२०८० आश्विन १४, आईतबार
पृष्ठभूमि
कोरोना भनेर चिनिने निकै परिचित, अहिलेको संसारको मुख्य समस्याको रुपमा रहेको र विश्वका प्रायः सबै देशहरुमा आजसम्मका दिनमा समेत तीब्रतर ढंगले फैलिइ विध्वंस मच्चाइरहेको एक किसिमको भाईरसजन्य रोगलाई विश्व स्वास्थ्य संगठनले कोभिड–१९ भनी नामाकरण गरेको छ । विश्वव्यापी महामारी भएको यस अवस्थामा यो रोगको बारेमा हामी सबैमा सही ज्ञान हुनु आवश्यक छ । यो आलेख तयार गर्दाका दिनसम्म विश्वका २२२ देशमा यो रोग फैलिइसकेको, १४ करोड ९३ लाख ८८ हजार ४५० जना संक्रमित भएका, ३१ लाख ५० हजार ७८६ जनाको मृत्यु भएको र १२ करोड ७० लाख ६८ हजार ३४२ जना निको भएका छन् । आजसम्म सबैभन्दा बढी अमेरिकामा संक्रमित र मृत्यु भएका छन्, त्यसपछि भारत र तेस्रो नम्बरमा ब्राजिल रहेको छ । नेपालमा ३ लाख ७ हजार ९२५ संक्रमित, ३ हजार १९४ को मृत्यु र २ लाख ७८ हजार ५०६ निको भएका छन् । अहिले त कोरोनाका भाइरसले रुपरंग परिवर्तन गरी नयाँ अस्तित्वमा देखापरेका छन् र यी भाइरसको संक्रमण भएमा फरक खालका लक्षणहरु देखिएका छन् । भाइरसले यसरी म्युटेण्ट् गरी प्रसारको क्रम तीब्र बनाउँदै लगेर संसारलाई चुनौति समेत दिइरहेको देखिन्छ । नेपाल लगायत संसारका धेरै देशमा यो महामारीको दोस्रो लहर फैलिइरहेको छ । यस्तो चुनौतिपूर्ण रोगलाई लापरवाही नगरी व्यापक जनसहभागिताबाट मात्र नियन्त्रण गर्न सकिने कुरा विश्व स्वास्थ्य संगठनले समेत भनिरहेको छ । वास्तवमा यो रोगका सम्बन्धमा हालसालै आएका विभिन्न चर्चा र परिचर्चाहरुले यो रोग सम्बन्धी सही सन्देश सबैमा पु¥याउनु उचित कर्तव्य पनि भएकोले यो आलेख तयार गरिएको हो ।
कोरोना (कोभिड– १९) के हो ?
कोभिड– १९ (कोरोना) अरु रुघाखोकी जस्तै एक किसिमको रुघाखोकी, फ्लु वा इन्फ्लुएन्जा नै हो । सर्वप्रथम चिनको वुहान राज्यमा २७ डिसेम्बर २०१९ (२०७६ पौष १४) मा देखापरेको कोरोना भाइरसको समूहभित्र पर्ने एक नयाँ भाइरस (कोभिड– १९) ले विश्वव्यापी महामारीको रुप लिएको छ । जुन एउटा असाध्य संक्रामक रोग हो, यसले श्वास प्रश्वास प्रणाली र त्यससँग सम्बन्धित विभिन्न अंगहरुलाई असर पार्ने गर्दछ । कहिलेकाहीं पाचन प्रणालीलाई पनि असर पार्दछ भने शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई समेत असर पार्दछ, मृगौलामा क्षति पु¥याउँछ र मृत्यु गराउँछ । यो भाइरसले प्रसारण हुने क्रममा आफ्ना विशेषताहरुलाई परिवर्तन गर्दै लैजाने र नयाँ भेरिएन्ट् घातक भाइरसको रुपमा वृद्धि विकास भएको पाईन्छ । हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले यो नयाँ भाइरसलाई पहिचान गर्न नसक्दा रोग विरुद्ध लड्ने क्षमतामा कमी आउने भएकोले यो भाइरसले मानिसलाई मृत्युको मुखमा पु¥याउने गरेको हो ।
कोभिड– १९ सर्ने तरिका
हाल कोरोनाको दोस्रो लहर महामारीको रुपमा फैलिइरहेको र भाइरस नयाँ भेरियन्ट्मा देखापरेकोले यो रोग अझ बढी संक्रामक भएको पुष्टि भएको छ । श्वास प्रश्वास प्रक्रियाद्धारा फैलिने यो रोग संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा र श्वास फेर्दा निस्कने थुकका साना ठूला छिटा वा कणहरुसँगै यो रोगका भाइरस पनि निस्कन्छन् र अरु व्यक्तिले श्वास फेर्दा उनीहरुको श्वास प्रश्वास प्रणाली मार्फत शरीरमा प्रवेश गर्छन् । यति मात्र होइन कि यस्तो रोगबाट संक्रमित व्यक्तिले अरु व्यक्ति तथा अन्य कुनैपनि वस्तुलाई हातले छोएपछि साबुन पानीले हात नधोई सोही हातले आँखा, नाक, मुख छुँदा पनि त्यो भाइरस हाम्रो शरीरभित्र प्रवेश गर्दछ । त्यस्तै, हात मिलाउँदा, अंकमाल गर्दा, सँगै बसउठ गर्दा, सँगै सुत्दा, जुठो खाँदा, एउटै रुमाल वा लत्ताकपडा प्रयोग गर्दा पनि सर्न सक्छ । यसरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सर्ने यो रोग अन्य रोगको तुलनामा धेरै छिटो सर्ने प्रकृतिको हुन्छ ।
कोभिड– १९ हुँदा देखापर्ने लक्षण तथा चिन्हहरु
यो रोग लाग्दा शुरुको लहरमा ज्वरोका साथमा रुघाखोकीकै जस्ता लक्षण र चिन्हहरु देखापर्ने गरेका थिए । जस्तैः ज्वरो आउने (१००.४ डिग्री फरेन्हाइट वा सो भन्दा बढी), टाउको दुख्ने, सुक्खा खोकी लाग्ने, नाक बग्ने वा नाक बन्द हुने, घाँटी दुख्ने, हाछ्युँ आउने, आँखा रातो हुृने, शरीर दुख्ने, आँसु आउने, मांसपेशी दुख्ने, शरीरका जोर्नी दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, वाक वाक लाग्ने, बान्ता आउने, स्याँ स्याँ हुने, सास फेर्न निकै कठिन हुने, कडा निमोनियाका लक्षणहरु देखापर्ने र मृत्यु हुनसक्ने आदि ।
तर यसपटक दोस्रो लहरमा फैलिइरहेको म्युटेण्ट् भाइरसको संक्रमण भएमा घाँटी दुख्ने, जाडो सहितको ज्वरो आउने, थकाई लाग्ने, वाकवाकी र बान्ता हुने, ¥याल उत्पादन नहुने, शरीरका मांसपेशी र जोर्नी दुख्ने, चक्कर लाग्ने जस्ता आदि लक्षणहरु बढी मात्रामा देखिइरहेका छन् ।
कोभिड– १९ बाट बढी प्रभावित हुनसक्ने व्यक्तिहरु
यस रोगमा रुघाखोकी लाग्दा जस्तै लक्षणहरु देखिएतापनि यो रोगका भाइरसले शरीरको रोग विरुद्ध लड्ने क्षमतामा कमी ल्याउने र सामान्य लक्षणहरु जटिल बन्दै जाने अवस्थाको सृजना गराउँछन् । मुख्यतया अलि कडा खालको समस्या निम्तन सक्ने वा सबैभन्दा बढी प्रभावित हुने व्यक्तिहरु ५ वर्षमुनिका बच्चा (यद्यपि हालसम्म बच्चाहरु तुलनात्मक रुपले त्यति प्रभावित भएको पाईंदैन), ६५ वर्षभन्दा माथिका व्यक्ति, गर्भवती, मधुमेहका रोगी, क्षयरोग, दम, निमोनिया वा अन्य श्वास प्रश्वास सम्बन्धी रोग भएका व्यक्ति, मुटु, कलेजो, मृगौला कमजोर भएका व्यक्ति आदिमा कहिलेकाहीं यो रोग जटिलतातर्फ गई व्यक्तिको मृत्यु समेत हुन सक्छ ।
कोभिड– १९ रोगको रोकथाम र नियन्त्रणका उपायहरु
यो रोगबाट बच्न एकदेखि अर्को व्यक्तिको सम्पर्कमा नजाने, कसैले कसैलाई नछुने र अनिवार्य रुपमा गुणस्तरीय मास्कको प्रयोग सावधानीपूर्वक गर्नु पहिलो उपाय हो । जो कोही व्यक्ति पनि कोभिड १९ बाट संक्रमित हुनसक्ने भएकोले आमने सामने नपर्ने, नछुने वा कसैको घरमा नजाने उपाय नै रोगबाट बच्ने सबैभन्दा राम्रो उपाय हो । यसका साथै जथाभावी हिंडडुल नगर्नु, सामाजिक तथा भौतिक दुरी कायम गर्नु र पटक पटक साबुन पानीले मिचिमिचि हात धुनु नै यसको अर्को राम्रो रोकथाम र नियन्त्रणको विधि हो । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राखेर होसियारीकासाथ एकजनाले मात्र आवश्यकता अनुसार बिरामीको हेरचाहमा खटिनुपर्छ वा अस्पतालको आईसोलेसनमा राख्न सकिन्छ ।
कोभिड– १९ को कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने । स्कूल, कलेजहरु, बढी भिडभाड हुने सरकारी कार्यालयहरु, बैंक तथा वित्तिय संस्था, स्वास्थ्य संस्था, हाटबजार, अन्य बजार, फिल्म हल, सैलुन, योगकेन्द्र, मठमन्दिर आदि पूर्णरुपमा बन्द गर्ने । सार्वजनिक बस सेवा नचलाउने, विभिन्न खालका मिटिङ्ग, गोष्ठी नगर्ने र लकडाउन गर्ने वा निषेधाज्ञा (कफ्र्यु) जारी गरी सर्वसाधारणलाई घरबाट निस्कन नदिएर घरभित्रै बस्न आग्रह गर्ने, रोग देखापरेको स्थानमा सिल गर्ने वा परिस्थिति मूल्यांकन गरी आवश्यक ठाउँमा मात्र कडा लकडाउन समेत गर्न सकिन्छ, नियम उल्लंघन गर्नेलाई कारबाही गरेर पनि रोगको संक्रमण फैलनबाट बचाउन सकिन्छ । यसैगरी यो रोग समयमै पत्ता लगाई संक्रमण फैलन नदिन रगत (एन्टीजीन परीक्षण) तथा घाँटीको श्रावको परीक्षण (पि.सी.आर.) समेत गर्नुपर्छ ।
जे होस् यो रोग रोकथाम र नियन्त्रणको लागि व्यक्तिगत सम्पर्कमा नजाने वा एक देखि अर्को व्यक्तिबिच कमसेकम २ मीटरको दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने, पटक पटक साबुनपानी वा स्यानिटाइजरले हात धुने जस्ता आदि उपायहरु अबलम्बन गर्न सकिन्छ ।
कोभिड– १९ को उपचारका विधिहरु
वास्तवमा यो रोग लागेपछि हाम्रो शरीरले रोग विरुद्ध लड्ने क्षमता विकास गर्दै जान्छ, भाइरसलाई परास्त गर्दछ र रोग आफैं निको भएर पनि जान्छ । तैपनि बिरामीको अवस्था हेरेर यदि कडा खालको लक्षण देखिएमा अस्पतालमै भर्ना गरेर विशेष उपचार गरी राख्नुपर्ने अवस्था पनि आउन सक्छ । अन्यथा यो रोग लाग्दैमा तर्सिनु पर्दैन, बरु लक्षणअनुरुपको औषधी खाने जस्तै ः ज्वरो आउने र टाउको दुख्ने भएमा सिटामोल खाने, सन्तुलित आहार लिने, घरायसी उपचार गर्ने, उचित स्याहार सुसार गर्ने, योग अभ्यास र प्राणयाम गर्ने आदि ।
घरायसी उपचार र व्यवस्थापन अन्तर्गत बिरामीलाई अलग्गै कोठामा राखी उचित रेखदेख गर्ने, घरमै आराम गरेर बस्ने, प्रशस्त झोलिलो र पौष्टिक खानेकुराहरु खुवाउने, मनतातो नुनपानीले मुख कुल्ला गर्ने, स्तनपान गर्ने बच्चा हो भने थप स्तनपान गराउने, बिरामी तथा उसलाई रेखदेख गर्नेले समेत मास्क वा व्यक्तिगत सुरक्षाका सामग्री (पि.पि.ई.) लगाउने र कडा खालका लक्षणहरु देखिएमा मात्र सुविधासम्पन्न अस्पतालमा लैजाने आदि उपायहरु अपनाई यो रोगको उपचार गर्न सकिन्छ ।
अन्तमा,
अहिलेको सन्त्रासपूर्ण रोगको कारक तत्व कोरोना भाइरस (कोभिड– १९) लाई सामान्य मान्नु हुँदैन । यो भाइरसको संक्रमण र फैलावट अझै केही समय रहने देखिन्छ । अहिले नेपाल लगायत विश्वका धेरै देशमा कोरोनाको दोस्रो लहर फैलिन थालेको छ । यो लहरले पनि धेरैलाई संक्रमण गराउने र मृत्यु समेत गराउन सक्ने सम्भावना देखिन्छ । यो रोग यसपटक अझ बढी संक्रामक भएर देखापरेको छ भने यसले युवा तथा बालबालिकालाई पनि असर गरेको देखिन्छ । रोगबाट जोगिन सुरक्षाका विभिन्न माथि उल्लेखित विधिहरु अपनाउनुपर्ने हुन्छ, खोप लगाउन लक्षित गरिएका व्यक्तिहरुले खोप लगाइ सुरक्षित रहन सकिन्छ, एकपटक खोप लगाएकाले दोस्रो डोज समेत तोकिएको समयमा लिनुपर्छ र राज्यले निर्धारण गरेका सुरक्षा मापदण्डका उपायहरु अपनाउनु पर्छ । एकपटक कोरोना संक्रमण भएका वा खोप लगाइसकेका व्यक्तिमा पनि कोरोनाको संक्रमण पुन ः देखिएको अवस्था पनि छ किनकि यो खोपको प्रभावकारिता पहिला देखिएको भाईरसका लागि जम्मा ६५ देखि ७० प्रतिशत मात्र रहेको छ । तर उक्त खोपले यसपटक फैलिइरहेको दोस्रो लहरको म्युटेण्ट् भाईरसका विरुद्ध काम गर्दैन वा त्यति बढी प्रभावकारी हुँदैन । कोरोनाका यस्ता खतरनाक अवस्थामा आफैं लकडाउन हुने र सबै सचेत हुनु बाहेक यो रोगबाट बच्ने अरु उपाय छैन ।
(लेखक सेवानिवृत्त जनस्वास्थ्य निरीक्षक तथा मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक पनि हुन्)
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |