२०८१ श्रावण १२, शनिबार
कावासोती । स्थानीय तहको निर्वाचनका कारण राष्ट्रिय कृषि गणना कार्यक्रम प्रभावित नहुने कृषि गणना कार्यालय नवलपरासी पूर्वका प्रमुख रेणु कुमारी घिमिरेले जानकारी दिनुभएको छ ।
सोमबार कावासोतीमा आयोजना गरिएको जिल्ला स्तरीय कृषिगणना सचेतना गोष्ठीमा उहाँले सो कुरा जानकारी गराउनुभएको हो । केन्द्रिय तथ्याङ्क विभागले १०/१० वर्षको अन्तरालमा गर्ने कृषि गणना कार्यक्रम अहिले स्थानीय तहको मुखैमा आएर हुन लागेका कारण प्रभावित हुन्छ कि भन्ने सरोकारवालाको जिज्ञासामा उहाँले निर्वाचन आयोगसँग अनुमति लिएर कृषि गणनाको कार्यलाई अघि बढाएकाले प्रभावित नहुने बताउनुभयो । निर्वाचनको समयमा मौन अवधि सुरु भएपछि र निर्वाचन सम्पन्न नहुँदासम्म एक हप्ताको समय गायकहरू घरदैलो कार्यमा नजाने गरेर गणना कार्य गर्ने उहाँले बताउनुभयो । निर्वाचनका बेलमा घरघर जाँदा गणकबाट निर्वाचन सम्बन्ध कुनै पनि गतिविधि नगर्न निर्देशन गरिने र सोही अनुसार तालिममा प्रतिबद्धता गराइने भएकाले कृषि गणनामा निर्वाचनको कुनै पनि गतिविधि नहुने उहाँले बताउनुभयो ।
कृषि गणना राजपत्रमा नै लेखिएको हुँदा यसलाई निश्चित समयमा गर्नै पर्ने भएकाले अहिले सुरु गर्न थालिएको उहाँले बताउनुभयो । पुष महिनाबाट सुरु गर्नुपर्ने भएपनि जनगणना कार्य नै कोभिडका कारण प्रभावित हुँदा कृषि गणना कार्य पनि केही महिना पछि सरेको उहाँले जानकारी दिनुभयो । जनगणनामा कृषक घरधुरी कति छन् भन्ने तथ्याङ्ग आउने र सोही आधार मानेर गणना क्षेत्र कायम गरिने र गणकलाई सोही आधारमा खटाइने भएकाले जनगणना ढिलो हुँदा कृषि गणना पनि ढिलो हुन पुगेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सम्बन्धित सरोकारवालाहरूले कृषि गणना क्षेत्र कसरी छुट्याइयो ? आफ्नै जग्गा नभएका कृषकको सवाल , पछिल्ल्लो समय घरका सबै परिवारले जागिर खाने तर घरको छतमा समेत २० भन्दा बढी हाँस कुखुरा पाल्ने प्रचलन रहेकाले त्यस्ता परिवारलाई कृषक कसरी भन्ने , कृषि गणनाले कृषकलाई सुविधा के हुन्छ , कृषक सूचीकरण , कृषकको वर्गीकरण , गरीब घर पहिचान जस्ता गणना कार्यमा समेत कृषिका कुरा समेटेर प्रश्नहरू राखेको पाइएकाले बारम्बार एउटै प्रश्न लिएर घरदैलो जादा नागरिकमा दिग्दारीपन हुन्छ की ? लगायतका प्रश्नहरू राख्नुभएको थियो । जसको जवाफ दिदै , कार्यालय प्रमुख घिमिरेले अहिलेको कृषि गणना १० वर्षको अन्तरालमा हुन लागेको र यो कृषि क्षेत्रको नीति निर्माण , योजना तर्जुमा , कार्यान्वयन , अनुगमन तथा मुल्याङ्कनका लागि देशलाई आवश्यक पर्ने आधारभूत तथ्याङ्कहरू प्राप्त गर्ने उद्देश्यले कृषि गणना गरिने भएकाले कृषि गणनालाई सकारात्मक रुपमा लिन उहाँले अनुरोध गर्नुभयो । कृषि गणनामा कृषि पेशा मात्रै अंगालेका घरधुरी गणना गर्ने भन्ने नभई कृषि कार्य गरेका घरधुरीको गणना गरिने , जसबाट हाम्रो पालिकामा , जिल्लामा , प्रदेशमा र राष्ट्रमा कृषकले चलन गरेको जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेको क्षेत्रफल र बालीको उत्पादन, सिंचाई, पशुपन्छी संख्या, कृषि औजारको उपयोग, कृषि कर्ममा संलग्न जनशक्ति , महिलाको नाममा कृष्यिोग्य जमिन , अनुदानको अवस्था , अस्थाई वा स्थाई बालीको क्षेत्रफल लगायतका विषयमा जानकारी हुने उहाँको भनाई छ ।
सगमैमा भन्दा कृषियोग्ज जमिन कस्तो छ ? कति छ ? केकसरी कृषि प्रणली नेपालमा चलेको छ भन्ने बारेमा जानकारी हुने उहाँले बताउनुभयो । कृषि गणनामा कृषकले आफ्नै जग्गामा मात्रै नभई अरुको जग्गा भाडामा वा अधिया गरेको , ऐलानी , सुकुम्बासी , वन वा सार्वजनिक स्थानको जग्गा ओगटेर खेति गरेको भएपनि गणना गरिने उहाँले बताउनुभयो । जसबाट कृषकको जमिनको उपभोगको अवस्था जानकारी हुने उहाँले बताउनुभयो ।
गोष्ठीमा प्रस्तुतीकरण गर्दै कार्यालय प्रमुख घिमिरेले आउँदो बैशाख ६ गतेदेखि जेठ १९ गते ४५ दिनसम्म गणकहरु घरघरमा पुगेर तथ्याङ्क संकलन गर्ने बताउनुभयो । बैशाख २० देखि २४ गतेसम्म कार्यालयले फर्म बुझने काम हुनेछ । एक जना सुपरिवेक्षकले चार वटा गणकलाई हेर्ने गरेर काम हुनेछ उहाँले जानकारी दिनुभयो । जिल्लामा कृषि गणनाका लागि ५५ जना गणक र १४ जना सुपरिवेक्षक खटिदैछन् ।
कृषिसँग सम्बन्धित सम्पूर्ण विवरण प्राप्त गर्ने उद्देश्यले कृषि गणनाका लागि तिनप्रकारका गरेर दुई दर्जन प्रश्न समेटेर प्रश्नावली बनाइएको छ । खेतीयोग्य जमिन, जमिनमा प्रयोग भइरहेको मलदेखि विषादीसम्मको विवरण समेट्ने गरी प्रश्नावली बनाइएको घिमिरेले बताउनुभयो । कम्तिमा चार आनादेखि आठ धुरसम्म खेतिपाति गरेको , यदि त्यसो नभए खुल्ला चौपाया गाई गोरु , भैँसी , रागामध्ये एउटा पालेको , वा पाँच वटा साना चौपाया , अथवा २० वटा हाँस कुखुरा पालेको घरपरिवारलाई गणनामा समावेश गरिने प्रावधान राखिएको घिमिरेले जानकारी दिनुभयो । गत वर्ष २०७७ सालको पुष १७ गतेदेखि चालु वर्षको पुष १६ गतेसम्म किसानले लगाएका बालीनालीको विवरण संकलन गरिने उहाँको भनाई छ । जसमध्ये ६७ प्रकारका अस्थाई बाली र ३० प्रकारको स्थाई बाली प्रश्नावलीमा राखिएका छन् । जसमध्ये अस्थाई बालीको प्रमुख आठ प्रकारको बाली र स्थाई बालीको प्रमुख ६ प्रकारको बालीको उत्पादन समेत के कति छ ? सोधिने उहाँले बताउनुभयो । सिंचाईका लागि सरकारले गरेको लगानीबाट किसान कत्तिको लाधान्वित भए त ? भन्नका लागि सिंचाईपछि किसानले कति प्रकारका , कति समय खेतिपाति गरे भन्ने बारेमा समेत तथ्याङ्कमा आउने छ । यस्तै पाल्तु चौपायाको पशु आहार , किसान र पशु चौपाया बस्ने आवासीय भवनको अवस्था , महिला पुरुष कति , महिलाको नाममा कृषि जग्गा कसत छ ? कति कामदार छन् ? लगायत तथ्याङ्कमा आउने भएकाले कृषि गणनाले किसानको आर्थिक स्तर , महिलाको संलग्नता , रोजगारीको अवस्थाका बारेमा समेत जानकारी पाईने उहाँले बताउनुभयो ।
कृषि गणनाबाट कृषि क्षेत्रको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्यांकनमा मुलुकलाई आवश्यक पर्ने तथ्यांक उपलब्ध हुने उहाँले बताउनुभयो । कृषकले कृषि प्रयोजनमा ऋण लिएको भए त्यसको समेत विवरण संकलन गरिने भएको छ । ऋण लिएपनि गणनाको अघिल्लो दिनसम्म तिरिसकेको भए त्यस्तो विवरण भने राखिंदैन । संघीयतापछि पहिलो पटक कृषि गणना हुन लागेकाले यस पटक स्थानीय तहको तथ्याङ्क निकालिने छ । यस अघि जिल्लागत रुपमा तथ्याङ्क निकालिएको थियो ।
नवलपरासी पूर्वमा आठ पालिकाहरुमा गणना क्षेत्र नं संख्यामा , कावासोतीमा २४, देवचुलीमा २२ , गैंडाकोटमा २१ , मध्यविन्दुमा २३ , बिनयी त्रिवेणीमा २० , हुप्सेकोटमा १५ , बौदीकालीमा १३ र बुलिङ्गटारमा १७ कायम गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख चेसराम आले , उपप्रमुख शारदा विश्वकर्मा , जिल्लाको विभिन्न कार्यालय , संघसंस्थाका प्रमुख प्रतिनीधि , कृषक तथा कृषिसंग सम्बन्धित संघसंस्था , संचारकर्मी लगायतको सहभागितामा कार्यक्रम भएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |