२०८१ श्रावण १२, शनिबार
देवचुली । शुक्रबार दिउसो घडिमा एक बजेर २३ मिनेट गएको थियो । देवचुलीको पहाडी क्षेत्र मानिने वडा नम्बर –६, किर्तिपुर स्थित नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालयका विद्यार्थीहरू दिवा खाजाका लागि लाइनमा थिए । कोही खाजा खान टुक्रुक्क बसेका थिए । दिवा खाजाका लागि विद्यालयमा आलु, चनाको तरकारी र भुजाको प्रबन्ध रहेको थियो ।
दिवा खाजाको लाइनमा लागेका विद्यार्थीसँगै बस्नुभयो देवचुली नगरपालिका मेयर हरिप्रसाद न्यौपाने । त्यतिन्जेल सम्म दिवा खाजाको प्रबन्धका लागि खटिएका स्थानीय अलमलमा परे । किर्तिपुरमा रहेको यस विद्यालयमा विद्यार्थीका लागि अभिभावकले आलोपालो गरि दिउँसोको खाजाको व्यवस्थापन गर्ने गरेका छन् । यसले थोरै लागतमा थप राम्रो खाजा खुवाउन र सबै विद्यार्थीलाई पुर्याउन सहज हुने भएकाले स्थानीयले श्रमदान गर्ने गरि पालो गरेका हुन् ।
मेयर न्यौपानेले कचौरा माग्नुभयो र विद्यार्थीका लागि तयार पारिएको खाजा थोरै माग्नुभयो । विद्यार्थीहरू वरपर खाजा खाँदै थिए । आफूले मागेको खाजा खाँदै मेयर न्यौपानेले खाजाको प्रबन्धमा खटिने स्थानीयलाई धन्यवाद दिनु भयो । ‘खाजा राम्रो छ, अझै केही सुधार गरि व्यवस्थापन गर्नुपर्यो ’ मेयर न्यौपानेले भन्नुभयो ।
पालिकाको वडा नम्बर ६ अन्र्तगत किर्तिपुरमा रहेको विद्यालयको निरीक्षण तथा अवलोकनका क्रममा मेयर न्यौपानेले दिवा खाजाको व्यवस्थापनको अवस्थाका बारेमा समेत जानकारी लिनुभएको हो ।
‘विद्यालयमा पढाईको गुणस्तरको विषय त छँदै छ, त्यसमा हामी सबैको चासो छ, सँगै विद्यालयमा प्रबन्ध गरिएको दिवा खाजाको यथार्थ व्यवस्थापन के छ भनेर जानकारी लिएको हुँ’ मेयर न्यौपानेले भन्नुभयो । ‘दिवा खाजा पनि बच्चाको स्वास्थ्यसग प्रत्यक्ष जोडीनेकुरा हो त्यसकारण यो गुणस्तरीय पनि हुन आवश्यक छ, मेयर न्यौपानेले भन्नुभयो ।
सो क्रममा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विषय , प्राविधिक शिक्षा प्रदान गर्ने विषय देखि समग्र शैक्षिक गुणस्तर सुधारका पक्षमा आफू लाग्ने उहाँले बताउनुभयो । ‘हामी शिक्षा मात्रै भन्दैनौ गुणस्तरीय शिक्षा भन्छौ, प्राविधिक र अझै परिवर्तित समय अनुसार बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न सक्ने शिक्षा भन्छौ’ मेयर न्यौपानेले भन्नुभयो ‘शिक्षाका सबै पक्षको सुधार गर्नु हाम्रो उद्येश्यहो ,हामी सोही अनुसार लागेका छौं, यसका अन्य सरोकारवालाहरू पनि लाग्नुभएको छ ।’
विद्यालयको निरीक्षण तथा अवलोकनका क्रममा वडा नम्बर ६ का वडा अध्यक्ष मीन बहादुर सोती मगरले विद्यालयको अवस्थाका बारेमा जानकारी प्रदान गर्नुभएको थियो । विद्यालयमा हाल कक्षा ८ सम्म मात्रै अध्ययन हुने र त्यसपछि किर्तिपुरका बालबालिका अध्ययनका लागि अन्यत्र जानुपर्ने हुँदा कतिपयले पढ्नै छाड्ने , आर्थिक अवस्थाका कारण कतिपय अभिभावकलाई पढाउन समेत समस्या हुने गरेको बताउनुभयो । विद्यालयलाई माध्यामिक तहसम्म संचालन गर्न थप सुविधा हुने उहाँले बताउनुभयो । यस क्रममा मेयर न्यौपानेले थप कक्षा संचालनको लागि कानूनि प्रावधान र अन्य विषयको बारेमा आफूले जानकारी लिने बताउनुभयो ।
सो स्थानमा जागृति बाल तथा युवा सरोकार नेपालले बालबालिकाको लागि शिक्षा र स्वास्थ्यको लागि आय आर्जन कार्यक्रम समेत गरिराखेको र सो बाट बालबालिकाको लागि झोला, किताब, कापि, खेलकुद सामग्री र परिवारको लागि १ घर २ पाठी माउ समेत बितरण गरि काम गरिराखेको सस्थाका महासचिव दिपक शर्माले बताउनु भयो ।
विद्यालयको निरीक्षण तथा अवलोकनमा प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद मारसिनी, नगर प्रमुखका सचिवालय प्रमुख सागर न्यौपाने, जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, राजु चापागाईं लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |