२०८१ श्रावण १२, शनिबार
नवलपुर ।राष्ट्रिय स्वतन्त्र पार्टीले विकासका काममा सरकारको ध्यानाकर्षण गराउन नयाँ स्वरुपको आन्दोलन अभ्यास गरेको छ । पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा रास्वपाको टोलीले नारायणगढदेखि बुटबलसम्मको सडक खण्डमा तीन दिन लामो पैदल यात्रा गर्यो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गतको यो सडक खण्ड स्तरोन्नतिमा अस्वाभाविक ढिलाइ भएपछि रास्वपाले दबाबस्वरुप यो पैदलयात्रा गरेको हो । २०७५ साल माघमा यो सडक खण्डका लागि सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो । सम्झौताअनुसार तीन वर्षमा सकिनुपर्ने सडकमा पाँच वर्ष पूरा पुग्न लाग्दा ४४ प्रतिशत मात्र काम भएको छ ।
निर्माण कम्पनीले काममा ढिलाइ हुनुमा कोरोना कहर र निर्माण सामग्री अभावलगायतका कारण देखाउने गरेको थियो । अहिले भने कामले तीव्रता लिएको र २०८१ साल पुस मसान्तसम्ममा सकिने दाबी ठेकेदार कम्पनीले गर्दै आएको छ । यसकै लागि रास्वपाले दबा दिएको हो ।
रास्वपा नेता-कार्यकर्ताले ११३ किलोमिटरको बाटो तीन दिनमा छिचोलेका छन् । उनीहरु हरेक दिन औसत करिब ३५ किलोमिटर हिँडेका थिए । यात्राका क्रममा विभिन्न स्थानमा सर्वसाधारणले रास्वपाको टोलीलाई स्वागत गरे । उनीहरुले राप्रपा सभापति लामिछानेसँग बाटो नबन्दा भोगिरहेको समस्याहरु पनि सुनाए ।
तेस्रो दिन आज बिहान ७ बजेबाट यात्रा थालेको रास्वपा टोली बेलुका करिब ६ बजे बुटबल आइपुगेको हो । बीचमा एक पटक चिया र एक पटक खानाका लागि मात्र रोकिएको पैदलयात्रामा रहेका सहकोषाध्यक्ष दीपक बोहोराले बताए ।
रास्वपाको पैदल यात्रामा उपसभापति डोलप्रसाद अर्याल तथा सांसदहरु निशा डाँगी, हरि ढकाललगायत पनि मिसिएका थिए ।
यात्रा समापनका क्रममा बुटबलमा लामिछानेले संक्षिप्त सम्बोधन गरेका थिए । उनले यो कुनै राजनीतिक अभियान नभएको बताए ।
‘हामी पार्टीको झण्डासमेत नबोकी आमनागरिक भएर हिँडेका हौं । बाटो बनाउन दबाब दिएका हौं । यसलाई नै कसैले राजनीति गरेको भन्छ भने यस्तो राजनीति हामी गरिरहन्छौं’, उनले भने ।
बाटो निर्माण सम्पन्न नभएसम्म निरन्तर लडिरहने प्रतिबद्धता लामिछानेले व्यक्त गरे । यदि बाटोलाई यत्तिकै अलपत्र पारिएको खण्डमा अबको चुनावमा जनताले कसैलाई नछोड्ने उनको चेतावनी छ ।
‘कुनै पनि हालतमा समय निर्धारण गरेर गुणस्तरीय रुपमा बाटो बन्छ भने ठीक छ । यदि बाटो नबनाएर जनतालाई धूलो खुवाइरहने हो भने अब जनताले पनि तपाईंहरुलाई धूलो चटाउने छन्’, लामिछानेले भने ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |