२०८१ श्रावण १२, शनिबार
नवलपुर । जिल्लाको गैँडाकोट नगरपालिकाका कृषक कृष्ण भट्टले विगत ५ वर्ष देखि व्यवसायिक रुपमा घास खेती गर्दै आउनु भएको छ । नवलपरासी ९ बर्दघाट सुस्तापूर्व ० नवलपुरको गैँडाकोट नगरपालिका –१२, मा डेढ बिघा क्षेत्रफलबाट घास खेती शुरु गर्नुभएका कृषक भट्टले हाल १४ बिघा क्षेत्रफलमा घास खेती गर्दै आउनु भएको छ । श्री स्वस्थानी घास स्रोत केन्द्र तथा बाख्रा फर्म स्थापना गरि सोही मार्फत जग्गा भाडामा लिएर भट्टले व्यवसायिक घास खेती गर्दै आउनुभएको हो ।
गैँडाकोट सहित देवचुली, कावासोतीका विभिन्न क्षेत्रमा उहाँले घास खेती सहित उखु ,गिठ्ठा लगाउनु भएको छ । व्यवसायिक घास खेतीमा लाग्नुभएका भट्टले यस खेतीबाट राम्रो आम्दानी समेत गर्दै आउनु भएको छ । वार्षिक रुपमा घास बिक्रीबाट रु। २५ लाख सम्म आम्दानी गर्ने गरेको उहाँको भनाई रहेको छ । कृषक भट्टले घास सहित घासका बिरुवा समेत बिक्री गर्दै आउनुभएको छ । ‘घास खेतीबाट राम्रै आम्दानी छ, थोरैबाट यस तर्फ लागे अहिले क्षेत्र विस्तार गर्दै गएको छु ’कृषक भट्टले भन्नुभयो ‘घास सहित घासका बिरुवाको बिक्री समेत राम्रो नै छ ।’
आफूले लगाएको घास जिल्लाकै पशुपालक किसानले खरिद गरि लैजाने गरेको उहाँले बताउनुभयो । घासका बिरुवा भने नवलपुर सहित देशका विभिन्न जिल्लाका किसानले खरिद गरि लैजाने गरेको कृषक भट्टले बताउनुभयो । घास बिक्रीमा खासै समस्या नभएको उहाँको भनाई रहेको छ । जिल्लाका पशुपालक कृषकहरु घास लगाएको खेतमै आएर घास खरिद गरि लैजाने गरेको बताउनुभयो ।
कृषक भट्टले सुपर नेपियर , मलाटो, नेपियर , लगायतका घासखेती गर्दै आउनुभएको छ । घास प्रतिकेजी रु। ६ प्रतिकेजी र घासका बिरुवा प्रजाति हेरी प्रति बिरुवा रु २ देखि रु। ५० सम्ममा बिक्री हुने गरेको भट्टले बताउनुभयो । हरियो घास भन्दा घासको बिरुवा बिक्रिबाट धेरै आम्दानी लिने गरेको उहाँको भनाई रहेको छ ।
घास पशुपालक किसानका लागि अति आवश्यक भएकाले आफूले सबै जसो किसानलाई घासखेती गर्न उत्प्रेरित गर्ने गरेको भट्टले बताउनुभयो ।घास लगाउँदा पशुपालक किसानका लागि दानाको विकल्प हुने हुँदा उत्पादन लागत घट्ने र यसले आम्दानी बढाउने हुँदा पशुपालक कृषकलाई घास खेती गर्न सुझाव दिने गरेको भट्टको भनाई छ । पराल भन्दा समेत सस्तो हुने र हरियो घासमा पोषक तत्वसमेत कायम रहने हुँदा यो पशुपालक किसानका लागि लाभदायक हुने उहाँले बताउनुभयो । ‘दाना तथा परालको विकल्प घास हुन्छ, यसले एकातर्फ पशुलाई पोषिलो आहारा प्राप्त हुन्छ, अर्को तर्फ उत्पादन लागत घटेर ,आम्दानी बढ्छ ’ भट्टले भन्नुभयो ‘ यसकारण मैले पशुपालक किसानले घास खेती गरुन् भन्ने चाहन्छु ।’
कृषि उत्पादनबाटै देशको अर्थतन्त्र मजबुत बनाउन सकिने धारणा राख्ने भट्टले कृषिको विकासका लागि राष्ट्रिय कृषि सैनिक तयार पार्नुपर्ने तर्क गर्नुभयो । धेरै भन्दा धेरै कृषिमा लाग्ने युवा तयार पारी उत्पादन वृद्धिगर्ने योजनाका साथ काम गर्नुपर्ने उहाँको धारणा रहेको छ ।
कृषक भट्टले घास खेती सहित ५ बिघा क्षेत्रफलमा रानी गिठ्ठाको समेत व्यवसायिक खेती गर्दै आउनु भएको छ । चार वर्ष अघि रु। १० लाखको लागतमा रानी गिठ्ठाको व्यवसायिक खेती सुरु गरेको कृषक भट्टले बताउनुभयो । एक पटक लगाएको गिठ्ठाबाट पटक पटक उत्पादन लिन सकिने उहाँको भनाई छ । जमिन मुनि र माथि लहरामा समेत फल्ने भएकाले उत्पादन राम्रो भएको कृषक भट्टले बताउनुभयो । उत्पादित गिठ्ठा स्थानीय बजारसँगै ,चितवन, पोखरा ,काटमाण्डौँ लगायतका शहरहरूमा विक्रि हुँदै आएको उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |