२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. आठले सेवाग्राहीमैत्री कार्यलाई अगाडि बढाएको छ ।
स्थानीय तह निर्वाचनपछि आएका नयाँ जनप्रतिनिधिहरूले जनतालाई छिटो छरितो र सर्वसुलभ सेवा उपलब्ध गराउनुपर्छ भन्ने उद्देश्य अनुरूप वडा कार्यालयमा निःशुल्क निवेदन र फोटोकपी सेवा उपलब्ध गराएपछि सेवाग्राही पनि खुसी छन् । वडा कार्यालयमा निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाले लगत्तै निशुल्क निवेदन र फोटोकपी सेवा सुरुवात गरेको थियो ।
कार्यालयमा आउनुभएकी सेवाग्राही सीता काफ्लेले वडाबाट पाएको सुविधाले फाइदा पुगेको बताउनुभयो । ‘वडामा धेरै कामले बारम्बार आउनुपर्छ आज पनि घरको कामले आएको हो तीन वटा फोटोकपी गर्नुपर्यो बाहिर गर्दा २० रुपैयाँ प्रतिकपी लाग्छ , त्यो पैसा जोगियो , सजिलो पनि भयो । ’ काफ्लेले भन्नुभयो ।
अर्का सेवाग्राही अम्मर बहादुर थापा पनि वडाको सेवा प्रति खुसी हुनुहुन्छ । ‘वडाबाट धेरै कागजात बनाउनुपर्ने हुन्छ , निवेदन लेख्नुपर्छ , फोटोकपी गर्नुपर्छ , बाहिर लेख्दा सय पचास खर्च हुन्छ, समय लाग्छ , तर वडा भित्रबाट निशुल्क रुपमा सेवा पाएपछि खर्च पनि बच्यो सहज भयो । ’ थापाले भन्नुभयो ।
फोटोकपी सेवालाई नीतिगत रूपमै सुरु गर्ने काम एक हप्ताअघि बाट भएको छ । वडा अध्यक्ष भीम बहादुर रिमाल ( गोकर्ण ) का अनुसार गत वर्ष खर्च हुन नसकेको भैपरी आउने बजेट मार्फत फोटोकपी मेसिन खरीद गरिएको छ । वडा कार्यकालमा चलनचल्तीमा अत्याधिक रुपमा प्रयोग हुने निवेदनहरू कम्प्युटरमा सेफ गरेर राख्न लगाएको र सेवाग्राहीलाई जुनजुन आवश्यक पर्छ त्यो उपलब्ध गराउने गरिएको अध्यक्ष रिमालले जानकारी दिनुभयो । ‘त्यस्ता निवेदनहरू सेवाग्राही आफैँले भर्नुहुन्छ । नसकेमा जनप्रतिनिधिहरूले भर्न सहयोग गर्छौँ । ’ अध्यक्ष रिमालले भन्नुभयो । सानै भएपनि पहिला राम्रो कामको सुरुआत गर्नुपर्छ भन्ने सोचेर वडाबाट यो सेवा प्रदान गरिएको रिमालले बताउनुभयो । ‘हेर्दा सानो देखिए पनि टट्कारो रुपमा रहेको निवेदन र फोटोकपीको कामबाट सेवाग्राहीलाई सर्वसुलभ रुपमा छिटोछरितो सेवा दिन मदत गर्ने भएकाले हामिले यो काम सुरु गरेका हौँ । ’ अध्यक्ष रिमालले भन्नुभयो ।
सेवाका लागि कार्यालयमा रहेका कर्मचारीले समन्वय गर्दै आउनुभएको छ । चाप बढि भएको बेलामा जनप्रतिनिधि आफैँले सेवा दिनुहुन्छ । वडा अध्यक्षसँगै अन्य चार जना वडा सदस्यहरू सेवामा खटिने गर्नुभएको छ ।
कार्यालयमा शुक्रबार १५ देखि २० जना र अन्य समयमा ३५ देखि ४० जना सेवाग्राहीले सेवा लिदै आउनुभएको अध्यक्ष रिमालको भनाई छ ।
अध्यक्ष रिमालले उपलब्ध सेवाका लागि लाग्ने खर्च व्यवस्थापन गर्न जनप्रतिनिधिले गर्ने ससाना खर्चहरू रोक्ने , खाजा खाने लगायतका खर्च जनप्रतिनिधि आफैँले गर्ने , कार्यालयको चालु खर्चतर्फ रोक्न सकिने ससाना खर्चलाई रोकेर सेवाका लागि उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । यस वर्ष केकति खर्च आउँछ त्यसको रेकर्ड राखेर अर्को वर्षमा सकिन्छ ? सकिन्न ? भन्ने कुरा निश्चित गरेपछि निरन्तरता दिने उहाँले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |