२०८१ श्रावण १२, शनिबार
कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुर माछा पालनका लागि प्रदेशकै हब बन्दै गएको छ । गण्डकी प्रदेशका ११ जिल्ला मध्य नवलपुरमा माछा पालन गर्ने किसानको संख्या दिन प्रतिदिन बढिरहेको छ । साथै माछा पालन गर्ने क्षेत्र समेत वर्षेनी बढ्दो रुपमा रहेको छ ।
जिल्लामा आर्थिक वर्ष २०७६÷०७७ मा १ सय ८१ हेक्टर क्षेत्रफलमा माछा पालन हुदैँ आएको थियो । यो क्षेत्रफल आर्थिक वर्ष २०७७÷०७८मा बढेर २ सय १० हेक्टर पुगेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरका सूचना अधिकारी डा. शर्मिला कुमालले बताउनुभयो । माछा पालनका लागि नवलपुर प्रदेशकै हब बन्दै गएको उहाँले बताउनुभयो ।
माछा उत्पादनमा प्रदेशकै अग्रणी जिल्लाको रुपमा रहेकाले गण्डकी प्रदेश सरकारले थप क्षेत्रफल विस्तारमा विशेष चासो दिँदै आएको छ । क्षेत्रफल विस्तार सँगै माछाको उत्पादन वृद्धिगर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारले नवलपुरका लागि रु. १ करोड १७ लाख विनियोजन गरेको सूचना अधिकारी कुमालले बताउनुभयो । ५० प्रतिशत अनुदानमा नयाँ माछा पोखरी खन्नका लागि मात्रै प्रदेश सरकारले रु. ५० लाख विनियोजन गरेको उहाँले बताउनुभयो । यस योजनाबाट जिल्लामा थप १० हेक्टर क्षेत्रफलमा माछा पोखरी थपिने उहाँले बताउनुभयो । पुराना पोखरी मर्मत, मतस्य भुरा नर्सरी कार्यक्रम, मतस्य उपकरण तथा सामाग्री सहयोग लगायतका कार्यक्रम चालु आर्थिक वर्षमा समेत सञ्चालन हुने सूचना अधिकारी कुमालले बताउनुभयो । यसले जिल्लामा माछा पालन व्यवसायको थप विकास हुने उहाँले बताउनुभयो । ‘प्रदेश सरकारले माछा पालनको लागि लगानी बढाएको छ , विभिन्न कार्यक्रम सञ्चालन गरि किसानलाई अनुदान दिँदै छ’ सूचना अधिकारी कुमालले भन्नुभयो– यसले नवलपुरमा माछाको उत्पादन थप बढाउने विश्वास छ ।
नवलपुरमा हाल ७०८ वटा माछा पोखरी रहेका छन् । नवलपुरमा मध्यबिन्दु, कावासोती, देवचुलीमा सबै भन्दा धेरै माछा पालन गर्ने गरिएको छ । गण्डकी प्रदेश सरकारले यि क्षेत्रलाई समेटी यसवर्ष देखि माछा ब्लक कार्यक्रम समेत सञ्चालन गर्न लागेको सूचना अधिकारी कुमालले बताउनुभयो ।
नवलपुरमा गत वर्ष १३ सय ७० मेट्रिक टन माछा उत्पादन भएको थियो । जस मध्य १२२ मेट्रिक टन माछा प्राकृतिक जलाशयमा उत्पादन हुने गरेको छ । यो वर्ष माछा उत्पादन थप बढ्ने अुनमान गरिएको सूचना अधिकारी कुमालले बताउनुभयो । जिल्लालाई आवश्यक पर्ने माछा उत्पादन भएको र अन्य जिल्लामा समेत निर्यात हुने गरेको उहाँले बताउनुभयो । ‘नवलपुरको आवश्यकता र माग अनुसार माछा यही उत्पादन भएको छ, माछामा जिल्ला आत्मनिर्भर छ’ सूचना अधिकारी कुमालले भन्नुभयो ।
कृषि क्षेत्र अन्तर्गत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा बढि हुने भएकाले पनि माछा पालनतर्फ कृषकको आकर्षण बढेको हुनसक्ने अनुमान गरिएको छ । सरकारले विभिन्न अनुदान र सुविधाहरू प्रदान गर्दा समेत जिल्लाका किसान माछापालन तर्फ आकर्षित हुने गरेका छन् । मध्यवर्ती क्षेत्र भएकाले अन्य बाली वन्यजन्तुले नोक्सान पुर्याउन तर माछापालन सुरक्षित हुने भएकाले समेत यसतर्फ किसानको आकर्षण बढेको हुनसक्ने अनुमान गरिएको छ ।
माछाको ल्याब स्थापना
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा माछाको ल्याब स्थापना गरिएको छ । ल्याब स्थापनासँगै माछा पालनमा देखिने कतिपय समस्याको प्राविधक जाँचबाट निरुपण गर्न सहयोग मिल्ने छ । यस अघि पालनका क्रममा आएका समस्यालाई प्राविधिकहरूले आफ्नो अनुभवको आधारमा समाधान गर्दै आएका थिए । जिल्लामा ल्याब नहुँदा माछा पालक किसानलाई समस्या हुँदै आएको थियो । अब भने, जिल्लामा नै ल्याब स्थापना हुनेभएपछि माछा पालनका क्रममा आउने विभिन्न समस्या समाधान गर्न सहज हुनुका साथै बाहिरबाट आउने माछाको गुणस्तर जाँचमा समेत मदत् पुग्नेछ ।
बाहिरबाट आउने माछामा फर्मालिनको अत्याधीक प्रयोग हुने गरेको गुनासो आउने गरेको छ । उपभोक्ताले परीक्षण बिना नै उपभोग गर्दै आएका छन् । जसका कारण विभिन्न रोग निम्त्याउने गर्दछ । ल्याब स्थापनापछि बाहिरबाट आउने माछाको गुणस्तर जिल्लामा नै परीक्षण गर्न सकिने हँुदा उपभोक्ताको स्वास्थ्यमा पर्न जाने असरलाई पनि कम गर्न सकिने कार्यालयका सूचना अधिकारी डा.शर्मिला कुमालले बताउनुभयो ।
पोखरीको पानीको गुणस्तर जाँच , माछामा देखिने विभिन्न रोगको जाँच गर्न सकिने र आवश्यक पर्ने औषधी समेत वितरण गरिने भएकाले ल्याब स्थापनापछि जिल्लाका माछा पालक किसान लाभान्वित हुने उहाँले बताउनुभयो । प्रदेश सरकारको आर्थिक सहयोगमा माछाको ल्याब स्थापना गरिएको हो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |