२०८१ श्रावण १२, शनिबार
कावासोती । म एक सञ्चारकर्मी । सञ्चारकर्मीको रुपमा नारायणगढ – बुटवल सडक विस्तारको कामले गर्दा भएको सास्तीका समाचार कतिपटक लेखे । यात्रुले सास्ती पाए । सडक आसपासका नागरिकले सास्ती पाए । समयमा सडक नबन्दा वर्षामा हिलो अनि हिउँदमा धुलोले सडकमा हिडिसक्नु छैन् । सडकको खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम त्यत्तिकै छ । सवारी धनी समेत आर्थिक रुपमा मर्कामा परेका छन् । लगायत धेरै समस्यै समस्याका बारेमा समाचार लेखिरहँदा म एक आमा अनि गर्भवती महिलाले भोगेको वास्तविक पीडा सम्म पुग्नै सकेको रहेनछु भन्ने महसुस अहिले भएको छ ।
जब म आफै गर्भवती अवस्थामा थिए , अहिले आमा बनिसकेको छु । यो बिचमा मैले सडकका कारण शारीरिक सास्ती त कति पाए पाए । तर, शारीरिक भन्दा पनि मानसिक तनाव अझै बढी पीडादायी हुँदो रहेछ । जसलाई म कसरी व्यक्त गरौँ भन्ने भइरहेको छ ।
आज म एउटा सञ्चारकर्मी नभइ एउटा आमा भएर लेख्दैछु । किनकी समाचारमा मैले मेरो पीडालाई व्यक्त गर्न मिल्दैन त्यसैले मैले सडकका कारण भोगेको भोगाइ लेख्दैछु ।
मेरो अस्थाई बसोबास हो कावासोती । अनि स्थाई बसोबास भैरहवा । अहिले मेरो पाँच महिनाकी छोरी छिन् । भर्खर मात्रै दशैँ पर्व सकिएको छ । दशैँमा मैले यही सडक भएर भैरहवासम्मको यात्रा गर्नुपर्यो । सार्वजनिक यातायातमा । आफ्नै निजी सवारीमा हिड्नेले त केही राहत पाए होलान् । तर सार्वजनिक सवारीमा हिँड्नुपर्ने म जस्ता कयौँ आमाहरू अनि गर्भावस्थाका दिदीबहिनीहरूले कति कष्ट सहनुपर्यो होला ? त्यसमाथि लामो दुरीको यात्रा गर्नुहुनेले कसरी यो सडक पार गर्नुभयो होला ? भर्खर जन्मेको दुधे बच्चा बोकेर गन्तव्यसम्म पुग्न कति कठिन भयो होला ? यो पीडा करोडौँको सरकारी गाडी र हवाईजहाजमा हिड्ने हाम्रा नेताले कहिल्यै पनि बुझ्नै सक्दैनन् ।
चाडपर्वको वेला बच्चा देखेपछि झट्ट सवारी नै नरोक्ने । रोकेको सवारीमा पनि बच्चा भएकालाई बल्लबल्ल गरेर सिट पाइयो त्यो पनि पछाडिपट्टि । सार्वजनिक सवारीमा कोचाकोच यात्रु । खुट्टा टेक्ने ठाउँ पनि छैन् । बाटोको यस्तो बिजोक अवस्थामा पनि गाडीले तीब्र गतिमा गुडाउने । खाल्डाखुल्डी पनि नजोगाइ कुदाएको कुदाई । कता पुगेर दुर्घटना हुने हो भन्ने मनमा त्रास मात्रै । सडकका कारण गाडी उफारेको उफारिए सिटमा अडिन नसकिने । काखमा च्यापेको छोरीलाई कसरी जोगाउने भन्ने चिन्ता । दुधे बच्चालाई बेस्सरी च्यापेर लिन पनि नमिल्ने । नलिए बच्चाको शरीरमा चोटपटक लाग्छ की भन्ने चिन्ता । टाउको नै चुँडिन पो हो कि भन्ने मनमा त्रासैत्रास । अर्कोतिर गाडीभित्रै धुलो भरिएर हामीजस्त ठूलै मानिसलाई पनि सास फेर्नै गाह्रो । त्यो सानो बच्चालाई धुलोले कति असर गर्ने हो । बच्चा भोक लागेर रुन्छ तर सिटमा बसेर पनि बच्चालाई दूध खुवाउन सकिदैन । मन पोल्छ । आँखाबाट आशु झर्छ । भोकाएर बच्चा रोएको छ । आमाले दूध चुसाउन सकिदैन। । कति पीडा भयो भन्ने त व्यक्त गर्नै सक्दिन म । एउटा आमाले भोगेको यो पीडा आम नागरिकले भोगेको भन्दै भिन्दै छ । म जस्तै पीडा भोगेका आमाहरूले सायद सराप्दै हिँड्नुभयो होला ? सुस्त कुदाउनुस् भन्दा पनि चालकले सुन्दैनन् । अर्को सवारी संग जोडतोड भएर कुदाएको छ । ओभरटेक गरेको छ । मानवता भन्ने नै छैन मरिसक्यो भन्ने कुरा अपवादका केही बाहेक सार्वजनिक सवारीमा चढेर हेर्नुहोस् थाहापाइन्छ ।
यस्तै पीडा गर्भवती महिलालाई पनि छ । जुन मैले पनि भोगिसकेको छु । नवलपुरका धेरैजसो गर्भवती महिलाहरू चेकअप लागि भरतपुर जानुहुन्छ । डेलिभरी हुँदा कुनै समस्या भएमा जिल्लामा भएका अस्पतालमा उपचार हुँदैनन् । रिफर गर्नुपर्छ । त्यसैले पनि गर्भवती महिलाहरू भरतपुरका अस्पतालमा पुग्नुहुन्छ । ताकि पछि कुनै समस्या भएमा उपचारमा सहज होस् । तर सडकको अवस्थाले डराइ डराइ हिँड्नुपर्छ । गर्भावस्थामा धेरै जोखिम हुने भएकोले पेटको बच्चालाई केही हुन्छ कि ? भन्ने चिन्तै चिन्तामा भरतपुर पुग्नुपर्छ । यो सडक भएर आवतजावत गर्नुपर्ने गर्भवती महिलाले गाडी चलेदेखि नओर्लिदा सम्म आफ्नो गर्भमा भएको शिशुलाई कसरी जोगाउने होला भन्ने बाहेक अरु केही सोच्नै सकिदैन ।
पाँच वर्ष बितिसक्दा पनि गैँडाकोट देखि दाउन्ने सम्मको ६४.४२ किलोमिटर को भौतिक प्रगति मात्रै ४१.१७ प्रतिशत भएको छ । सडक पुरा हुन अझै कति वर्ष लाग्ने हो ? कहिलेसम्म आमाहरूले त्रास र पीडादायी यात्रा गर्नु पर्ने हो ?
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |