२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरबाट नव निर्वाचित गण्डकी प्रदेश सभा सदस्य पदमा जिसी श्रेष्ठले महिलाहरूलाई आत्मनिर्भर र युवालाई स्वरोजगारका कार्यक्रममा आफ्नो जोड रहने बताउनुभएको छ ।
१६ दिने लैङ्गिक हिंसा विरुद्धको दिवसको अवसर पारेर सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरको आयोजना तथा विभिन्न सङ्घसंस्थाको समन्वयमा बुधबार कावासोतीमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । लैङ्गिक हिंसा बढ्नुमा एउटा मुख्य कारकका रुपमा आर्थिक स्थिति पनि रहेको हुँदा आर्थिक अवस्थाको सुधार गर्दै हिंसा न्यूनिकरण गर्न आफूले रोजगारीका कार्यक्रमलाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । महिलालाई आत्मनिर्भरका कार्यक्रम र युवालाई रोजगार प्रदान गर्न उद्योगधन्दा स्थापना गर्दै रोजगारी प्रदान गर्ने नीति कार्यक्रम ल्याउन प्रदेश सरकारमा माग राख्ने उहाँको भनाई छ ।
अझै पनि धेरै महिलाहरू आयआर्जनको काममा जोडिन नसक्दा हिंसाबाट बाहिर आउन नसकिरहेको उहाँले बताउनुभयो । ‘हामी महिलाहरू बिहानदेखि रातिसम्म सधैँ एउटै काम गर्छौँ , जसबाट आयआर्जन हुँदैन , हामी थाकेर लखतरान पर्छौँ तर हामिले गरेको कामको मूल्याङ्कन हुँदैन । अब महिलाहरू आयआर्जनका काममा जोडिनु पर्छ , आत्मनिर्भर हुनुपर्छ , जसले हिंसा हुनबाट जोगाउँछ , हिंसा सहनबाट पनि जोगाउँछ । ’ उहाँले स्वदेशमा रोजगारीका अवसर नहुँदा युवाहरू विदेश पलायन हुनुपर्दा पनि हिंसा बढेको भन्दै युवालाई आफ्नै देशमा काम गर्ने वातावरण सृजना गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । जनताले आफूलाई नीति निर्माण गर्ने तहसम्म पुराएकाले, त्यहाँ पुगेर कृषि उत्पादन , सीपमुलक तालिम र उद्योगधन्दा स्थापना गरेर आर्थिक रूपान्तरण गर्ने अभियानमा आफूले शसक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले समाज व्याप्त लैङ्गिक हिंसा अन्त्य गर्न महिला र पुरुष दुवैलाई सचेत गर्न आवश्यक रहेको बताउनुभयो । हिंसामा पर्नेमा धेरैजसो महिला भएका कारण महिलामाथि हुने हिंसा महिलाले मात्रै रोक्न नसक्ने हुँदा महिला पुरुष सबै मिलेर हिंसा न्यूनिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले सबैभन्दा पहिला आफूले हिंसा नगर्ने र हिंसा नसहने प्रण गरे मात्रै हिंसा न्यूनिकरण हुने बताउनुभयो ।
कार्यक्रममा बोल्ने आधिकांश वक्ताहरूले हिंसा न्यूनिकरण गर्न आफूबाट सुरु गरि घर परिवार र समाजलाई हिंसा रहित समाज निर्माण गर्न पहल गर्न जरुरी रहेको औँल्याएका थिए । उनीहरूले दुर्गम र ग्रामीण क्षेत्रमा समेत शिक्षाको पहुँच वृद्धि गर्दै सचेतना जगाउन आवश्यक रहेको बताएका थिए । समाजमा व्याप्त विभिन्न प्रकारका कुरिती कुसंस्कार र हानिकारक सास्कृतिक प्रचलनका कारण समाजभित्र अझै पनि छुवाछुत , भेदभाव , छाउपडी , बोक्सी आरोप , दाइजो प्रथा , एकल महिलामाथि लान्छना जस्ता हिंसाले प्रसय पाएको भन्दै नराम्रा प्रचलनलाई जडैदेखि फाल्न जरुरी रहेको बताएका थिए । जसका लागि सचेतना र शिक्षा सबैमाझ पु¥याउन सरोकारवाला सबै निकायले भूमिका खेल्नुपर्ने वक्ताहरुको जोड थियो ।
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपुरका अध्यक्ष खिमानन्द भुसाल , सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रिय सदस्य सीता खड्का , सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेश उपाध्यक्ष खगराज सापकोटा , डिभिजन वन कार्यालय नवलपुरका प्रमुख मोहनराज काफ्ले , हिमवन्ती नेपालकी दूर्गादेवि विष्ट , आदिवासी जनजाती महासंघबाट इन्द्र फाल मगरले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र ( महिला सेल ) प्रमुख विन्दु विकले जिल्लामा वार्षिक रुपमा दर्ता भएका हिंसा र अपराधका घटनाहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नवलपुरमा विगत तीन वर्षको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले चालु आर्थिक वर्षको मंसिर २० गतेसम्म जिल्लामा घरेलु हिंसाका ६७ वटा निवेदन दर्ता भएको जानकारी गराउनुभयो । जसमध्ये ४९ वठा मिलापत्र भएको र १८ वटा काँकी रहेको बताउनुभयो । आर्थिक वर्ष २०७७÷०७८ मा घरेलु हिंसाको १२८ वठा निवेदन परेको , आर्थिक वर्ष ०७८÷०७९ मा १३१ वटा घरेलु हिंसाको निवेदन दर्ता भएको जानकारी गराउनुभयो ।
यस्तै कार्यक्रममा अधिवक्ता गणेश सापकोटाले लैङ्गिक हिंसासंग सम्बन्धित अपराधमा कानूनमा भएको व्यवस्था , सजायका बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनीधि , सरोकारवाला , जिल्लाभित्र रहेका विभिन्न सामुदायिक वनका कार्यसमिति सदस्यहरु एवम् उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका अध्यक्ष ठाकुर प्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम भएको हो । अध्यक्ष पाण्डेले महिला, पुरुष तथा अन्य लैङ्गिक अवस्थामा नागरिकहरुमाथी समाजमा विभिन्न प्रकारका हिंसा भइरहेकाले त्यस्ता हिंसा अन्त्य गर्न सबै एकजुट हुन जरुरी रहेको बताउनुभयो । उहाँले बढि मात्रामा महिलाहरू नै हिंसामा पर्ने गरेको तथ्याङ्क रहेको भन्दै महिलाका हक अधिकार सुनिचितताका लागि सामुदायिक वन उपभोक्ता महासंघले सुरुदेखि नै पहल गर्दै आएको बताउनुभयो । सामुदायिक वनमा महिलाको सहभागिता ५० प्रतिशत सुनिश्चित गरिएको बताउँदै सबै क्षेत्रमा महिला सहभागिता र निर्णयक तहमा महिलाको उपस्थीत बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले महिलाहरुले अझै पनि आफ्नो पहिचानबाट बञ्चित हुनुपरेको बताउनुभयो । महिलाहरुले समाजमा धेरै उदाहरणीय काम गरे पनि उनीहरु पुरुषकै पहिचानले परिचित हुनुपरेको बताउनुभयो । अब महिलाले आफ्नै पहिचान स्थापित गर्न पितृसतात्मक सोँचमा परिवर्नत ल्याउनु पर्ने उहाँको भनाई थियो ।
सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ नवलपुरका कोषाध्यक्ष हुमनाथ पाण्डेले स्वागत गर्नुभएको कार्यक्रममा सचिव सीता भुसालले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम सुरु हुनुभन्दा अघि कावासोतीको फलफूल चोकदेखि सचेतना मुलक ¥याली निकालिएको थियो । फलफूचोक देखि इन्द्र चोक हुँदै खानेपानी संस्थाको सभाहलमा आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा नवलपुरमा रहेको लायन्स क्लबका विभिन्न शाखा , जिल्ला प्रहरी , सामुदायिक प्रहरी , साुमदायिक वन उपभोक्ता समितिहरुको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |