२०८० मंसिर १६, शनिबार
कावासोती । कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालले शिक्षाको क्षेत्रमा धेरै पछाडि परेका कारण हाम्रो समुदायमा हिंसा न्यूनिकरण गर्न गाह्रो भएको बताउनुभएको छ ।
मंगलबार कावासोती नगरपालिकामा भएको स्थानीय तहमा लैगिंक हिंसा न्यूनिकरणका लागि बनेको सञ्जाललाई सबलीकरण गर्न अन्तरकृया कार्यक्रममा बोल्दै नगर प्रमुख भुसालले सो कुरा बताउनुभएको हो । उहाँले हिंसा अन्त्यका लागि सचेतना र शिक्षा नै आवश्यक रहेको बताउनुभयो । हिंसा महिलामाथि मात्रै नभइ जातीय हिंसा , वर्गीय हिंसा , नजरले गर्ने हिंसा ,शब्दले गरिने हिंसा अनेक प्रकारका हिंसा समाजमा व्याप्त रहेको भन्दै उहाँले यस्ता हिंसा न्यूनिकरण गर्न आफूबाटै सुरु गर्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले आफू भर्खर मात्रै नगर प्रमुख भएर आएका कारण नगरभित्र रहेका धेरै विषयवस्तुलाई यथार्थमा बुझ्न बाँकी रहेकाले, त्यस्ता विषलाई अध्ययन गरेर समाधानका लागि नगरबाट केकस्ता पहल गर्न सकिन्छ ? केकस्ता नीति नियम बनाउन सकिन्छ त्यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा अधिकारकर्मी दीपक शर्माले हिंसाको अवस्था कस्तो छ ? सञ्जाल निर्माणको आवश्यकता र संरक्षण किन आवश्यक छ भन्ने बारेमा प्रस्तुती राख्नुभएको थियो । उहाँले तथ्याङ्कगत रुपमा पुरुष भन्दा महिलामाथि नै बढी हिंसा हुने गरेको पाइएको बताउनुभयो । पछिल्लो समय केही पुरुषमाथि भएका हिंसालाई बढी प्रचार गर्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो । समय अनुसार महिलाहरू सचेत भएर, जागरुक भएर हिंसालाई बाहिर ल्याउने क्रम बढ्नु र महिलाहरू पनि स्वतन्त्र भएर हिड्न थाल्नु पितृसत्तात्मक समाजलाई पचाउन गाह्रो भएकाले पछिल्लो समय महिलाभन्दा बढी पुरुष हिंसामा पर्न थाले भन्ने जस्ता अफवाह फैलाइएको उहाँले बताउनुभयो । तर तथ्यमा भने महिला नै अझैपनि बढी हिंसामा परेको पाइएको उहाँको भनाई छ ।
यस्तै उहाँले कुनै पनि हिंसामा परेका पीडितलाई न्याय दिलाउनका लागि सञ्जालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । न्यायका लागि लड्दा एक्लै लड्नु र समूह भएर लड्नुमा फरक पर्ने बताउनुभयो । समूहले लड्दा न्याय पाउन सहज हुने उहाँले बताउनुभयो । त्यसैले सञ्जाल गठन गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।
कार्यक्रममा सहभागि भएका सरोकारवालाहरूले पनि सञ्जालको आवश्यकता रहेको बताउँदै सञ्जाल गठन गर्दा क्रियाशील , काम गर्न सक्ने र सबै क्षेत्रलाई समेटेर गठन गर्न सुझाव दिनुभएको थियो ।
समता बचत तथा ऋण सहकारी संस्था कावासोती १० को आयोजना तथा कारितास नेपालको सहयोगमा भएको कार्यक्रममा सहकारीका अध्यक्ष हिरा बस्यालको अध्यक्षता तथा कावासोती नगर प्रमुख भुसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा उपप्रमुख फूलकुमारी थनेत , कावासोती नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशिला तिमिल्सीना , रीता रिजाल लगायतको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |