२०८१ श्रावण १२, शनिबार
कावासोती । संघीय निजामती सेवा ऐन तुरुन्त जारी गर्नुपर्ने माग राख्दै नवलपुरका क्रियाशील कर्मचारी सङ्गठनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
सोमबार नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै आफ्ना मागहरू तुरुन्तै सम्बोधन गर्न आग्रह गरेका हुन् ।
नेपाल निजामती कर्मचारी सङ्गठनका तर्फबाट जिल्ला अध्यक्ष कमल प्रसाद पोख्रेल र नेपाल निजामती कर्मचारी युनियनको तर्फबाट अध्यक्ष शिव सुवेदीले संयुक्त रुपमा प्रजिअ घिमिरे मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गर्नुभएको हो । ज्ञापन पत्रमा संघीय संसद्को चालू अधिवेशनबाट यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकार समक्ष जोडदार माग गरिएको छ । साथै यस चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी नभएमा सङ्घर्षका थप कार्यक्रमहरूलाई अघि बढाइने चेतावनी समेत दिइएको छ ।
ज्ञापन पत्रमा लेखिएको छ । ‘देश सङ्घीय राज्य व्यवस्थामा गएको लामो समयसम्म पनि सङ्घीय शासन प्रणालीको कार्यान्वयनको लागि संघ, प्रदेश तथा स्थानीय तहको कर्मचारी प्रशासन व्यवस्थापन एवं मार्ग दर्शन गर्ने छाता कानूनको रुपमा रहेको सङ्घीय निजामती सेवा ऐन जारी नहुदाँ मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भुमरीमा परेको छ । सार्वजनिक सेवा प्रवाहको प्रमुख माध्यमको रुपमा रहेको देशको निजामती सेवालाई व्यवस्थापन गर्ने विषय सरकारको प्राथमिकतामा नपर्नु गम्भीर चिन्ताको विषय हो । यस विषयमा राष्ट्रियस्तरका ट्रेड युनियनले नेपाल सरकार र सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउँदैँ आएका छौं । समग्र कर्मचारीको साझा हित र निजामती प्रशासनको मार्गदर्शनको रुपमा रहेको ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोले यस्ता विषयमा सम्बन्धित पक्षहरुसँग सघन छलफलको आवश्यकता रहेको छ । सो कार्यलाई मनन गर्दै नेपाल सरकारले सरोकारवाला पक्षहरूको सहमतिमा निजामती प्रशासनलाई संघीय शासन अनुरूपको ढाँचामा व्यवस्थित गरी जनताको सेवा प्रवाहलाई चुस्त दुरुस्त, प्रभावकारी, पारदर्शी एवं नागरिक मैत्री गराउने कार्यमा सहयोग पुग्ने गरी ऐन जारी गर्न राष्ट्रियस्तरका टे«ड युनियनबाट विभिन्न मिति तथा समयमा पेश भएका यसै साथ संलग्न सुझावहरूलाई समेटी संघीय संसद्को चालू अधिवेशनबाट यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ । साथै यस चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी नभएमा सङ्घर्षका थप कार्यक्रमहरूलाई अघि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौँ । ’
राष्ट्रियस्तरका ट्रेड युनियनले सोमबार नवलपुर सहित देशैभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |