२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रुपमा घटेको छ । पर्यटन तथा उद्योग कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग ,व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ ।
पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८/०७९ एक हजार ५० नयाँ उद्योग दर्ता भएका थिए । तर गत आर्थिक वर्षमा भने जम्मा ४ सय ३८ वटा नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका प्रमुख सागर खनालले बताउनुभयो । गत वर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामुलक उद्योगहरू धेरै रहेका छन् ।
गत वर्ष आर्थिक वर्षमा नयाँ उद्योग दर्तामा कमी आउनु प्रमुख कारण देशको पछिल्लो आर्थिक अवस्थाको असर भएको कार्यालय प्रमुख खनालले बताउनुभयो । नयाँ उद्योग दर्ता र सञ्चालनको लागि आर्थिक प्रभावको अवस्था प्रतिकुल हुँदै गएकाले यस्तो अवस्था आएको हुन सक्ने प्रमुख खनालले बताउनुभयो । ‘पछिल्लो समय आर्थिक अवस्था त्यति अनुकुल छैन्, यसले गर्दा पनि नयाँ उद्योग दर्तामा कमी आएको हुन सक्छ’ आर्थिक चलायमान कम हुनु, औद्योगिक उत्पादनले बजार नपाउने समस्याका कारण समेत मान्छे नयाँ उद्योग स्थापनामा त्यति उत्साही देखिदैनन् ’ त्यसैको कारण दर्तामा कमी आएको हुन सक्छ’ प्रमुख खनालले भन्नुभयो ।
नयाँ उद्योग दर्ता सहित पुराना खारेजी गर्ने क्रम समेत बढेको उहाँको भनाई छ । गत आर्थिक वर्षमा ७५ वटा पुराना उद्योग खारेजी भएका छन् । आर्थिक वर्ष ०७८/०७९ मा ६४ र ०७७/०७८ मा ४५ उद्योग खोजी भएका थिए ।
वाणिज्य व्यवसाय दर्तामा समेत गत आर्थिक वर्षमा धेरै कमी आएको छ । गत आर्थिक वर्षमा जम्मा ४ सय ८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन् । जबकी आर्थिक वर्ष २०७८/०७९ मा एक हजार १५८ वटा नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरको तथ्याङ्कमा उल्लेख रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्त सम्मको तथ्याङ्क अनुसार नवलपुरमा नयाँ थपिएका उद्योग सहित जम्मा उद्योगको संख्या ६ हजार ७४७ पुगेको छ । वाणिज्य तर्फ भने ८ हजार ७९८ रहेको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले बताउनुभयो ।
आर्थिक मन्दीकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताउनुभयो । उद्योग स्थापना सहित बजारीकरणको समस्या ,लगानीका लागि उचित वातावरण नहुँदा यस क्षेत्रमा निराशा छाउन थालेको उहाँको भनाई छ । पछिल्लो पटक बैंकहरूको चर्को व्याज दरका कारण समेत उद्योगीहरु लगानी र उद्योग सञ्चालनमा समस्यामा परेकाले जिल्लामा समेत नयाँ उद्योग दर्तामा कमी आएको उहाँको भनाई छ । ‘मुख्य तह आर्थिक मन्दीकै कारण हो, सँगै उद्योग स्थापनाका लागि सहज वातावरण छैन, धेरै झन्झटिलो प्रक्रिया छन्, लगानी सुनिश्चितता र बजारीकरणको ग्यारेण्टी छैन, बैंक ब्याजदरको मार छँदै छ, यसले गर्दा यस क्षेत्रमा नैराश्यता छाएको छ, यसैको प्रभाव देखिँदै छ’ अध्यक्ष अर्यालले भन्नुभयो । राज्यले उद्योग स्थापना र सञ्चालनका लागि उचित वातावरण निर्माण गरि उद्योगीव्यवसायीको प्रोत्साहन गर्नेगरी काम गर्नुपर्ने उहाँको भनाई रहेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |