२०८१ श्रावण १२, शनिबार
नवलपुर । वनबाट गोल ( कोइला ) सहज रुपमा उपलब्ध हुन नसक्दा आरन व्यवसायीको पेशा नै सङ्कटमा परेको परम्परागत आरन व्यवसायीले गुनासो गरेका छन् ।
बुलिङटारका परम्परागत आरन व्यवसायी खुम बहादुर विश्वकर्माले पछिल्लो समय वनबाट गोल पाउनै छाड्दा आफूहरूको पेशा नै सङ्कटमा पर्न थालेको गुनासो गर्नुभयो । ‘आरन व्यवसायबाट जनतन घरव्यवहार चलाउँदै आएका छौँ । हिजोआज गोल पाउनै मुस्किल छ । गोल नभएपछि काम नै बन्द हुन्छ । काम नहुदा आम्दानी हुँदैन ।’ व्यवसायी खुम बहादुरले भन्नुभयो ।
देवचुलीका आरन व्यवसायी शंकर बिकको पनि गुनासो उस्तै छ । वनबाट गोल सहज रुपमा पाउन नसक्दा काम नै रोकिएको उहाँ बताउनुहुन्छ । बाउबाजेले गरेको पेसालाई आफूले निरन्तरता दिए पनि कोइलाको अभाव हुँदा पुर्खौली कामलाई निरन्तरता दिन कठिन भइरहेको उहाँले बताउनुभयो । अहिले कोइला किनेर दुःख सुखले पुर्ख्यौली व्यवसाय धानिरहेका भएपनि कोइला किन्न पनि नपाइने अवस्था रहेको उहाँले बताउनुभयो । गाउँघरमा समेत ग्यासको प्रयोग बढ्दो हुँदा कोइला बनाउन धेरैले छाडेको उहाँको भनाइ छ ।
परम्परागत आरन व्यवसायी संघ नवलपुरका अध्यक्ष गणेश विकले कोइलाको समस्याले पेशा नै सङ्कटमा रहेको गुनासो गर्नुभयो । सामुदायिक वनबाट सहज रुपमा गोल पाउनै नसकिने , पाएपनि महँगो पर्ने हुँदा आफूहरूको पेशा धान्नै गाह्रो भएको उहाँ बताउनुहुन्छ । ‘हामी परम्परागत रुपमा व्यवसाय गर्दै आएका व्यवसायीलाई वनबाट गोल किन्न पनि धौ धौ छ । हामी त निशुल्क रुपमा गोल पाउन पाए हुन्थ्यो भन्ने चाहन्छौ । आर्थिक, सामाजिक रुपमा निकै पिछडिएको वर्ग हामीलाई स्थानीय सरकारले हेरोस् , सामुदायिक वनले हेरोस् भन्ने चाहन्छौ ,तर त्यसो हुन सकेको छैन् । हाम्रो आवाज कसैले सुन्दैनन् ।’ उहाँले भन्नुभयो । ‘हामी पिछडिएको वर्ग भएकै कारण हाम्रो हक अधिकार, हामीले पाउनुपर्ने सेवा सुविधाबाट पनि हामी बञ्चित हुनु परेको छ । त्यसैले हामी एकजुट भएका छौँ । केही दिनअघि मात्रै हामिले पहिलो भेला गर्दै परम्परागत आरन व्यवसायी संघ गठन गरेका छौँ , हाम्रा मागहरू हाम्रा अधिकारहरू अब हामी सङ्गठित रुपमा उठाउनेछौ ।’ उहाँले भन्नुभयो ।
यता डिभिजन वन कार्यालयका प्रमुख बसन्त केशव अधिकारीले सामुदायिक वनहरुसंग समन्वय गरेर गोल उपलब्ध गराउने काममा आफूले सहकार्य गर्ने बताउनुभयो । उहाँले सामुदायिक वनको समूह भेलामा आफ्ना मागहरू राख्न व्यवसायीलाई सुझाव समेत दिनुभएको छ । ‘वन समूहले भेला गरेर, वन समूहको कार्ययोजनामा विभिन्न विषय समावेश गर्नुपर्छ । त्यस कार्ययोजनामा आरन व्यवसायीलाई गोल निशुल्क वा सहुलियत दरमा उपलब्ध गराउने भन्ने कुरा पनि उल्लेख भएमा आरन व्यवसायीलाई सहज हुन्छ । त्यसका लागि त उहाँहरु पनि भेलामा सहभागि हुनुपर्यो । आफ्नो माग राख्नुपर्यो । ’ अधिकारीले भन्नुभयो ।
जिल्लामा धेरैजसो दलित समुदायबाट र जिल्लाको पहाडी क्षेत्रमा मगर समुदायबाट समेत परमपरागत रुपमा आरन व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरू रहेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |