२०८० मंसिर १६, शनिबार
लुम्बिनी। नेकपा (एमाले) लुम्बिनी प्रदेश नेतृत्वका चयनको लागि मतदान जारी छ। बिहान सवा ८ बजेदेखि सुरू भएको मतदान दिउँसो १ बजेसम्म जा र्वाचन समितिले जानकारी दिएको छ।
जारी निर्वाचनमा पदाधिकारीमा दुई प्यानल देखिएका छन्। सहमतिको प्रयास भन्दै चारदिन लम्बिएको अधिवेशन अन्ततः निर्वाचनमा धकेलिएपछि उम्मेदवारहरू प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका हुन्।
प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष रहेका पाल्पाका राधाकृष्ण कँडेल र प्युठानका हरि रिजालका बीचमा प्रतिष्पर्धा हुँदै छ।
सचिवमा उम्मेदवारी दिएका गुल्मीका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएपछि दाङका लक्ष्मण आचार्य निर्विरोध भइसकेका छन्। पाँच पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष, र दुई उपसचिवमा भने १३ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, रूपन्देहीकै विश्वराज बराल अनुप, बाँकेका पुजन विश्वकर्मा र रोल्पाका शान्तकुमार वलीले उम्मेदवारी दिएका छन्।
महिला एकजना उपसचिव पदमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानाले उम्मेदवारी दिएका छन्। त्यस्तै पुरुषतर्फ एक उपसचिव पदमा रूकुम पूर्वका उपेन्द्रलाल कामी, बाँकेका दुर्गाप्रसाद चौधरी, रोल्पाका पूर्ण बुढामगर र गुल्मीका हिरा एसिले उम्मेदवारी दिएका छन्।
शनिबारदेखि सुरू भएको अधिवेशनमा सहमतिको प्रयास भन्दै सोमबार दिउँसोसम्म निर्वाचनको प्रक्रिया लम्बाइएको थियो।
सहमति जुट्न नसकेपछि साँझ सातबजेदेखि मतदान प्रक्रिया सुरू गर्ने बताइए पनि मतदानको लागि आवश्यक तयारी पूरा नभएपछि राति १० बजे सूचना गरेर मंगलबार बिहान ८ बजेका लागि समय सारिएको थियो।
अहिले उम्मेदवारहरू प्यानलै बनाएर लाइनमा बसेका मतदाता समक्ष भोट मागिरहेका छन्। अध्यक्षका उम्मेदवार कँडेल समूहबाट उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा पुरुषमा बाँकेका दुर्गा चौधरी र महिलामा बर्दियाकी लिला रानाले मत मागिरहेका छन्।
रिजालको समूहबाट उपाध्यक्षमा रूपन्देहीका विश्वराज बराल अनुप, उपसचिव पुरुषमा रोल्पाका पूर्ण बुढामगर र महिलामा बसन्ती अधिकारीले मत मागिरहेका छन्। अधिकांश जिल्लामा भूगोलबाट चयन हुने सदस्यहरू निर्विरोध चयन भए पनि केही जिल्लाका लागि भने भूगोलतर्फको सदस्यका लागि पनि मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
कुल १ हजार ४ प्रतिनिधि सहभागि अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय ५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ।
लुम्बिनी प्रदेशको यो अधिवेशनलाई एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रूपमा लिँदा अझ पेचिलो बन्दै गएको छ। महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष कडेललाई समर्थन गरेका छन्। योसँगै पार्टीका केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत कँडेल र रिजाल पक्षमा विभाजित भएको देखिन्छ।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यहरू चेतनारायण आचार्य, भूमिश्वर ढकाल र शिव सुवेदी रिजालको पक्षमा लागेका छन् भने सचिव छविलाल विश्वकर्मा तथा गोकर्ण विष्ट, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बैजनाथ चौधरीलगायत कँडेलको पक्षमा खुलेका छन्।
-Setopati
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |