२०८० मंसिर २५, सोमबार
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले कृषिमा आधारित रोजगारी सिर्जना गर्न लागेको बताउनु भएको छ । बुधबार नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती आयोजित प्रशोधन योग्य आलु प्रर्वद्धन कार्यक्रम सम्बन्धी अभिभुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले रोजगारी सिर्जनाका लागि पहिलो प्राथमिकतामा राखेर सोही अनुसार कार्यक्रमहरू सञ्चालन गर्न लागेको बताउनुभयो ।
जमिन बाँझो हुँदै जानेक्रम बढ्दै गएको साथै युवाहरू कामको सिलसिलामा विदेशमा जानेक्रम समेत बढेकाले आफ्नै ठाउँमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफल पछि प्रदेशले कृषिलाई पहिलो प्राथमिकता दिएर काम अघि बढाएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । ‘कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा छलफल पछि पहिलो प्राथमिकता कृषिलाई दिएका छौँ, कृषिमा आधारित भएर रोजगारी सिर्जन सक्छौँ, कृषिमा आधारित उद्योगहरू पनि स्थापना गर्नसक्छौ ,हामीले सोही अनुसार कार्यक्रम गर्दै छाँै’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
कृषिलाई आधार मानेर फलफूल खेती, आलु खेती, चैते धान बाली सहित अन्य नगदे तरकारी खेतीका कार्यक्रम समेत प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । गण्डकी प्रदेश सरकारले कृषि उत्पादनलाई बढाउन अहिले उत्पादनको आधार अनुदान उपलब्ध गराउने नीति लिइएको समेत उहाँले बताउनुभयो ।‘ विगतमा कृषिमा विभिन्न प्रकारका अनुदान उपलब्ध गराएको भएपनि त्यति प्रभावकारी नभएपछि अहिले उत्पादनको आधारमा अनुदान दिने नीति लिएको छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उत्पादन क्षेत्र घट्दै जानु चिन्ताजनक भएको बताउनुभयो । पहाडी क्षेत्रमा जमिन बाँझो हुने क्रम बढ्दै जाने अर्को तर्फ शहरीकरण बढ्दै जाँदा कृषि उत्पादन हुने क्षेत्र घट्दै गएकाले खाद्यान्नको अभाव हुने स्थिति आउन सक्ने भएकाले किसानलाई प्रोत्साहन गर्ने जमिनको सदुपयोग गर्ने योजना ल्याउन तर्फ लाग्नुपर्ने मन्त्री जिसीले बताउनुभयो ।
प्रदेशसभा सदस्य रोशन बहादुर गाहाले जिल्लामा संचालन हुन लागेको कार्यक्रमबाट किसानले उत्पादन गरेको कम्पनीसँगको सम्झौता अनुसार भुक्तानीमा कुनै समस्या नहोस भन्ने तर्फ सचेत गराउनुभयो । विगतमा उखु खेती गरेका किसानलाई मिलले भुक्तानी नदिदा समस्या भइरहेको स्मरण गर्दै आलु खेती गर्ने किसानले आफ्नो श्रमको मूल्य सहि र सहज रुपमा पाउने वातावरण बनाउनुपर्ने बताउनुभयो । भारतिय सिमासँग जोडिएको जिल्ला भएकाले यहाँका किसानले कुनैपनि बस्तु उत्पादन गरेपनि भारतिय उत्पादन भित्रिदा बजारीकरणमा समस्या हुने गरेको भन्दै प्रदेश सरकारले यस विषयमा समेत चासो दिनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले कार्यक्रम सफल रुपमा संचालन भई किसानको आयआर्जन बृद्धिमा सहयोग पुगोस भनेर शुभकामना दिनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले समेत आफ्नो भनाई राख्नुभएको थियो । यसै गरि किसानहरुले आफ्ना विभिन्न जिज्ञासा समेत राखेका थिए ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा दुई सय १० बिघा जमिनमा प्रशोधन योग्य आलु प्रर्वद्धन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । गण्डकी प्रदेशका सबै जिल्लामा यो कार्यक्रम अघि बढेको उहाँले बताउनुभयो । कृषक समूह , सहकारी मार्फत कार्यक्रम सञ्चालन हुने र कम्तीमा ४५ कठ्ठा जमिनमा खेती गर्नुपर्ने कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
कार्यक्रममा आवद्ध समूह ,सहकारीलाई बिउ, यन्त्र उपकरण, साना सिँचाइका पूर्वाधार, बजार प्रर्वद्धन लगायतमा ज्ञान केन्द्रको तर्फबाट सहयोग प्रदान गरिने कार्यालय प्रमुख तिवारीले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |