाईरहेका विद्यार्थीहरू नाच्ने र गाउने गरिरहेका थिए। कावासोती बजार आइपुग्दा साँझको ८ बजेको थियो । अब भने क्रमशः विद्यार्थीहरुलाई घर-घरमा छोड़ने समय भएको थियो। सबैलाई धन्यवाद दिदै भोलिपल्ट कक्षामा भेट्ने बाचा गर्दै क्रमश सबैलाई छोडेर हामी ९ बजे घर पुगियो।
भ्रमणका सबल पक्षः
→ विद्यार्थी अनुशासित र मर्यादीत रहेको,
→ भ्रमणमा सहभागी शिक्षक र विद्यार्थी बिच सम्बन्ध राम्रो भएको,
→ भ्रमणको क्रममा शिक्षक र विद्यार्थी बिरामी नहुनु,
→ कतिपय स्थानहरूमा सम्बन्धित क्षेत्रका मानिसहरू मार्फत जानकारी लिने मौका पाउनु,
→ शिक्षक, विद्यार्थी र गाडी स्टाफ बिच राम्रो ” समन्वय हुनु,
→ विद्यार्थी सक्रिय रहनु
→ मनोरञ्जनका कार्यक्रमहरु धेरै हुनु,
→ भ्रमणको दैनिक समिक्षा गरी भोलिको योजना, साँझ बनाउनु,
→ निर्दिष्ट गरिएका धेरै उद्देश्य पुरा हुनु
भ्रमणका दुर्बल पक्षः
→भ्रमणको बारे पूर्व तयारीलाई समय कम हुनु,
→लक्षित सम्पूर्ण विद्यार्थीहरुलाई भ्रमणमा सहभागि बनाउन नसक्नु,
→ दैनिक रुपमा भ्रमण गतिविधिबाट अर्जित ज्ञान तथा अनुभवको छलफल र विश्लेषन हुन नसक्नु,
भ्रमण निष्कर्ष तथा सुझाव
शैक्षिक भ्रमण तथा अवलोकन कार्यक्रम विद्यालयको कार्ययोजनामा रहेतापनि दशैं विदापछि तत्काल योजना र तयारी गरी भ्रमण तथा अवलोकन कार्यक्रम सम्पन्न गर्दा अझ प्रभावकारी रहने छ। भ्रमण तथा अवलोकन कार्यक्रममा राखिएको उद्देश्यहरु संग रहेर हाम्रो ज्ञानको दायरा बढाउन उपलब्धिमूलक गएको छ। भ्रमणको क्रममा आर्थिक व्यवस्थापन चुस्त दुरुस्त भएको छ । अन्त्यमा भ्रमण सफल गराउन सहयोग गर्नुहुने वि.व्य समिति, विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, सम्पूर्ण शिक्षक एवं विद्यार्थि प्रति हार्दिक आभार व्यक्त गर्दछु । प्रतिवेदन लेखनलाई सहयोग गर्नुहुने शिक्षक तिलक भुसाल सरलाई विशेष धन्यवाद।
लेखक – सीता ढकाल/ शिक्षक -शान्ति निकुञ्ज माध्यमिक विद्यालय, कावासोती – १२, नवलपुर।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
| संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
| सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
| ब्यबस्थापक: | ...... |
| सहायक सम्पादक: | ....... |
| ग्राफिक डिजाईनर: | ..... |
| कानूनी सल्लाहकार: | ....... |
| बजार ब्यबस्थापक: | ...... |
| प्रेस प्रतिनिधि: | तारा पौडेल |