२०८० मंसिर २४, आईतबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती स्थित केरुङ्गे खोलामा पुल निर्माणको काम अलपत्र परेको छ । तीन वर्षदेखि उक्त पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको छ । कावासोती नगरपालिका वडा नम्बर –३, र ४ लाई जोड्ने गरि केरुङ्गे खोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।
विसं. २०७७ साल असार सम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारि ठेकेदार सम्पर्क विहीन भएपछि समस्या भएको कावासोती नगरपालिका वडा नम्बर –४, का वडा अध्यक्ष नारायणप्रसाद लोहनीले बताउनुभयो । पुल निर्माणको काम विसं २०७५ सालमा सुरु भएको थियो ।
पुलको केही भाग निर्माण सकिएको छ । बिच खण्डमा ढलानको काम बाँकी रहेको छ । आफूले समेत पटक पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको र काम समेत अघि नबढाएको उहाँले बताउनुभयो ।
‘वडा, पालिका स्तरबाट पटक पटक ताकेता गर्यौँ तर निर्माणको काम अघि बढाउन ठेकेदारले आलटाल गर्दै आएको छ’ वडा अध्यक्ष लोहनीले भन्नुभयो ।
एक सय ४० मिटर लम्बाइको पुल करिब रु. १० करोड पाचास लाखमा निर्माण सम्पन्न गर्ने गरि एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । तर पटक पटक म्याद थप गर्दा समेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पछिल्लो पटक विसं. २०८० असारसम्म पुल निर्माण गर्नेगरि म्याद थप गरिएको थियो । यस अवधिमा समेत काम नसकेपछि पुल निर्माणको काम झनै अन्योल अवस्थामा पुगेको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।
कावासोती नगरपालिका –३, र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहज रुपमा सदरमुकाम कावासोती आउने सडक खण्डको पुल समेत भएकाले यसको निर्माणमा ढिलाई हुँदा जनताले धेरै सास्ती खेप्नु परेको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।
निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरि ठेकेदारलाई झिकाई आवश्यक कारवाही र निर्माणको काम अघि बढाउन यस अघि पत्राचार समेत गरेको थियो । गत असारमा निर्माण कम्पनीले असार भित्र ढलान गरि काम सक्ने प्रतिवद्धता समेत जनाएकोमा सो समयमा कुनै काम नगरि अहिले सम्म अलपत्र पारेको वडा अध्यक्ष लोहनीले बताउनुभयो ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनका अनुसार पुल निर्माणको म्याद सकिएकाले केन्द्रबाट भ्याद थप भएमा काम अघि बढ्ने बताउनुभयो । नियमित प्रक्रियामा पुलको म्याद थप नहुने र पुराना ठेक्काको म्याद थप गर्ने मन्द्रिपरिषदको निर्णय आएमात्र म्याद थप गर्न सकिन उहाँले बताउनुभयो । अर्को विकल्पमा सोही ठेकेदारबाट काम गराउनका लागि १० प्रतिशत क्षतिपूर्ती तिराएर काम लगाउन सकिने उहाँको भनाई छ । ‘पुल निर्माणको काम यस अघिनै सक्नुपर्नेमा ढिलो भयो, म्याद थप भएको छैन, केन्द्र सरकारले म्याद थप गरेमात्रै काम अघि बढ्ने हो ,वा बिल रकमको १० प्रतिशत क्षतिपूर्ती तिरेर काम गर्न सक्छ’ महर्जनले भन्नुभयो ‘अब वर्षापनि कम हुन लागेको छ, ठेकेदारलाई चिठ्ठी काट्नुपर्ला ।’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |