२०८१ श्रावण १२, शनिबार
नवलपुर । गण्डकी प्रदेशले पारित गरेको अपांगता सम्बन्धी नीतिलाई कानून निर्माण गर्नका लागि अपांगता भएका व्यक्तिहरूबाट राय सुझाव संकलन गर्ने उद्देश्यले नवलपरासी पूर्व ( नवलपुरको ) कावासोतीमा आज छलफल तथा क्षमता विकास कार्यक्रम गरिएको छ ।
स्वावलम्बन जीवनपद्धति केन्द्र पोखराको आयोजनामा कार्यक्रम भएको हो । गण्डकी प्रदेशले पारित गरेको अपांगता सम्बन्धी नीतिलाई अपांगता भएकाहरूको सम्पूर्ण समस्याको सम्बोधन गर्दै उनीहरूको हक अधिकार सुनिश्चित गर्ने खालको कानून निर्माणमा सहयोग पुर्याउन कार्यक्रम आयोजना गरिएको हो ।
प्रादेशिक ऐन तर्जुमा प्रक्रियामा स्थानीय अपांगता भएका ब्यक्तिका संस्थाका क्षमता विकास अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर सुझाव संकलन गरिएको हो ।
कार्यक्रमका जिल्लाका आठ वटै पालिकाबाट सहभागि भएका अपांगता भएका व्यक्तिहरूको समूहगत छलफल गरि समस्या पहिचान गर्दै सुझावहरू पेश गरिएको छ । शिक्षा , स्वास्थ्य , सञ्चार र सूचना प्रविधि , सहायक सामाग्री , रोजगार र स्वरोजगार गरि पाँच वटा शीर्षकमा समूहगत छलफल भएको थियो । जसमा शिक्षामा अपांगता भएका व्यक्तिका छोराछोरीलाई उच्च भिक्षासम्म छात्रवृत्ति सहित निशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने , अपांगतामैत्री भौतिक पूर्वाधार अनिवार्य गरिनुपर्ने , दोभाषेको व्यवस्था हुनुपर्ने , सूचना प्रविधिमैत्री शिक्षाको लागि अपांगता भएको व्यक्तिहरूको पहुँचको लागि पहिचान सहित आवश्यक शिक्षा सिकाइ सामाग्री निशुल्क उपलब्ध गराइनुपर्ने , अपांगता भएकाहरूलाई पहिचान सहितको आवासीय विद्यालयको व्यवस्था हुनुपर्ने लगायतका सुझाव पेश गरिएको छ । भने , स्वास्थ्य तर्फ सबै प्रकृतिका अपांगता भएकाहरूका लागि निशुल्क स्वास्थ्य शिक्षा , जटिल किसिमका अपांगता भएकाहरूका लागि घरमै स्वास्थ्यकर्मी खटाई उपचार सुविधा , निशुल्क स्वास्थ्य बिमा , गम्भिर प्रकृतिका रोग लागेका अपांगता भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नुपर्ने लगायतका सुझाव पेस गरिएको छ ।
यसैगरी सहायक सामाग्रीहरू स्थानीय तहमै सहज र पूर्ण रुपमा निशुल्क हुनुपर्ने , सहायक सामाग्री वितरण गर्दा गम्भीरता हेरि घरमै वितरण गरिनुपर्ने लगायत रहेका छन् । यसैगरी सञ्चार तथा सूचना प्रविधितर्फ प्रभावकारी र विश्वसनीय समाचारको अभाव , दोभाषेको पर्याप्त सुविधा तथा पहुँचमा अभाव , सूचनाको सही प्रक्षेपणको अभावका कारण अवसरबाट वञ्चित हुनुपरेको , बहिराहरूलाई नविन प्रविधिमा पहुँच एवम् सहज उपलब्धता नहुनु जस्ता समस्याहरू पहिचान गरिएको छ भने , रोजगार स्वरोजगारतर्फ अपांगता भएकाहरूका लागि क्षमता अनुसारको रोजगारको व्यवस्था हुनुपर्ने , सीपमुलक तालिमको व्यवस्था हुनुपर्ने , रोजगारको क्षेत्रमा विभेद गर्न नपाइने व्यवस्था हुनुपर्ने , सिम प्रदान गरिएकाहरूलाई व्यवसाय सञ्चालन गर्न अनुदान प्रदान गर्नुपर्ने स्थानीय तह मार्फत स्वरोजगार प्राप्त अपांगता भएका व्यक्तिहरूको डाटा संकलन तथा डिजिटल प्रोफाइल बनाई आवश्यक सहयोग र अनुगमन हुनुपर्ने लगायतका सुझाव पेश गरिएको अपांगता अभियानकर्ता सागर लुइटेलले जानकारी दिनुभयो ।
कार्यक्रम व्यवस्थापक दिनेश अधिकारी र प्राविधिक अधिकृत टेक बहादुर बडुवालले सहजीकरण गर्नुभएको थियो । सो अवसरमा प्रदेशले पारित गरेको नीतिका बारेमा सहभागीलाई बुँदागत रुपमा जानकारी गराइएको थियो । छलफलबाट आएका सुझावलाई कानूनमा समावेश गर्न मस्यौदा निर्माण समितिमा पेश गरिने कार्यक्रम व्यवस्थापक दिनेश अधिकारीले जानकारी दिनुभयो । संस्थाले प्रदेशका ११ वटा जिल्लामध्ये मनाङ बाहेक सबै जिल्लामा कार्यक्रम सम्पन्न गरेको उहाँले बताउनुभयो । नवलपुरमा अन्तिम कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न प्रकारका अपांगता भएका ४० जनाको सहभागिता रहको कार्यक्रम अधिकृत सागर थापाले जानकारी दिनुभयो ।
मुलुकमै पहिलो पटक गण्डकी प्रदेशमा २०७९ भदौ २८ गते तत्कालीन शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले अपांगता सम्बन्धी प्रादेशिक नीति पारित गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |