२०८१ श्रावण १२, शनिबार
कावासोती । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् अनेमसंघ केन्द्रिय इन्चार्ज सीता पौडेलले मंसिर चारमा हुने निर्वाचन नेकपा एमाले र गठबन्धनको निर्वाचन नभई देशभक्त र राष्ट्र विरोधीहरू बीचको लडाइ हुने बताउनुभएको छ ।
शनिबार कावासोतीमा भएको अखिल नेपाल महिला संघ नवलपुरको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
गठबन्धन राष्ट्र विरोधी रहेको बताउँदै उहाँले भन्नुभयो – ‘अब हुने चुनाब पहिलेको जस्तो होइन , अहिलेको चुनाब त राष्ट्र विरोधी र देशभक्तिबीचको लडाइ हो । अहिलेको चुनाबमा नेकपा एमालेलाई जिताउनु भनेको राष्ट्रलाई बचाउनु हो । यदि एमालेले हार्यो भने देशले हार्छ , जनताले हार्छ , नेकपा एमालेले मात्रै हार्दैन । ’ अहिले राष्ट्रियताको मुद्दा निकै पेचिलो बनेर आएको हुँदा राष्ट्र जोगाउन र नेपाललाई सिक्कीमिकरण हुनबाट बचाउन आँउदो चुनाबमा एमालेलाई जिताउन अनेमसंघ लाग्न जरुरी रहेको उहाँले जोड दिनुभयो । अनेमसंघ भनेको बिना बर्दीको सिपाही रहेको भन्दै उहाँले सिपाहीलाई मैदानमा हार्ने छुट नरहेको जिकिर गर्नुभयो । उहाँले अनेमसंघ मैदानमा उत्रेर एमालेलाई जिताउन लाग्नुपर्ने बताउनुभयो । उहाँले जित्ने भन्दैमा जालझेल गरेर नभई बिचार र कामले जित्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज तिलक महतले मंसिर चार नेकपा एमालेको बहुमतको सरकार बनाउने अठोटका साथ एमालेका नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो । उहाँले मंसिर चार देश बनाउने र देश बिगार्ने बीचको लडाइ रहेको बताउनुभयो । उहाँले नेकपा एमालेले मात्रै देश जोगाउन सक्ने दावी गर्दै एमालेले जिते देशले जित्ने बताउनुभयो ।
उहाँले आँउदो निर्वाचनलाई लक्षित गर्दै नवलपुरमा एमालेले महिलालाई आरक्षणमा मात्रै सिमित नराख्ने बताउनुभयो । उहाँले चुनाबमा टिकट जसले पाएपनि मान्छे रोज्ने काम नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘पार्टीले जोलाई टिकट देला अहिले मान्छे रोज्ने होइन , एमाले रोज्ने हो , विभिन्न गुनासो भएपनि त्यसलाई चुनाबका बेला सबै बिर्सेर एमाले बनाउन लाग्नुपर्छ , नवलपुरमा एमालेलाई हार्न दिनु हुँदैन ।’
यस्तै कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवम् अनेमसंघ प्रदेश इन्चार्ज टुकाभद्र हमालले महिलालाई अवसरबाट बञ्चित गराउने काम नगर्न आग्रह गर्नुभयो । उहाँले महिलाले गरेका योगदान बिर्सेर पार्टी अघि बढ्न नहुने बताउनुभयो । उहाँले महिलाहरू पनि आफू आबद्ध रहेका विभिन्न कमिटीहरूको विधि पद्धति र अनुशासनमा बसेर काम गर्न आग्रह गर्नुभयो । अवसर पाइएन भन्ने तर पाउँदा अवसरको सही सदुपयोग नगर्ने परिपाटी रहेको भन्दै उहाँले महिलाहरू पनि पुरुष सरह पार्टीका हरेक गतिविधीमा सामेल र सक्रिय हुन जरुरी रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै केन्द्रिय लेखा आयोग सदस्य पदमा जिशी श्रेष्ठले महिलाले आफ्नो क्षमतालाई बढाउन आवश्यक रहेको बताउनुभयो । अहिले महिलाहरू उपप्रमुखमा मात्रै सीमित हुन पुगेको जिकिर गर्दै महिलाहरुको पद उप नै महिलाको पद हो कि भन्ने कुरा समेत चर्चामा आउन लागेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘महिलाहरु सबैभन्दा पहिला आफ्नो क्षमतालाई बढाउन जरुरी छ । जबसम्म हामि क्षमतालाई बढाउन सक्दैनौ , जबसम्म हामि अध्ययन गर्दैनौ , जबसम्म पार्टीको बिचार र सिद्धान्तहरु जनताको बिचमा गएर बोल्न सक्दौनौ , प्रक्षिपक्ष महिलाहरुसंग टेबेलटक गर्न सक्दैनौ तबसम्म हामि पछि पर्छौ , तसर्थ हामिले हाम्रो क्षमता विकास गर्न जरुरी छ । ’
कार्यक्रममा गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य रोशन बहादुर गाहा , प्रदेश कमिटी सदस्य सीता खड्का , जिल्ला इन्चार्ज सीता पंगेनी , जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा प्रदेश कमिटी सदस्य बालु पुरी , ब्रिन्दा गैरे , कावासोती नगर कमिटी अध्यक्ष रामकृष्ण ढुङाना लगायतको आतिथ्यता रहेको थियो ।
अनेमसंघले नजिकिदै गरेको निर्वाचनलाई लक्षित गर्दै बिस्तारित बैठक र प्रशिक्षण कार्यक्रमको आयोजना गरेको अनेमसंघ जिल्ला कमिटी अध्यक्ष लिला थनेतले बताउनुभयो । आँउदो निर्वाचनमा महिलाको सहभागिता सुनिश्चित गर्न , पार्टीलाई जिताउनका लागि विभिन्न रणनीति निर्माण गर्न कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
निर्वाचन लक्षित गर्दै अनेमसंघ अध्यक्ष थनेतको संयोजकत्वमा ९०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ भने , सहसंयोजक लिला भण्डारीको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार कमिटी समेत गठन गरेको छ ।
जिल्ला अध्यक्ष लिला थनेको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक लिला भण्डारीले स्वागत र सचिव कोपिला पौडेलले सहजीकरण गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |