२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपुरको देवचुली नगरपालिका –५ बन्दिपुरका स्थानीय बिर्ख बहादुर डिस्वालाई आँगन अघिनै कालोपत्र सडक निर्माण हुँदा खुसी लागेको छ । पूर्व पश्चिम राजमार्गको दलदलेबाट जम्मा ११ किलोमिटरको दूरीमा रहेको गाउमाँ सडक निर्माण नहुँदा विकट थियो । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक योजनाबाट गाउँमा कालोपत्र बाटो पुग्दा खुसी लागेको उहाँले बताउनुभयो । ‘केही वर्ष अघि सम्म बजारबाट निकट भएर पनि बाटो नपुग्दा विकट थियो, तीन चार घण्टा लाएर डोकोमा बिरामी बोकेर हिँड्नुपर्ने अवस्था थियो । अहिले आँगन छेउमा कालोपत्र सडक बनेको छ, फोन गर्ने बित्तिकै एम्बुलेन्स आँगनमै आउँछ ’ डिस्वाले भन्नुभयो ।
मौलाथुम्कीका गिरीप्रसाद बरालले बाटो नहुँदा भुँइकटहर देखि यहाँ उत्पादन भएका कृषि उपज बजारसम्म पुर्याउन नपाएको सम्झनुहुन्छ । ‘बर्खामा बाटो नहुँदा पाखाबारी भरि भुइँकटर कुहिने गर्दथ्यो , अबत यसले पनि बजार पाउने भयो ’ बरालले भन्नुभयो । यस बाहेक यहाँ उत्पादन हुने कृषि उपजले बजार पाउनेमा उहाँले विश्वास व्यक्ति गर्नुभयो । सडक निर्माण पूर्व किर्तिपुर देखि बन्दिपुरसम्म सडकको ट्रयाक समेत खोलिएको थिएन । करिब दुईसय मिटर क्षेत्रमा नयाँ ट्रयाक खोली दुई गाउँलाई जोडिएको हो ।
जिल्लाको अग्लो डाँडा देवचुली र बरचुलीको काखमा पर्ने किर्तिपुर ,बन्दिपुर, मौलाथुम्की सहितका छ गाउँका बासिन्दालाई प्रदेश सरकारको लगानीमा निर्माण भएको बाटोले सुविधा थपेको छ ।
गाउँमा कालोपत्र सडक निर्माणसँगै अन्य विकासका सम्भावनाहरू बढेको देवचुली वडा नम्बर –६, का वडा अध्यक्ष मीन बहादुर सोतीले बताउनुभयो । सुविधा नभएर गाउँ छाडी बजार झर्नेहरु को संख्या समेत रोक्ने उहाँले बताउनुभयो । ‘पहिले बाटो नभएकै कारण विकट थियो, कति गाउँलेहरू सुविधा खोज्दै बजार झरे ,अब एकै छिनमा बजार पुगिन्छ, सबै सुविधाहरू क्रमश गाउँमा आएको छ, बसाइसराइ समेत कम हुन्छ भन्ने विश्वास छ’ वडा अध्यक्ष सोतीले भन्नुभयो । सडकको सुविधा भएसँगै अब गाउँमै आयआर्जनलाई जोड्ने क्रियाकलाप गर्ने योजना रहेको उहाँले बताउनुभयो । गाउँको शिरमा सबैभन्दा अग्लो डाँडा देवचुली पर्ने हुँदा पर्यटकीय सम्भावना समेत रहेकोले त्यसैलाई लक्षित गरि योजनाहरू बनाउँदै जाने उहाँले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको योजना अनुसार आफ्नो पहिलो कार्यकालमा एक निर्वाचन क्षेत्र एक सडक अन्तरगत देवचुलीको मुण्डेदेखि मौलाथुम्की सम्म १० किलोमिटर सडक कालोपत्र गर्ने कार्य अघि बढाइएको गण्डकी प्रदेशसभा सदस्य रोशन बहादुर गाहाले बताउनुभयो । यस योजनाले देवचुली –५, र ६ नम्बर वडाका आधादर्जन गाउँलाई सुविधा भएको उहाँले बताउनुभयो । कालोपत्र सडकसँगै खानेपानीका योजनाहरू सम्पन्न भएको र सिँचाइका योजना समेत अघि बढ्दै गरेकाले गाउँमा सुविधा सहित आयआर्जनका क्रियाकलाप बढ्ने हुँदा गाउँहरू रित्तिने क्रम रोकिनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । यस खण्डमा थप तीनवटा पुल निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले त्यसका लागि समेत पहल भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले उत्त सडक अनुगमनका क्रममा यो योजना किर्तिपुर र बन्दिपुर क्षेत्रका बासिन्दाको जीवन परिवर्तनको आधारका रुपमा रहेको बताउनुभयो । बाटो नहुँदा विकासका सबैकुराबाट पछि परेकोमा अब अन्य विकासका ढोकाहरु खोल्न समेत यसले सहयोग पुग्ने उहाँले बताउनुभयो । जनताको समस्या समाधानका लागि राम्रो योजना छनौट गरि सम्पन्न गरेकोमा प्रदेश सभा सदस्य रोशन बहादुर गाहालाई धन्यवाद समेत दिनुभयो ।
विसं २०७६ मा रु. २८ करोड २३ लाखको लागतमा रायमाझी कन्स्ट्रक्सनले सडक निर्माणको ठेक्का पारी काम अघि बढाएको थियो । विस २०८१ असार मसान्त सम्म ठेक्काको म्याद रहेको यस योजनाको लगभग सबै काम सकिन लागेको पूर्वाधार विकास कार्यालय नवलपुरका निमित्त प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |