२०८० मंसिर २४, आईतबार
नवलपुर । (नवलपरासी बर्दघाट सुस्ता पूर्व ) नवलपुरको मध्यविन्दु नगरपालिकाले ‘नवप्रवर्तन’ कार्यक्रमको पहिलो चरणको काम सुरुआत गरेको छ ।
गण्डकी प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा सञ्चालित ‘नवप्रवर्तन’ कार्यक्रमका लागि नगरपालिका छनौट भएसँगै कार्य थालेको हो । ‘नवप्रवर्तन’ कार्यक्रम अन्तरगत यस पालिकामा प्रदुषण न्यूनिकरण, फोहोर व्यवस्थापन तथा जैविक मल उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य फोहोरमैला व्यवस्थापन , स्थानीयलाई रोजगारी सृजना र किसानलाई जैविक मल उपलब्ध गराउने रहेको छ ।
अहिले वडा नं. १५ मा स्याम्पल मल उत्पादन गर्ने कार्य थालनी गरिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले जानकारी दिनुभयो । ‘पातपतिङ्गर गोबर मल राखेर कति दिनमा कुहिन्छ भन्ने जाँच गर्न नमुनाको रुपमा स्याम्पल मल उत्पादन गर्न सुरु गरेका छौँ । कुहिएर मल बन्न कतिदिन लाग्छ सोही आधारमा तालिका मिलाउनुपर्छ । ’ पनेरुले भन्नुभयो । यसै कार्यक्रमलाई मध्यनजर गर्दै स्थानीय फोहोरमैला व्यवस्थापन ऐन २०७९ पारित , प्रस्तावित गौशालाको गुरु योजना तयार , व्यक्तिगत फर्मलाई काम हस्तान्तरण को लागि टेर्म्स अफ रेफरेन्स तयार , फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको दोश्रो फेज– निर्माण व्यवसायी सँग सम्झौता र ट्याक्टर तथा अन्य उपकरण खरिद गर्न स्पेसिफिकेसन निर्माणको क्रममा रहेको पनेरुले बताउनुभयो ।
पालिकाले यस कार्यक्रममा विशेषगरि अर्धबेरोजगारी रहेका स्थानीयवासीलाई रोजगारीसँग जोड्ने प्रयास गरेको छ । सडक छेउछाउका झाडी , वनका पातपतिङ्गर, बढी भएका घाँस पराल जोखेर किलोका दरले पालिकाले खरीद गर्ने छ । जसबाट स्थानीले आम्दानी गर्नेछन् भने जैविक मल उत्पादन गरी किसानलाई सहुलियतमा बिक्री गरिनेछ । जसबाट मलको समस्या समाधान हुने , कृषि उत्पादन वृद्धि हुने र रासायनिक मलको प्रयोग कम गर्न प्रेरित गर्ने नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो । गौशाला निर्माण गरी छाडा पशुचौपायाको व्यवस्थापन समेत गरिने अधिकारीले बताउनुभयो ।
यस परियोजनाले स्थानीय स्तरमा रोजगारी सृजना गरी गरिबी निवारणमा महत्वपूर्ण योगदानका साथ वातावरण संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गर्ने नगर प्रमुख अधिकारीले विश्वास व्यक्त गर्नुभएको छ ।
आँउदो जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने भएको हुँदा कामलाई तीब्र पारिएको अधिकारीले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले ‘नवप्रवर्तन’ कार्यक्रमका लागि २ करोड १३ लाख ८० हजार रकम प्रदान गरेको छ । पालिकाले ६३ लाख ८० हजार बिनियोजन गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,गण्डकी प्रदेशकी सचिव पङ्गेनीका अनुसार सुशासन , सेवा प्रवाह र स्थानीय आर्थिक विकासको तीनवटा पाटामा ‘नवप्रवर्तन’ कार्यक्रम मार्फत कार्य गरिनेछ । गण्डकी प्रदेशमा पाँच वटा स्थानीय तह यो कार्यक्रमका लागि छनौट भइसकेको पङ्गेनीले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि प्रदेश सरकारले ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लागत साझेदारी रहेको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |