२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी पूर्व नवलपुरको कावासोती नगरपालिकाले उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ। नगरपालिका भित्र रहेर कृषि व्यवसाय गर्दै आएका १३ जना कृषकलाई बिहीबार पुरस्कृत गरिएको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले बताउनुभयो ।
ठूला, मझौला र साना कृषि तथा पशुपालन व्यवसाय गर्ने कृषकलाई छनौट गरि पुरस्कृत गरिएको उहाँले बताउनुभयो । सम्मानका लागि ३२ वटा कृषक फर्मले निवेदन पेश गरेकोमा १३ जनालाई छनौट गरि सम्मान तथा पुरस्कृत गरिएको डा. पौडेलले बताउनुभयो ।
ठूला कृषक तर्फ मिलिजुली भैंसी पालन फर्मका मिना कुमारी गुरुङ , केसी कृषि तथा पशुपालन फर्मका विष्णु कुमारी थापा, लम्साल कृषि तथा पशुपन्छी फर्मका माधव लम्साल , गोसाइनाथ एग्री फर्मका लक्ष्मी भट्टराई , नेचुरल मौरी पालन कृषि फर्मका चण्डीका प्रसाद लामिछाने र चारपाते कृषक समूह तथा तरकारी खेतीका झगनारायण महतो सम्मानित तथा पुरस्कृत हुनुभएको हो ।
मझौला तर्फ अर्जला कृषि तथा पशुपन्छी फर्मका सञ्चालक मिरा पन्थी , गुरुङ एकीकृत कृषि फार्मका विचा गुरुङ , गौरादेबी नवीन कृषि तथा पशु फर्मका सरस्वती पाण्डे र हाम्रो पशु तथा कृषि फर्मका राम प्रसाद सुवेदी सम्मानित हुनुभएको हो ।
यसैगरी साना कृषक तर्फ रेखा पशुपन्छी फर्मका रेखा अर्याल , आचार्य कृषि तथा पशु फर्मका भगवती कुमारी आचार्य र सहबी कृषि तथा पशुपालन फर्मका यशोदा भुसाल सम्मानित हुनुभएको हो ।
ठूला कृषि फर्मका कृषकलाई रू.१० हजार, मझौलालाई रु. ७ हजार र सानालाई रु.४ हजार नगद सहित सम्मान तथा पुरस्कृत गरिएको शाखा प्रमुख डा. पौडेलले बताउनुभयो ।
कृषकहरू लाई कृषि पेशामा लाग्न उत्प्रेरित गर्ने उद्देश्यले सम्मान तथा पुरस्कृत गरिएको कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । कावासोती कृषि उत्पादनको सम्भावना भएको नगर भएकाले यसको विकासमा नगरले लगानी गर्ने उहाँले बताउनुभयो । पशुपालन किसानलाई दूधमा अनुदान दिदै आएको बताउँदै आगामी आर्थिक वर्षबाट अनुदानमा केही थप गर्न लागिएको समेत उहाँले बताउनुभयो ।
नगरपालिकाले हाल दुधमा प्रति लिटर रु. १.२५ अनुदान दिदै आएको छ । आगामी आवबाट २५ पैसा थप गरि प्रति लिटर रु.१.५० पैसा अनुदान दिने तयारी गरिएको छ।
पुरस्कार वितरण तथा सम्मान कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङको अध्यक्षता नगर प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यता ,वडा सदस्य ऋषिराम बस्ताकोटी, पूर्व कृषक ,एमाले नेता रामकृष्ण ढुङ्गाना, अमलटारी मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष केदार घिमिरे, नगरपालिकाका कानुनी सल्लाहकार राम बहादुर भुजेल ,विभिन्न फर्मका कृषक लगायतको सहभागितामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |