२०८१ श्रावण १२, शनिबार
नवलपुर । गर्मी मौसममा हुन सक्ने वन डढेलो, नियन्त्रण तथा रोकथामका लागि नवलपरासी पूर्व नवलपुरमा पूर्व तयारी सुरु गरिएको छ ।
चैतदेखि जेठसम्मको बढि हावाहुरी चल्ने र सुख्खा मौसममा वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना बढि हुने भएकाले नियन्त्रण र रोकथामका लागि डिभिजन वन कार्यालय र यहाँका सबै सामुदायिक वनहरुले विभिन्न किसिमका काम सुरु गरेका छन् ।
डिभिजन वन कार्यालय नवलपरासी पूर्वले वन डढेलो नियन्त्रणका लागि यस वर्ष केही फरक ढंगले तयारीमा जुटेको छ । कार्यालयले (फरेष्ट फायर फाइटिंग अन सिलिप युनिट ) नाम दिएर बोलेरो गाडीलाई सानो दमकलको स्वरूपमा तयार पारिएको छ । डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्सालका अनुसार डढेलो लाग्न नदिनका लागि सचेतना लगायतका कार्यक्रम गरिए पनि डढेलो लागिहाले त्यसलाई नियन्त्रण गर्न सहज होस भन्ने उद्देश्यले कार्यालयले (फरेष्ट फायर फाइटिंग अन सिलिप युनिट ) तयार पारेको हो । जिपमा पाँच सय लिटरको डम राखेर त्यसमा ५० मिटर लामो हाइ प्रेसर दिने पाइप जडान गरिएको छ । पेट्रोलबाट चल्ने सानो मेसिन जडान गरेर त्यसबाट पानी फाल्ने प्रेसर क्रियट गर्ने गरि तयार पारिएको छ । लम्सालले भन्नुभयो – ‘दमकल जुनसुकै ठाउँमा पुग्न सक्दैन त्यसैले हामिले बोलेरो जीपलाई सानोतिनो दमकलकै स्वरूपमा तयार पारेका हौँ , दमकल पुग्न नसक्ने ठाउँहरूमा पुगेर डढेलो नियन्त्रणमा मदत गर्न सक्छ भन्ने उद्देश्यले हामीले यसपालि केही नयाँ टेक्नोलोजी प्रयोगमा ल्याएका हौ ।’
डिभिजन वन कार्यालयले जिल्लाका ग्रामीण क्षेत्रसम्म पुगेर डढेलो लागिहाले नियन्त्रण कसरी गर्ने भन्ने बारेमा समुदायलाई कृतिम घटना अभ्यास मार्फत सचेतना जगाउने काम समेत सम्पन्न गरेको डिभिजनल वन अधिकृत बसन्त केशव अधिकारीले जानकारी दिनुभयो । यसैगरी सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामाग्री प्रदान गरिएको र डढेलो रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय र पालिका स्तरीय अन्तरकृया सम्पन्न गरिसकेको अधिकारीले जानकारी दिनुभयो । यसैगरी गस्ती टोली समेत परिचालन गर्ने र सचेतना सम्बन्धी जानकारी सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने लगायतका काम भएको अधिकारीले जानकारी दिनुभयो ।
डढेलो नियन्त्रणका लागि यहाँका सामुदायिक वनहरुले पनि विभिन्न कामहरू गरेका छन् ।
मध्यविन्दु १० मा रहेको अरुणखोला सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष विन्दु पोख्रेल काफ्लेले वनमा डढेलो नियन्त्रण गर्न समुहका सदस्य उपभोक्ता र वन हेरालु समेतको सहभागितामा वनमा झरेका सुकेका पात पतिङ्गर जम्मा गरेर पोल्ने काम गरिएको बताउनुभयो । ‘वनमा सडक पर्ने हुँदा यहाँ आगलागी हुने सम्भावना बढि छ , आवतजावत गर्नेहरुले चुरोट खाएर फाल्ने वा कुनै नकारात्मक भावना भएकाहरूले समेत वनमा जानीजानी आगलागी लगाउन सक्छन् । ’ काफ्लेले भन्नुभयो – ‘त्यसैले आगलागी हुनसक्ने सम्भावित क्षेत्रहरूमा सुकेका पातपतिङ्गर बटुलेर जलाउने र सरसफाइ गर्ने काम भएको छ । यसरी सुकेका पात जलाउँदा कोहि कसैले चुरोटको ठुटा फाले पनि आगलागी हनुबाट जोगिन्छ । ’ काफ्लेले भन्नुभयो । रेखदेखका लागि बिहानैदेखि चौकीदार वनमा खटिने गरेका छन् । भने , उपभोक्ताहरूलाई सचेतनाका कार्यक्रम समेत गरिएको उहाँ बताउनुहुन्छ ।
पूर्वी नवलपरासीमा २०८ वटा सामुदायिक वन ,१५३ वटा कबुलियती वन , ८ वटा धार्मिक वन, साझेदारी र चक्ला वन एक – एक वटा रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |