२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोती १ र देवचुली १५ मा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि जग्गा प्राप्ति गर्न नापी शुरु गरिएको छ । लोकाहा क्षेत्रमा प्रादेशिक औद्योगिक क्षेत्र निर्माण गर्ने योजना अनुसार अहिले पहिलो चरणमा क्षेत्रफल निर्धारण र औद्योगिक क्षेत्रका लागि जग्गा नापी शुरु गरिएको हो । लोकाहा क्षेत्रमा करिब १ सय ८० बिघा जग्गा रहेको र यो जग्गा औद्योगिक क्षेत्रको लागि छुट्याउन अहिले नापीको काम चलिरहेको नापी कार्यालय नवलपुरका नापी अधिकृत धरमेन्द्र श्रेष्ठले बताउनुभयो ।
अहिले यस क्षेत्रमा ८ जना कर्मचारी खटिएर जग्गाको नापी गरिरहेको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रका लागि भनिएको जग्गाको श्रेष्ता, फिल्डबुक नक्सा र पुर्जा तयार गरि नेपाल सरकारको नाममा ल्याउने गरि काम चलिरहेको नापी अधिकृत श्रेष्ठले बताउनुभयो । ‘अहिले नेपाल सरकारको नाममा जग्गा प्राप्तीका लागि नापीको काम चलिरहेको छ, करिब २ हप्तामा नापीको काम सक्छौँ’ नापी अधिकृत श्रेष्ठले भन्नुभयो ।
सोमबार सांसद तिलक महतले लोकाहामा भईरहेको नापि कार्यको अवलोकन गर्दै प्रगतिको बारेमा जानकारी लिनुभएको छ ।
गण्डकी प्रदेशकै तराईको जिल्लाका रुपमा रहेको नवलपुरमा अहिले पनि उल्लेख्य राजश्व संकलन हुने गरेकोले यसलाई थप व्यवस्थित बनाउन, औधोगिक जिल्लाका रुपमा विकास गर्न पृथ्वि सुब्बा गुरुङ मुख्यमन्त्री रहदाँ औद्योगिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरे अनुसार काम अघि बढेको सांसद तिलक महतले बताउनुभयो ।
गण्डकी प्रदेशको प्रादेशिक औद्योगिक क्षेत्रका रुपमा यसलाई अगाडि बढाउदै जाँदा जिल्लामा रोजगार , उद्यमशीलता थप बढ्ने सांसद महतले बताउनुभयो । उद्योग स्थापनाको वातावरण बनाउन समेत यस योजनाले सहयोग पुग्ने र ठूला उद्योगहरू समेत आउने हुँदा समग्र अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो । ‘देशको मध्यभाग, पूर्व पश्चिम राजमार्गसँग जोडिएको ,भारतीय सीमामा नजिक रहेकाले यहाँ थप ठूला उद्योग आकर्षित छन्, औद्योगिक क्षेत्र स्थापनाले झनै उद्योग स्थापनालाई सहज बनाउनेछ’ सांसद महतले भन्नुभयो – यसले नवलपुर मात्रै नभई, गण्डकी प्रदेश र समग्र देशको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुर्याउने छ ।
जग्गा नापीको काम सम्पन्न भएपछि यसको डिपिआर तयार सहित थप कार्यहरू अगाडि बढ्ने उहाँले बताउनुभयो ।
उद्योग, पर्यटन र कृषि नवलपुरको विकासका प्रमुख आधार भएकाले यसमा केन्द्रित गरि योजना बनाउनुपर्ने सांसद मतहले बताउनुभयो । यहाँको भौगोलिक बनावट, सिमा नाकासँग जोडिएको जिल्ला, देशकै मध्यभागमा पर्ने भएकाले यि तिन विषयलाई केन्द्रित गरि काम गर्नुपर्ने सांसद महतले बताउनुभयो । लोकाहामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि हालै मात्र गण्डकी प्रदेश सरकारले बजेट समेत विनियोजन गरेको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |