२०८० मंसिर १४, बिहिबार
कावासोती । वैदेशिक रोजगारीका क्रममा अलपत्रमा पर्नुभएका डिलबहादुर बिक नेपाल फर्कन सफल हुनुभएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका १० निवासी ४५ वर्षका बिक विगत एक वर्षदेखि दुवईमा अलपत्र अवस्थामा रहनुभएको थियो । कोभिड सङ्क्रमणका कारण आफू गएको कम्पनी बन्द भएपछि काम गर्न नपाएका कारण विदेशमा धेरै दुःख कष्ट सहनुपरेको उहाँले बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा १० वर्ष बिताउनुभयो । बिचमा एक पटक घर आएपछि उहाँ पछिल्लो पटक वैदेशिक रोजगारीमा गएको पाँच वर्ष भएको थियो । तर , विगत एक वर्षबाट काम विहीन भएपछि उहाँ सहित अन्य नेपालीहरूले समेत धेरै दुःख कष्ट गरेर जिउन परेको दुःख पोख्नुभयो । घरमा पैसा पठाउन त पाउनुभएन आफूलाई खान बस्न समेत निकै समस्या भएको उहाँले बताउनुभयो । कम्पनीसँग पटक पटक कुरा राख्दा पनि नसुन्ने , झैझगडा नै परेर आन्दोलन समेत गर्दा पनि कुनै सुनवाई नभएपछि आफूले बाध्य भएर घरमा श्रीमतीसंग नेपाल झिकाउनका लागि सहयोग गर्न आग्रह गरेको उहाँले बताउनुभयो । डिलबहादुरका श्रीमती र १० वर्षको एक छोरा छन् । घरमा कमाउने उहाँ एक्लै हो । एक वर्षदेखि काम बन्द भएर आफूलाई खान बस्न समेत समस्या भएकोले घरमा पैसा पठाउन नपाउँदा घरखर्च धान्न र छोराको पढाई खर्च पु¥याउन समेत धौ धौ परेको थियो । घरबाट पैसा पठाएर नेपाल झिकाउन नसक्ने अवस्था भएपछि उहाँकी श्रीमती मोनिका बिकले आप्रवासी कामदार हकहित संरक्षण मञ्चसँग सहयोगको लागि आग्रह गर्नुभयो । मञ्चले सुरक्षित आप्रवासन श्रोत केन्द्रसँग समन्वय ग¥यो । त्यसमा अरुणखोला सामाजिक सेवा समितिले पनि सहकार्य गरेपछि डिलबहादुर नेपाल आउन सफल हुनुभएको हो ।
बुधबार मध्यविन्दु नगरपालिका १० अरुणखोलामा डिलबहादुर बिक र सरोकारवालासँग अन्तरकृया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा डिकबहादुरलाई नेपाल झिकाउनका लागि भएका प्रयासका बारेमा जानकारी गराइएको थियो । भने , सहभागीहरूले समेत आफ्ना कुराहरू राखेका थिए । आर्थिक अवस्था कमजोर भएका कारण डिकबहादुरलाई नेपाल झिकाउन अरुणखोला सेवा समिति र आप्रवासी कामदार हकहित संरक्षण मञ्चले रकम संकलन अभियान सञ्चलन गरेको थियो ।
कार्यक्रममा आप्रवासी कामदार हकहित संरक्षण मञ्चकी कोषाध्यक्ष कल्पना श्रेष्ठ क्षेत्रीले नगरपालिका , वडा तथा अरुणखोला बासि र विदेशबाट समेत उहाँलाई रकम सहयोग गर्नुभएको जानकारी दिनुभयो । उहाँले ६३ हजार २०५ रुपैयाँ रकम संकलन भएको र डिल बहादुरलाई झिकाउनका लागि आउट पास गर्दा १५ हजार ६ सय रुपैयाँ र प्लेन टिकट २७ हजार लागेको जानकारी दिनुभयो । यस्तै तत्काल घरमा खानका लागि अन्न समेत नभएको कुरा आएपछि १५ सय ९० रुपैयाँको रासन खरीद गरेर दिएको बताउनुभयो । सकंलन भएकोमध्ये डिल बहादुरका लागि कूल ४४ हजार एक सय ९० रुपैयाँ खर्च भएको र १९ हजार १५ रुपैयाँ बाँकी रहेको जानकारी दिनुभयो । विदेशमा डिलबहादुरले खानबस्नका लागि भएको खर्च नवराज पाठकले तिर्नुभएको उहाँले बताउनुभयो ।
संकलन गरेको मध्ये बाँकी रहेको १९ हजार १५ रुपैयाँ रकम सबै पक्षसँगको छलफलपछि अरुणखोला सेवा समितिलाई दिने सहमति भएको उहाँले बताउनुभयो । कार्यक्रममा उक्त रकम अरुणखोला सेवा समितिका प्रतिनिधिलाई हस्तान्तरण समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै सुरक्षित आप्रवासन श्रोत केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले डिकबहादुरलाई नेपाल ल्याउने सन्दर्भमा सुरक्षित आप्रवासन श्रोत केन्द्रले सम्बन्धित पक्षसंग समन्वय गरेको बताउनुभयो । श्रोत केन्द्रमा डिलबहादुरको घटना आएपछि सहकार्य गर्ने संस्था प्रवासी नेपाली समन्वय समितिलाई जानकारी गराएको र उसले दुवइ स्थित नेपाली दुतावाससंग समन्वय गरेर बिकलाई नेपाल भिकाउन आवश्यक प्र्रकृया अघि बढाएको उहाँले जानकारी दिनुभयो । उताबाट आउटपास बनेपछि नेपालमा रकम संकलन अभियान सञ्चालन गरिएकोे बताउनुभयो । श्रोतकेन्द्र आफैँले आर्थिक सहयोग गर्न नसक्ने भएको हुँदा आप्रवासी कामदार हकहित संरक्षण मञ्च र अरुणखोला सामाजिक सेवा समितिले अभियान चलाएर रकम संकलन गरेको उहाँले बताउनुभयो । उहाँले यस्तो केशमा यदि आर्थिक अवस्था राम्रो भएको खण्डमा परिवारले नै पैसा पठाएर झिकाउन सक्ने बताउनुभयो । तर कतिपय आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग संकलन गर्नुपर्ने अवस्था आउने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने धेरै नेपालीहरूले समस्या झेल्नुपरेका घटनाहरु श्रोत केन्द्रमा आउने गरेको बताउँदै यस्त समस्यालाई न्यूनिकरण गर्न सचेतनाका काम गर्न आवश्यक रहेको औल्याउनुभयो ।
कार्यक्रममा पीडित डिलबहादुरकी श्रमती मोनिका बिकले पनि आफ्ना कुरा राख्दै आफ्नो श्रीमानलाई नेपाल ल्याउनका लागि कहाँबाट कसरी सहयोग पाइन्छ भनेर हारगुहार गरेको बताउनुभयो । धेरैसंग हारगुहार गर्दा कतिपयले सहयोग गरेको त कतिपयले व्यङग्य समेत गरेर थप पीडा दिने काम गरेको दुःख पोख्नुभयो । आप्रवासी कामदार हकहित संरक्षण मञ्चकी कल्पना श्रेष्ठसंग भेट भएपछि भने श्रीमानलाई नेपाल ल्याउन सकिन्छ भन्ने आस जागेको उहाँले सुनाउनुभयो । सबैको साथ र सहयोगले श्रीमान नेपाल ल्याउन सफल भएकोमा उहाँले सहयोग गर्ने सबैमा धन्ववाद प्रकट गर्नुभयो ।
कार्यक्रममा बोल्दै मध्यविन्दु १० का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी रणबहादुर थापा क्षेत्रीले डिकबहादुरलाई नेपाल ल्याउने सन्दर्भमा आफूले समनवय र सहकार्य गर्ने काम गरेको बताउनुभयो । उहाँले नगरपालिकामा समेत वडाबाट सिफारिस गरेपछि सहयोग भएको बताउनुभयो । उहाँले आफू जनप्रतिनीधि भएको नाताले आफ्ना नागरिकको सुखदुःखमा सदैव साथ सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले संकलन भएको रकममध्ये बचत भएको रहम सामाजिक संस्थामा दिएकाले त्यसप्रति कुनै दुःख नमान्न आग्रह गर्नुभयो । आफ्नो नाममा उठेको पैसा अन्यत्र गयो भन्ने सोँच नराख्न आग्रह गर्नुभयो । उहाँले यस्ता घटनाहरु भोलीका दिनमा समते आउन सक्ने भएको हुँदा सामाजिक संस्थामा रकम संकलन भएमा भोली अन्य कसैलाई दुःख पर्दा पनि सहयोग गर्न सकिने धारणा राख्नुभयो ।
आप्रवासी कामदार हकहित संरक्षण मञ्चका अध्यक्ष युवलाल तिवारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा आप्रवासी कामदार हकहित संरक्षण मञ्चकी सचिव टिका काफ्लेले सहजीकरण गर्नुभएको थियो भने , अरुणखोला सेवा समितिका दूर्गालक्ष्मी काफ्लेले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु , विभिन्न सामाजिक संघसंस्थाका प्रतिनीधि तथा समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |