२०८० मंसिर २४, आईतबार
कावासोती । नवलपुरको लागि गौरवको योजना मानिएको नमूना सदरमुकाममा यसै वर्ष थप निर्माणको काम अघि बढ्ने भएको छ । जिल्लाको कावासोती –३, मा रहेको एक सय ८७ बिघा क्षेत्रफलमा प्रदेश र संघ मातहतका जिल्लामा रहने सबै कार्यालय यहाँ स्थापना हुने छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७६ बैशाख ७ गते नमूना सदरमुकामको शिलान्यास गर्नुभएको थियो ।
जिल्लामा जग्गा प्राप्ति देखि शिलान्यासका काममा एमाले नेता तिलक महतले ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । १ सय ८७ बिघा जग्गा नेपाल सरकारको नाममा बनाएर २०७६ सालमा एमालेको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नमूना सदरमुकाम शिलान्यास गराउन महतको भूमिका ठूलो रहेको छ । यसकारण नमूना सदरमुकामसँग एमाले , यहाँका जिल्ला नेता तिलक महत जोडिएर आउछ । जसरी ज्येष्ठ नागरिकका लागि एमालेले आफ्नो सरकार हुँदा रु. १०० रुपैँयाबाट भत्ता सुरु गर्यो र भत्ता भन्दा एमाले जोडिन्छ नवलपुरमा नमूना सदरमुकामसँग एमाले र एमालेका नेता तिलक महत जोडिने गरेका छन् । यो योजनाको सपना सायदै कसैले देखेको थियो होला । तर महतले जग्गा प्राप्तीसँगै नमूना सदरमुकाम निर्माण गर्ने अठोटका साथ लाग्नुभयो । विस्तारै यो योजनाले गति लिने क्रमममा रहेको छ ।यस आयोजना अन्र्तगत यसै वर्ष नमूना सदरमुकाम निर्माण स्थलको बाटो कालोपत्रे, नाला निर्माण सहित भवन निर्माणकोकाम अघि बढ्ने भएको छ ।
जिल्लाको महत्वपूर्ण योजना र गौरवको रुपमा रहेको नमूना सदरमुकाममा यसै वर्ष रु. ३३ करोडको लागतमा सडक कालोपत्रे ,नाला निर्माण लगायत भौतिक पूर्वाधार निर्माणमा काम हुने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो ।
यस अघि करिब रु. १० करोडको लागतमा कच्चि बाटोहरु निर्माण गरिएको छ । यसै वर्ष ति बाटोहरु लाई कालोपत्रे गर्ने गरि डिपिआर तयार भइरहेको र चाडै डिपिआर सम्पन्न गरि कालोपत्रेको कामका लागि ठेक्का प्रक्रियामा जाने उहाँले बताउनुभयो । नमूना सदरमुकाम निर्माण स्थलमा भवन निर्माणको काम समेत यसै वर्ष शुरु हुने आयोजना प्रमुख अर्यालले जानकारी दिनुभयो । भवन निर्माणका लागि रु.१० करोड बजेट रहेको र यसै वर्षबाट निर्माणको काम शुरु हुने उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको भवनको डिजाइन सकिएकोले शुरुमा यस कार्यालयको ठेक्का निकाल्ने प्रक्रिया हुने उहाँको भनाई छ । त्यस बाहेक अन्य कोलोनिका, कर कार्यालय लगायतका ४÷५ वटा कार्यालयको भवनको डिजाईन सहित डिपिआर बनाउने काम चलिरहेकोले ति कार्यालयहरूको समेत यसै वर्ष ठेक्का निकाल्ने योजना रहेको आयोजना प्रमुख अर्यालले बताउनुभयो ।
हाल संघ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालयहरू निर्माण गर्ने गरि गुरुयोजना तयार पारिएको छ । सोही अनुसारका काम अघि बढ्दै जाने आयोजनाले बताएको छ ।
सदरमुकाम निर्माण स्थलमा पुस्तकालय, सभाहल, बैंक, अतिथि गृह, आवास गृह, रङ्गशाला , सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्क लगायतका संरचनाहरू समेत निर्माण हुनेछन् । नमूना सदरमुकाम निर्माणको गुरु योजना अनुसार करिब रु. १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ ।
नमूना सदरमुकाम निर्माणको काम केवल भवन निर्माणसँग मात्रै नजोडिएर ,यो जनतालाई एकै ठाउँबाट सहज रुपमा सेवा दिने विषयसँग समेत जोडिएको एमाले नेता एवं नमूना सदरमुकाम निर्माणका पहलकर्ता तिलक महतले बताउनुभयो । जिल्लामा रहने विभिन्न तहका दुई दर्जन बढि कार्यालय एकै ठाउँमा हुँदा सेवालीन आउने आम जनताले एकैठाउँबाट विभिन्न कार्यालयका सेवा लिन सक्ने हुँदा यसले जनतालाई थप सुविधा पुग्ने उहाँले बताउनुभयो ।
जिल्लामा हाल प्रदेश र संघका कार्यालय यत्रतत्र हुँदा एकै दिन दुई वा बढि कार्यालयबाट सेवा लिन परे यता उता गर्दा दिन विताउनुपर्ने अवस्था रहेको छ । भवनहरु भडाको घरमा हुँदा राज्यको धेरै बजेट भाडा तिर्दा खर्च समेत हुँदै आएको छ । नमूना सदरमुकाममा भवन निर्माण पश्चात सबै सेवा एकैठाउँबाट लिन सकिने छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |