२०८१ श्रावण १२, शनिबार
नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुर हालसम्म बसपार्क निर्माण हुन सकेको छैन । देशकै मध्यभागमा पर्ने र पूर्वपश्चिम राजमार्गले करिब ६५ किलोमिटर छुने यहाँ दैनिक सयौँ सवारी आवतजावत गर्छन् । स्थानीय तथा लामो दूरीका सवारी विभिन्न क्षेत्रबाट छुट्ने गर्दछन् । तर अझैसम्म जिल्लमा भने एउटा पनि बसपार्क निर्माण हुन सकेको छैन् ।
बसपार्क नहुँदा अव्यवस्थित पार्किङको समस्या निम्तिएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा बसपार्क नहुँदा झनै पार्किङको समस्या बढ्दो रहेको छ । वर्षेनी यातायातको सङ्ख्या बढ्दै गए पनि बसपार्कको व्यवस्था नहुँदा राजमार्ग छेउछाउमा अव्यवस्थित पार्किङको समस्या बढ्दो रहको छ । यो समस्या भित्री सडकहरूमा समेत देखिन थालेको छ ।
बसपार्क नहुँदा सडक छेउछाउमा हुने अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिमसमेत निम्ताएको छ । जिल्लामा राजमार्गसँग जोडिएका क्षेत्रहरू कावासोती सहित दलदले, चोरमारा, प्रगतिनगर, गैँडाकोटमा सवारीको चाप थप बढ्दो रहेको छ । सबै क्षेत्रमा अव्यवस्थित पार्किङको समस्या रहेकोछ । पालिकाले आवश्यकताका आधारमा साना, ठूला सवारीका लागि बसपार्कको अवधारणा बढाउनुपर्ने सरोकारवालाको भनाइ छ ।
“सबै क्षेत्रमा आवश्यकता पहिचान गरी ठूलो नभए पनि पार्किङ गर्न मिल्ने गरी बसपार्कको अवधारणा बढाउनुपर्छ, मुख्य बजार कावासोतीमा भने यसको अभाव खड्किन थालेको छ”, स्थानीय रुपेश गिरीले भने । कावासोती जिल्लाको केन्द्र भएकाले यहाँ तत्काल बसपार्क निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
पूर्वपश्चिम राजमार्गबाहेक जिल्लाको पहाडी क्षेत्र, पूर्वी पाल्पा, नवलपुरसँग जोडिएका तनहुँका केही क्षेत्रका बासिन्दासमेत नवलपुरको बाटो हुँदा आवतजावत गर्ने गर्दछन् । राजमार्गसँग जोडिएका विभिन्न बजारबाट त्यसतर्फ जिपहरू छुट्ने गर्दछन् । गिरीका अनुसार ती सवारी कहाँ राख्ने भन्ने चालकलाई चिन्ता भए जस्तै यात्रुलाई समेत कुन रुटका लागि कहाँ सवारी पाइन्छ भन्ने समस्यामा पर्ने गरेका छन् ।
उनले भने , “बिभिन्न भित्री गाउँमा जानेलाई सवारी कहाँ पाइन्छ भन्ने चिन्ता हुन्छ, राति अलि अबेर आए कहीँ सवारी भेटिँदैनन्, कमसेकम बसपार्क भए त सवारी हुन्छ, विकल्प हुन्छ ।” जिल्ला बसपार्कको आवश्यकता रहेको र यसका लागि पालिकाहरूले पहल गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालय नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरका सूचना अधिकारी लेखनाथ पुरीले बताए ।
पालिकासँगै सम्बन्धित यातायात व्यवसायीले यसको विषयमा पहल गर्नुपर्ने र बसपार्क भए राजमार्ग छेउमा हुने अव्यवस्थित पार्किङको समस्या हट्ने उनको भनाइ छ । जिल्लाको सदरमुकाम रहेको कावासोती नगरपालिकाले व्यवस्थित बसपार्क निर्माणको योजना बनाएको कावासोती नगरप्रमुख विष्णुप्रसाद भुसालले बताए ।
बसपार्कको आवश्यकता महसुस गरी कावासोती–१६, बसपार्क निर्माणको योजना रहेको उनले बताए । सहरी विकास तथा भवन निर्माण आयोजनाको सहकार्यमा बसपार्क निर्माणको काम अघि बढाउने तयारी गरिएको उनको भनाइ रहेको छ । “जिल्लामै बसपार्क छैन, त्यसमा पनि हामी सदरमुकामको पालिका, यहाँ बसपार्कको आवश्यकता छ, त्यही आवश्यकता महसुस गरी बसपार्क निर्माणको योजना बनाएका छौँ”, नगरप्रमुख भुसालले भने ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |