२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको नमूना सदरमुकाम निर्माणको प्रक्रिया अघि बढेको छ । शिलान्यासको पाँच वर्षपछि जिल्लाको महत्वपूर्ण आयोजनका रुपमा हेरिएको नमूना सदरमुकाम निर्माणको काम अघि बढेको हो ।
जिल्लामा रहने संघ तथा प्रदेश मातहतका सरकारी कार्यालयहरू एकै स्थानमा बनाउने गरि कावासोती नगरपालिका वडा नम्बर –३,मा रहेको एक सय ८७ विघा जग्गामा नमूना सदरमुकाम निर्माणको काम थालनी गरिएको थियो । विसं. २०७६ वैशाख ७ नमूना सदरमुकाम निर्माणको योजना अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । संघीयता पछि तत्कालीन नवलपरासीबाट अलग भएको नवलपुरको नयाँ ,व्यवस्थित र आधुनिक शैलीको सदरमुकाम निर्माण गर्ने योजना अनुसार यसलाई नमूना सदरमुकाम नामाकरण गरि काम थालिएको थियो । शिलान्यासको पाँच वर्ष पछि मात्र निर्माणको जिम्मा पाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले भवन निर्माणको प्रक्रिया शुरु गरेको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनले २०८० चैत २५ गते भवन निर्माणको ठेक्का खुलाएको छ । एक महिनाको समय राखेर भवन निर्माणका लागि ठेक्का आवहान गरेको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका कार्यालय प्रमुख झपट बहादुर थापाले बताउनुभयो । नवलपुरको नमूना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा रु. ५० करोडको काम गर्न लागिएको उहाँले बताउनुभयो । रु. ५० करोड बजेट सुनिश्चित भएसँगै पहिलो चरणमा तीन वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि पाँच वटा कार्यालयका लागि भवन निर्माणको काम अघि बढेको कार्यालय प्रमुख थापाले बताउनुभयो । पहिलो चरणमा बन्ने भवन मध्य जिल्ला प्रशासन कार्यालयको अलग भवन बन्ने छ । बाँकी सेवाको एकरूपता हुने खालका कार्यालय रहने गरि दुई भवनमा चारवटा खण्ड हुने छन् । जसमा चारवटा कार्यालय रहनेछन् । ‘काम अघि बढ्न सकेको थिएन, पहिलो चरणमा केही कार्यालय रहने गरि भवन निर्माणको प्रक्रिया अघि बढेको छ, तीन आर्थिक वर्षमा पहिलो चरणको काम सक्ने लक्ष्य छ’ कार्यालय प्रमुख थापाले भन्नुभयो ।
नमूना सदरमुकाम निर्माण स्थलमा अन्य सरकारी कार्यालयको भवन निर्माण गर्न , बाटो निर्माण, सदरमुकाम निर्माण स्थलको उत्तरी क्षेत्रमा रहेको केरुङ्गे खोलाको बाढी नियन्त्रणका लागि लगायतका कार्य गर्न थप बजेट माग गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । थप बजेट सुनिश्चित भएपछि निर्माणको दोस्रो चरणको काम अघि बढ्ने उहाँले बताउनुभयो । दोस्रो चरणमा भवन निर्माणको लागि रु. पाँच अर्ब र बाटो लगायतका अन्य कार्यका लागि रु. २ अर्ब पचास करोड सरकारसँग माग गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।
नमूना सदरमुकाम निर्माण स्थलमा यसअघि करिब रु. १० करोडको लागतमा कच्ची बाटो निर्माणको काम गरिएको छ । त्यस बाहेक अन्य कुनै काम अघि नबढेको अवस्थामा पहिलो चरणमा भवन निर्माणको प्रक्रिया सुरु हुनु जिल्लावासीका लागि खुसीको कुरा भएको जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो । ‘सरकारी कार्यालयहरू अहिले यत्रतत्र छरिएर रहेका छन्, त्यसमाथि भाडाको घरमा सञ्चालन हुँदा , साँघुरो छन्, सेवाग्राही मैत्री छैनन्, नमूना सदरमुकाममा भवन निर्माणको काम सुरु हुने सबैका लागि खुसीको कुरा हो’ प्रमुख विश्वकर्माले भन्नुभयो । अब पहिलो चरणको काममा कुनै बिलम्ब नगरी सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने र अन्य कार्यालयका लागि समेत थप बजेट सुनिश्चित गरि काम अघि बढाउन आवश्यक रहेको उहाँको भनाई छ ।
नमूना सदरमुकाम निर्माण स्थलमा संघ ,प्रदेश कार्यालयहरू , पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङ्गशाला , सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्क लगायतका संरचनाहरू समेत निर्माण गर्ने योजना रहेको छ । प्रारम्भिक योजना अनुसार नमूना सदरमुकाम निर्माणका लागि करिब रु. १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |