२०८० मंसिर २५, सोमबार
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीको दाबीबाट केदार कार्कीलाई ‘ब्याक’ गराउन नसक्ने सन्देश पार्टी सभापति शेरबहादुर देउवालाई पठाएका छन् । शुक्रबार विहान सभापति देउवाका विश्वासपत्र नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता कोइरालाबीच कोशी प्रदेशबारे टेलिफोन संवाद भएको थियो ।
शेखरसँगको संवादपछि आफू देउवासँग छलफलमा रहेका नेता ज्ञानेन्द्र कार्कीले रातोपाटीलाई बताए । उनले भने, ‘विहान शेखरजीसँग कुरा भयो । अहिले म सभापतिजीसँग छलफलमा छु ।’
टेलिफोन संवादमा ज्ञानेन्द्रले शेखरलाई केदारले पेस गरेको मुख्यमन्त्री दाबी फिर्ता गराउन आग्रह गरेका थिए । जवाफमा शेखरले त्यो सम्भवानै नरहेको बताए । ‘केदार कार्कीलाई ब्याक गराने सम्भावना नै छैन । हामीले कस्तो पार्टी बनाएछौं ? मैले कार्यकर्तालाई के जवाफ दिने ? पार्टी बचाउने कदमबाट ब्याक हुन सक्दिनँ,’ शेखरको भनाइ छ ।
कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउन आफूले राखेको प्रस्तावको बेवस्ता गरेकोमा ज्ञानेन्द्रसँग शेखरको आपत्ति थियो । ‘मैले पटक–पटक शेरबहादुरजीलाई कांग्रेसकै मुख्यमन्त्री हुनुपर्छ भनेको हो । व्यक्तिको नाम तोकेको थिइनँ । गठबन्धनभित्रैबाट सहमति खोज्यौं । कांग्रेसकै नेतृत्वमा सरकार बनाउ भनेको थिएँ । त्यसलाई किन बेवास्ता गरियो । तपाईहरु मनलाग्दी गर्दैन ?,’ उनको प्रश्न थियो ।
माओवादीलाई तीन वटा प्रदेशमा मुख्यमन्त्री छाड्न पार्टीको निर्णयमा शेखरले प्रश्न उठाएका थिए । ‘माओवादी केन्द्रलाई तीनवटा प्रदेशको नेतृत्व दिनुपर्छ कि पर्दैन ? आवश्यक होकि होइन ? त्यो विषयमा पनि केही सोधिएन । पार्टीभित्र छलफल गरिएन,’ उनले भने ।
गठबन्धन सरकारमा मधेस प्रदेशको नेतृत्व जसपाले गरेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ । बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीलाई बिहीबार बसेको गठबन्धनको बैठकले कोशीमा पनि मुख्यमन्त्री दिन निर्णय गरेको थियो । यसअघि कांग्रेसले गठबन्धनमा कोशी प्रदेश कांग्रेसको भागमा परेको थियो । सोही अनुसार कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा दुई पटक मुख्यमन्त्री बने । तर, उनको पहिलो पटकको नियुक्त र दोस्रो पटक विश्वास लिँदाको प्रक्रिया संवैधानिक नभएको सर्वोच्च अदालतले ठहर गरेको थियो ।
उद्धवको विकल्पमा केदार, हिमाल कार्की, अमृत अर्याल र भीम पराजुलीले मुख्यमन्त्रीमा दाबी गरेपछि देउवाले पार्टीभित्रको विवाद पन्छाउन माओवादीलाई मुख्यमन्त्री दिने निधो गरेका थिए । त्यसको विरुद्धमा केदार कार्कीले एमालेसँग मिलेर मुख्यमन्त्रीमा दाबी पेस गरेपछि गठबन्धन समस्यामा परेको छ ।
पार्टी बचाउन केदार कार्कीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न लगाएको भन्दै ब्याक नहुने शेखरको अडान छ । ‘म यो कदमबाट ब्याक हुन सक्दिनँ,’ ज्ञानेन्द्रसँग शेखरले भने, ‘पार्टी बचाउनका लागि यो कुरा गरेको हो । शेरबहादुरजीलाई यही सन्देश सुनाइदिनु ।’
कांग्रेसको केदार कार्कीभन्दा माओवादी स्वीकार्ने कस्तो पार्टी बनाऔं भन्नै शेखरले ज्ञानेन्द्रलाई प्रश्न गरे । ‘तपाईहरुले आफ्नो टीमको मान्छे नहुँदै गर्दा अर्को टीमका मान्छे स्वीकार्न यति गाह्रो भयो । तपाईले नाम प्रस्ताव गर्नुुभयो माओवादीको ।’
माओवादीलाई मुख्यमन्त्री दिने निर्णय आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट थाहा पाउनु दुभाग्र्य भएको उनको भनाइ छ । ‘तपाईहरुले नाम प्रस्ताव गरेको कुरा मैले प्रचण्डजीबाट थाहा पाएँ । त्यो मेरा लागि कति दुर्भाग्यपूर्ण होला ?,’ शेखरको प्रश्न, ‘पार्टी बचाउन निर्णयबाट म ब्याक हुन सक्दिनँ ।’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |