२०८० मंसिर २४, आईतबार
नवलपुर । स्थानीय संस्कृति र परिकार पस्किएर पाहुनाको स्वागत सँगै आर्थिक स्तर विकासका लागि खोलिएका कतिपय घरबासलाई आधुनिकताले छुँदै गएको छ । स्थानीय संस्कृति ,रहनसहन र खानाका परिकार छाडेर आवाशिय घरमा परिणत भएका त्यस्ता घरबासका लागि नवलपुरको लहापेमा रहेको गुरुङ घरबास सिकाइको केन्द्र बनेको छ । जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ । त्यतिमात्रै होइन स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरि पाहुनालाई आकर्षित गर्दै आएको छ ।
नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको पहाडी क्षेत्र अन्र्तगत बौदीकाली गाउँपालिका –६, लहापेमा पर्ने गुरुङ घरबासले अझै पनि घरबासको मर्मलाई कायम राख्दै आएको छ । पूर्व पश्चिम राजमार्गको कावासोती देखि करिब ३० किलोमिटर उत्तरमा पर्ने यस घरबासमा पुग्ने पाहुनाको रोजाईमा कोदोको ढिडो , सिस्नोको तरकारी , र तामाको अचार पर्ने गरेको छ । घरबासमा आएका पाहुनाको रोजाईमा परेका ति परिकारको स्वाद चखाइ रहेकाछन् गुरुङ घरबासका सञ्चालक । ‘यहाँ आउने पाहुनाले यहाँको स्थानीय खान के पाइन्छ भन्ने गर्नुहुन्छ, हामीकहाँ कोदोको ढिँडो र सिस्नोको तरकारी मुख्य हो भन्दा उहाँहरु खुसी हुँदै त्यही माग्नुहुन्छ’ घरबास सञ्चालक पवित्रा गुरुङले भन्नुभयो । कतिपयका लागि सिस्नोको तरकारी खाएको अनुभव समेत नहुने हुँदा त्यसको माग गर्ने उहाँले बताउनुभयो । यो सँगै स्थानीय रुपमा उत्पादन गरिएका खाद्यान्न तथा तरकारी, स्थानीय जातका कुखुराका परिकार घरबासमा बस्ने पाहुनालाई प्रदान गर्ने गरिएको सञ्चालक गुरुङले भन्नुभयो ।
‘हामिले घरबासमा स्थानीयतालाई जोगाउन कोसिस गरिरहेका छौं, त्यो खानाका परिकार मा मात्रै होइन ,मनोरञ्जनका लागि प्रस्तुत गरिने सांस्कृतिक प्रस्तुतीमा समेत ग्रामीण कला ,संस्कृति र रहनसहनलाई समेट गरेका छौ’ सञ्चालक गुरुङले भन्नुभयो । मनोरञ्जनका लागि झाम्रे, कुरुवा लगायत लोकगीत सहितका सांस्कृतिक कार्यक्रमहरू पाहुनाका लागि प्रस्तुत गर्ने गरिएको उहाँको भनाई छ । ति गितहरुमा स्थानीय विषय वस्तु, जिवनका सुख ,दुःखका भागाईहरु पर्ने गरेकाछन् ।
धौबादी फलाम खानीको उत्तरी सिमाना लहापेमा पर्ने गुरुङ घरबास अग्लो पहाडको काखमा रहेको छ । प्राकृतिक रुपमा मनोरम स्थानमा पर्ने गुरुङ घरबास यहाँ रहेका दश घरपरिवार मिलेर वि. सं. २०७३ सालदेखि सञ्चालनमा ल्याएका हुन् । पहाडी क्षेत्रमा पर्ने यहाँको घरबासमा नवलपुर सहित आसपासका जिल्लाबाट समेत पाहुनाहरू आउने गरेका छन् । मुख्य गरि नवलपुरका राजमार्ग आसपास र चितवनबाट गर्मीको समयमा पाहुनाहरू लहापे स्थित घरबासमा आउने गरेका छन् । गर्मी छल्न बजार धेरै जसो यहाँ आउने गरेको गुरुङ घरबासका अध्यक्ष यम बहादुर गुरुङले बताउनुभयो । गर्मी समयमा यहाँको मौसम चिसो हुने हुँदा पाहुनाको आगमन धेरै हुने उहाँले बताउनुभयो । गुरुङ घरबासमा आउनेहरू आँखै अगाडि लमतन्न परेका अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी हिम शृङ्खलाका दृश्य अवलोकन गर्न पाउँदा खुसी व्यक्त गर्ने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘यहाँबाट मुख्य गरि विभिन्न हिमालहरू नजिकै देखिन्छ, यहाँ आउने जो कोहीको मन हिमशृङखलाका दृश्यहरूले तान्ने गर्दछ, पहाडी टाकुराहरू उस्तै देखिन्छन’ अध्यक्ष गुरुङले भन्नुभयो ‘यसकारण यहाँ आउने पाहुनाले रमाइलो महशुस गर्ने गर्दछन्।’ घरबासमा आएका पाहुनाहरू पहाडी पाखामा पैदल यात्राको अनुभवन सहित मृग र घोरल अवलोकन गर्न पाउने उहाँको भनाई छ ।
वर्षाको समयमा पहिराको कारण बाटोहरु अवरुद्ध हुँदा भने घरबास सुनसान जस्तो हुने गरेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘वर्षामा बाटो छेकिन्छ, बाटोहरुको स्तउन्नती गरे बाह्रै महिना घरबासमा सहज रुपमा पाहुना आउन सक्थे, यसका लागि सरोकारवालाले पहल गरिदिए हुन्थ्यो’ उहाँले भन्नुभयो ।
दश घरमा घरबास संचालन गरिएको यहाँ २० वटा आवाशिय कोठाहरु रहेका छन् । एउटा कोठाको रु. ३५० देखि रु. ४०० सम्म लिने गरेको घरबास सञ्चालक चम कुमारी गुरुङले बताउनुभयो । घरबास संचालनपछि जिविकोपार्जनमा सहयोग पुगेको उहाँले बताउनुभयो । पहाडी क्षेत्रमा अन्य रोजगकारको अवशर नहुने भएपनि घरबास संचालन पछि आयआर्जनको माध्यम बनेको उहाँले बताउनुभयो । यसले घरपरिवारको आर्थिक गर्जो टार्न सहयोग पुग्दै आएको गुरुङले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |