२०८१ श्रावण १२, शनिबार
नवलपुर । हुप्सेकोट –५, राम्चेका श्याम बहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले ४ महिना मात्रै खान पुग्थ्यो । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको पहाडी क्षेत्रमा उहाँको बसोबास छ । पहाडी क्षेत्रमा धान खेत खासै छैन । भएको खेतमा लगाएको धानले केही महिना मात्रै गर्जो टर्थ्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरि आम्दानी हुन थालेपछि , अहिले वर्षभरी चामल कहाँबाट ल्याउने भन्ने पिर उहाँलाई छैन् । अम्रिसो खेतीबाट आएको आम्दानीले चामल खरिद गरेर वर्षभरी खान पुग्ने भएको छ । ‘धान लगाउने खासै ठाउँ छैन्, सबै पाखै पाखो छ, लगाएको धानले बढिमा चार महिना चल्थ्यो, त्यसपछि अरु आम्दानी पनि नहुने , के खाने कसरी खाने भन्ने पिर हुन्थ्यो’ राईले भन्नुभयो– ‘तर जहिले देखि पहाडको पाखामा अम्रिसो खेती सुरु गरियो, अहिले त्यसबाट हुने आम्दानीले साँझ बिहान के पकाउने भन्ने पिर हुन छाड्यो, अम्रिसोबाट हुने आम्दानीले चामल किनेर राख्यो खायो।’
बुलिङटार –४, देउरालीका मीन बहादुर आलेको कथा फरक छैन् । ‘घरपरिवारको खर्च कसरी चलाउने भन्ने पिरले सताउँथ्यो, नियमित आम्दानी केही थिएन’ आलेले भन्नुभयो ‘अहिले त कम्तिमा अम्रिसो पाखामा फुले पछि पैसा आउने बेला भयो भन्ने हुन्छ।’
श्याम बहादुर राईले वार्षिक रुपमा करिब रु. ९५ हजार र मीन बहादुरले करिब रु. ६० हजार अम्रिसो बेचेर आम्दानी गर्ने गर्नुभएको छ । ‘पैसा कति भन्ने हुँदो रहेनछ, गर्जो कति टर्यो भन्नेले ठूलो अर्थ राख्ने रहेछ, कम्तिमा वर्षभरि खान पुग्ने चामल किन्ने खर्च ,यही पाखोमा फुलेको अम्रिसोले दिएको त छ’ आलेले भन्नुभयो ।
नवलपुरका पहाडी पाखा यतिबेला अम्रिसोले ढाकिएका छन् । पहाडका बासिन्दाको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको छ । केही वर्ष पहिले सम्म नाङ्गा पाखाका रुपमा रहेको पहाड अहिले आम्दानीको श्रोत बनेका छन् । पहाडी क्षेत्रको जिविकोपार्जनमा अम्रिसो बरदान जस्तै बनेको कबुलियती वन जिल्ला सुपरभाइजर तुल बहादुर रानाले बताउनुभयो । रानाका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरि यहाँ रहेका कबुलियती वनमा अम्रिसो खेती लगाउने गरिएको छ । जस अनुसार राम्चे क्षेत्रमा १९ वटा वन समूह रहेका छन् । यि वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी संख्या १ सय ९० रहेको छ । रुचाङ क्षेत्रका २५ वन समूहमा २२८ घरधुरी, बुलिङटार क्षेत्रका २५ समूहमा ३ सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा ३ सय २५ घरधुरी अम्रिसो खेतीमा आवद्ध रहेका छन् । चार क्षेत्रमा गरि एक हजार ६८ घरधुरी कबुलियती वनमा आवद्ध भएर अम्रिसो खेती गर्दै आएका छन् ।
सामूहिक रुपमा अम्रिसो खेती गर्ने र आएको रकम दामासाही रुपमा प्रतिघर बाँड्ने गरेको रानाले बताउनुभयो । अम्रिसोबाट भएको आम्दानी मध्य केही वन समूहमा राख्ने र समूहमा आवद्ध सदस्यलाई न्यून व्याज प्रतिशतमा विना धितो ६ महिना सम्म ऋण लगाउने गरिएको उहाँले बताउनुभयो । बैंक र वित्तिय संस्थाको पहुँच नभएका पहाडी क्षेत्रमा आफूले गरेको आम्दानीबाट बचत भएको रकम खाँचो पर्दा लिन सकिने हुँदा स्थानीयलाई थप राहत पुगेको रानाले बताउनुभयो । ‘आफ्नो आम्दानी त छदै छ, वन समूहमा भएको बचतले अप्ठ्यारो परिस्थितीमा खाँचो टार्न समेत सहयोग पुगेको छ’ सपरभाइजर रानाले भन्नुभयो ‘अहिले वन समूहले कम्तिमा ५० हजार देखी ४ लाख सम्म बचत गरेका छन् ।’
प्रत्यक वर्ष जेठ अन्तिम देखि असार १५ सम्म अम्रिसो लगाउने गरिन्छ । मंसिर देखि फागुन सम्म अम्रिसो काट्ने बेला हुने रानाले बताउनुभयो । नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको अम्रिसो व्यापारीहरुले खरिद गरि भारत ,बंगलादेश सम्म निर्यात गर्ने गरेको उहाँले बताउनुभयो । यस बाहेक स्थानीय बजार कावासोती, दलदले , नारायणगढ, बुटवलमा अम्रिसोको कुचो विक्रि हुने गरेको उहाँले बताउनुभयो ।
गत वर्ष पहाडी क्षेत्रमा रहेका कबुलियती वनमा लगाइएको अम्रिसोबाट १ सय ५२ दशमल ७१३ मेट्रिक टन अम्रिसोको कुचो उत्पादन भएको थियो । जसबाट गत वर्ष रु १ करोड ९८ लाख ५२ हजार आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिनुभयो ।
डिभिजन वनले वनमा आश्रित घरपरिवारलाई आयमुलक पेशामा जोड्नका लागि पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयले यसै वर्ष ५५ हजार वोट अम्रिसोको विरुवा पहाडी क्षेत्रमा बितरण गरि रोपिएको छ । यसले थप क्षेत्रफल बढ्ने र क्रमश अम्रिसोबाट हुने आम्दानी बढाउदै लैजाने सूचना अधिकारी गौतमले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |