२०८० आश्विन १४, आईतबार
कावासोती । कावासोती नगरपालिका वडा नं ९ ले संरक्षण गरेर पूर्वाधार समेत निर्माण गरिसकेको जग्गामा रातारात टहरा निर्माण गर्ने, पर्खाल लगाउने र खनजोत गर्ने काम गरिएको छ ।
अहिलेको वडा नं. ९ केरुङ्गे खोला नजिकै रहेको साविक अग्यौली गाविस कित्ता नं. २ क १ को आठ नम्बरी जग्गा हडप्ने मनसायले यहाँ भूमाफियाले रातारात संरचना निर्माण गरेका छन् । केहि दिन अघि रातारात उक्त जग्गामा चिन्दै नचिनेका व्यक्ती आएर जग्गा आफ्नो भनी टहरा निर्माण गर्ने , पर्खाल लगाउन खाम्बा गाड्ने र जोतेर मकै छर्ने काम गरेपछि स्थानीय युवाहरुले हटरा भत्काईदिएका छन् । भने, खाँबो भाँचिदिएका छन् ।
त्यहाँ बनाईएको एउटा घरमा कावासोती युवा क्लब भवन निर्माण स्थल र खेल मैदान निर्माण स्थल भनेर बोर्ड टाँगेका छन् ।
कावासोती वडा नं ९ का अध्यक्ष नेत्र प्रसाद खतिवडाका अनुसार उक्त जग्गामा २०३७ सालसम्म थारु समुदायको बसोबास थियो । २०३७ सालमा केरुङ्गे खोलामा ठूलो बाढी आएर बस्ति पसेपछि उनीहरु खोला पारी हेगौली भन्ने स्थानमा बस्न थाले । त्यसपछि उक्त जग्गा बगर बन्यो । उक्त जग्गा २०६२ सालमा स्थानीय बालकृष्ण पोखरेलले खरीद गरेको कागजात रहेको छ । विकाराम महतोले उक्त जग्गा बालकृष्णलाई बिक्री गरेको कागजात छ । २०६२ सालपछि उक्त जग्गामा पोखरेल परिवारले जोतभोग गर्दै आएका थिए । बालकृष्णको मृत्यु भईसकेको छ । अहिले उहाँका अन्य परिवार सबै काठमाण्डौँ बस्दै आएका छन् । बालकृष्णकी श्रीमती विष्णुदेवी पोखरेलले छोरा संरक्षक मधुसुदन पोखरेलको रोहबरमा साढे ८ विघा जग्गा वडा नं. ९ लाई दान गर्नुभएको छ । आफुहरु काठमाण्डौँ बस्ने भएकाले छोरा मधुसुदनले पछि वुवाआमाको नाममा राम्रो समाजिक काम गर्नेगरि उक्त जग्गा वडालाई दान दिएको अध्यक्ष खतिवडाले बताउनुभयो ।
वडाभित्र अन्य खाली जग्गा समेत नरहेको अवस्थामा उक्त जग्गाको संरक्षण गर्दै ३० लाख रुपियाँ खर्चेर खेल मैदान निर्माण गरिसकेको छ । भने, नजिकै स्वास्थ्य केन्द्र निर्माण गर्न शिलान्यास समेत गरिएको छ । क्लब भवन बृद्धाआश्रम तथा बगैँचा निर्माण गर्ने योजना वडाले बनाएको छ । तर, एकाएक उक्त जग्गा चिन्दै नचिनेका व्यक्तीले २०३३ सालमा खरीद गरेको भनि आफ्नो भएको दावी गर्दै संरचना निर्माण गरेको अध्यक्ष खतिवडाको भनाई छ । जग्गा जसको नाममा छ, त्यो व्यक्ती पनि नआएको अन्य व्यक्तीहरु आएर संरचना निर्माण गरेको उहाँले बताउनुभयो । यति लामो समयसम्म किन जग्गा नखोजेको अहिले आएर रातारात घरटहरा बनाएर आफ्नो भन्न कहाँ पाईन्छ भनेर सोध्दा भारतमा रहेकाले आउन नसकेको भन्ने जवाफ दिएको वडा अध्यक्ष खतिवडाले बताउनुभयो ।
२०६२ सालमा विकारामले बालकृष्णलाई बिक्री गरेको जग्गा अहिले २०३३ सालमा विकारामका वुवा रामनाथ महतोले भिम वहादुर क्षेत्रीलाई बिक्री गरेको कागज देखाएर जग्गा आफ्नो भन्दै दावी गरिएकाले कागजपत्र समेत जालसाजी गरिएको स्थानीयको आरोप छ । स्थानीय अगुवा तथा लामो समयदेखि सोहि ठाउँमा बसोबास गर्नुभएका भुपनारायण न्यौपानेले जग्गा जसको नाममा छ, उ भन्दा पनि स्थानीय केहि भूमाफिया मिलेर उक्त जग्गा हड्प्न लागि परेको आरोप लगाउनुभयो । ‘ करीब– करीब ५५ वर्षपछि त्यो पनि भुमि सम्बन्धी समस्या समाधान आयोगले काम सुरु गरेपछि जग्गा मेरो भन्दै रातारात टहरा निर्माण गरेर जग्गा हडप्ने दाउमा यहाँका भूमाफिया लागेका छन् । उनीहरुको चलखेल हामिले पुरा गर्न दिदैनौँ । ’ न्यौपानेले भन्नुभयो ।
(यस अनलाईनमा प्रकाशित कुनै पनी समाचार सामाग्रि अनुमती बिना साभार गरि प्रकाशित गर्न रोक लगाईएको छ ।)
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |