२०८१ श्रावण १२, शनिबार
नवलपरासी । पश्चिम नवलपरासी सरावल गाउँपालिकामा रहेको एक विद्यालयका शिक्षकले ९ वर्षीय छात्रालाई निर्घात कुटपिट गरेका छन् ।
सरावलको वडा नं ७ बर्गदवामा रहेको बर्दघाट कालिका ईङ्गलिस स्कुलमा अध्ययनरत ती बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेका हुन् । कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापकसमेत रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेका हुन् ।
कुटपिटबाट बालिकाको शरीरमा राता राता नील डामहरू बसेका छन् । बालिकाको घरमा गएरसमेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेको यादवले विद्यालय आएपछि लौरो र लात्तीले प्रहार गरेको अभिभावकले बताउनुभएको छ ।
घटना पछि विद्यालयमा तालाबन्दी गरिदिएको वडा अध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिनुभयो । शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयहरूले बताउनुभयो ।
स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक पटक गर्दै आएको बताउनुभयो । पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताउनुभयो । यादवको कुटाइबाट हिँड्न पनि नसक्ने अवस्थामा पुग्नुभएकी उहाँले घर आएपछि भनेपछि मात्र बल्ल थाहा पाएको अभिभावको भनाई छ ।
छतमा लगेर कुटपिट गरेको र कुटपिट पछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेकी थिइन् । स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक काजिकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडी बढाउने बताउनुभयो । अभद्र व्यवहारमा अभिभावकले उजुरी दिने तयारी गरेका छन्, सोही अनुरुप प्रहरी अगाडी बढ्छ आचार्यले भन्नुभयो ।
सरावल गाउँपालिका बालमैत्री पालिका बनाउने योजनाका साथ अगाडी बढिरहेको समयमा अबोध बालिकामाथि भएको कुटपिटको घटना गम्भीर भएको भन्दै सरोकारवालाहरुले दोषी माथि कारवाहीको माग गरेका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |