२०८० मंसिर १६, शनिबार
नवलपुर । शिक्षा विकास तथा समन्वय इकाई नवलपुरकाे व्यवस्थापनमा समन्वयात्मक बैठक बसेकाे छ । साेमबार जिल्ला समन्वय समितिकाे सभाहलमा बसेकाे बैठकमा जिल्लाकाे समग्र शैक्षिक अवस्था , स्थानीय तहको शिक्षाकाे अवस्थाका विषयमा छलफल भएको थियाे ।
कार्यक्रममा स्थानीय तहका प्रमुुख तथा शिक्षा शाखा प्रमुखहरुले शिक्षाको अवस्था ,उपलब्धि , शैक्षिक सुधारमा भएको चुनाैती लगायतका बारेमा आ–आफ्ना पालिकाको अवस्था वर्णन गरका छन् ।
जिल्लाको समग्र शैक्षिक अवस्था, पालिका अनुसारका प्रगति, समस्या, चुनौती, उपलब्धि र भएका असल अभ्यास जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा सोमवार एउटै मञ्चमा चर्चा भएको हो ।
समन्वय प्रमुख बाबुराम बिश्वकर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्माले जिल्लाको शैक्षिक स्थितिका बारेमा डिजिटल कार्यपत्र प्रस्तुत गरे लगत्तै आठै पालिकाका शिक्षा शाखा प्रमुखहरुले प्रस्तुतीकरण राखेका थिए ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका महासंघकी केन्द्रीय अध्यक्ष लक्ष्मीदेवी पाण्डे, कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसाल, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी, बौदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा,बुलिङटार गाउँपालिकाका अध्यक्ष ई. दीपेन्द्र सुनारी मगर सहित समन्वय समितिका जनप्रतिनिधि समेतको आतिथ्यता रहेको कार्यक्रममा शाखा प्रमुखहरुले शिक्षामा सरकारले अहिलेसम्म गरेको लगानी पर्याप्त नभएकाले प्रतिफलका लागि लगानी बढाउनुपर्नेतर्फ ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा जिल्ला शिक्षा समिति नवलपुरका पदाधिकारी–सदस्य, पत्रकार समेत सहभागी थिए ।
हुप्सेकोट गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज गौतमले शिक्षालाई सीपसँग जोड्नपर्ने धारणा राखे । हुप्सेकोटले कक्षा ९ मा पढ्ने विद्यार्थीलाई सवै विद्यालयमा सीपमूलक कार्यक्रम चलाएको बताए । उनले सिलाई–कटाई, प्लम्विङ, इलेक्ट्रिकल, इलोक्ट्रोनिक, कृषि–करेसावारी जस्ता प्राविधिक तथा सीपमूलक गतिविधिलाई शिक्षाका माध्यमबाट जोड्दा बिदेश पलायन हुने क्रमलाई कम गर्न सकिने बिश्वास लिएको बताए ।
कावासोती नगरपालिकाका शिक्षा शाखा अधिकृत राजन पाण्डेले तथ्याङ्कगत रुपमा थुप्रै प्रगति हासिल भएजस्तो लागे पनि खासमा उपलब्धि हुन नसकेको प्रतिक्रिया राखे । पछिल्लो समय क्याम्पस कलेजमा भन्दा भाषा कक्षा र कन्सल्टेन्सीमा विद्यार्थीको चाप देखिनु चिन्ताको विषय भएको बताए । प्लस टु सकेपछि पहिलो बर्षको ब्याचलरमा भर्ना हुने संख्याभन्दा दोस्रो बर्षमा विद्यार्थी घट्नु, दोस्रो भन्दा तेस्रोमा झन् विद्यार्थी घट्नुले कतै हाम्रा शैक्षिक संस्थाहरु आश्रममा परिणत हुने त होईनन् भन्नेतर्फ संकेत गरे ।
बौदीकाली गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद अधिकारीले पाँच वर्षमा ५ सय प्राविधिक तयार गर्ने पालिकाले लक्ष्य राखेकाले प्राविधिक शिक्षा पढ्ने विद्यार्थीका लागि मासिक ५ हजारका दरले छात्रबृत्ति उपलब्ध गराएको जानकारी गराए ।
देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्माले राज्यका नीति, तथा कानूनले एकातिर ब्याख्या गर्ने तर शैक्षिक क्षेत्र सञ्चालन आ–आफ्नै ढंगले गर्नुपरेको बाध्यात्मक परिस्थिति रहेको बताए ।
बुलिङटार गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धप्रसाद रानाभाटले विकट ग्रामीण भूगोल, सुगमतर्फ बसाईसराईको परिस्थिति र अझै पनि विद्यालय जानु अघि र पछि बालबालिकाहरु घरायसी काम, गोठालो जानुपर्ने स्थिति रहँदा शैक्षिक स्तर उकास्न गाह्रो भएको सुनाए । त्यसबाहेक दुर्गम क्षेत्र भएकाले विषय शिक्षक यहाँका विद्यालयमा टिक्न नसकेकाले सरोकार र जिम्मेवार तहबाट यस विषयमा ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
मध्यविन्दु नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद रेग्मीले सु–संस्कृत, देशप्रेम भावयुक्त नागरिकको परिकल्पना अनुसार मेरो खुसी कार्यक्रम लागु गरिएको बताए । दिल्लीमा सञ्चालित आवर ह्याप्पीनेसबाट प्रभावित भएर नगरपालिकाले मेरो खुसी कार्यक्रम शुरु गरेको बताए । उनले देशका ७ सय ५३ वटै पालिकामध्ये यो कार्यक्रम शुरुवात गर्ने पहिलो पालिका मध्यविन्दु भएको दावी गरे ।
विनयी त्रिवेणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपराज पाण्डेले स्थानीय विषयबस्तु समेटेर तयार पारिएको पाठ्यवस्तु र पाठ्यक्रम लागु गरेको बताए ।
गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईले १८ बुँदा नोट सुनाउँदै धेरै सवालमा गैंडाकोटको शिक्षाको अवस्था राम्रो देखिएपनि विद्यार्थी संख्याका आधारमा विद्यालय समायोजन आवश्यक भएपनि त्यहाँका बालबालिका अन्यत्र पढ्न जान नसक्ने भौगोलक अवस्थाका कारण समस्या रहेको बताए । संघ र स्थानीय सरकारबीचको कार्यादेश बाझिँदा पनि कार्यान्वयनमा समस्या उत्पन्न हुने गरेको अनुभव सुनाए ।
कार्यक्रममा उपस्थित गाउँ तथा नगर पालिका प्रमुखहरुले स्थानीय तहमा शैक्षिक अवस्था र गुणस्तर सुधार्न गरिएका पहलहरु सकारात्मक लयमा गएको भएपनि यो कार्यक्रममा आएका सुझाव, भएका ध्यानाकर्षण र अन्तर पालिकाले गरेका असल अभ्यासका सन्दर्भबाट आगामी दिनमा थप सुधारका योजना बनाउन कोशेढुंगा सावित हुने अपेक्षा गरे ।
कार्यक्रमको अन्त्यमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम बिश्वकर्माले अन्तर पालिकाभित्रका अभ्यास एउटै फोरममा भईरहँदा असल अभ्यासको सिकाई, साझा समस्या र चुनौतीको संस्थागत समाधानका उपायको खोजी गर्न र सहजीकरण गर्न सहज हुने र भिन्न भिन्न समस्याको निराकरणका निम्ति नयाँ प्रस्तावहरुमाथी छलफलमार्फत सुधार ल्याउन मदत पुग्ने बिश्वास ब्यक्त गरे । उनले भौतिक र पूर्वाधार बिकास मात्रैले बिकासका सुचकांक पूरा नहुने भएकाले मानवीय एवं सामाजिक बिकासमा ध्यान पुर्याउन समन्वय समितिका तर्फबाट पहल भैरहेको स्पष्ट पारे ।
छलफल पछि बसेकाे समितिकाे बैठकले संघीय सरकारले ३ महिनाको लागि मात्रै कक्षा ६ मा दिवा खाजाको प्रबन्ध गरेकोमा बाँकी ९ महिनाका लागि दिवा खाजाको प्रबन्ध स्थानीय तहहरुबाट मिलाई सिकाई सर्वोच्चता सुनिश्चित गर्न स्थानीय तहहरुलाई सुझाव दिने निर्णय गरिएको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी तिलक खड्काले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |