२०८० मंसिर १६, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको त्रिवेणीमा अवस्थित त्रिवेणी भन्सार कार्यालय सवारी साधनको अस्थायी पैठारी सङ्कलनमा सीमित बनेको छ । भारतीय सीमासँग जोडिएको गण्डकी प्रदेशकै एक मात्र सिमा नाकामा रहेको त्रिवेणी भन्सार कार्यालयबाट मालसामान आयात निर्यातको काम हुन सकेको छैन । मूल भन्सारका स्तरोन्नति गरिएको चार वर्ष बित्दा समेत भारतीय पक्षले भन्सारको काम नथाल्दा मालसामान आयात निर्यातको काम हुन नसकेको हो ।
त्रिवेणी भन्सार कार्यालयबाट हाल नेपाल भित्रिने भारतीय सवारी साधनको छोटो अवधीका लागि अस्थायी पैठारीको काम मात्रै हुँदै आएको त्रिवेणी भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख चण्डीराज गेलालले बताउनुभयो । यस भन्सार कार्यालयबाट हालसम्म मालवस्तुको जाँचपास हुन नसकेको उहाँले बताउनुभयो । ‘भारतीय व्यक्ति नेपाल आउँदा प्रयोग गर्ने सवारी साधन मोटरसाइकल, जिप ,कार, भ्यानको अस्थायी पैठारी मात्र उठाउने काम हाल गरिएको छ, अन्य मालसामान आयात निर्यातको काम हुन सकेको छैन’ निमित्त कार्यालय प्रमुख गेलालले भन्नुभयो ।
भारतीय भन्सारमा कर्मचारी नहुँदा उनीहरूले काम नगरेको निमित्त कार्यालय प्रमुख गेलालले बताउनुभयो । आफूहरूले अन्य माल सामान आयात निर्यातका लागि तयार भएपनि भारतीय पक्षले कर्मचारी नभएकाले काम गर्न नसकिने बताउँदै आएको उहाँले बताउनुभयो । ‘हामी काम गर्न तयार छौं, पारी एकजना मात्रै कर्मचारी भएकाले काम गर्न सक्दैनौ भन्ने गरेका छन्, यसले भन्सारबाट सवारी साधनको अस्थायी पैठारी बाहेक कुनै काम हुन सकेको छैन’ निमित्त प्रमुख गेलालले भन्नुभयो ।
भारतीय पक्षले काम नगर्दा त्रिवेणी भन्सारमा मालसामान आयात निर्यात शून्य बनेको हो । त्रिवेणी भन्सार सञ्चालनका लागि केन्द्रबाट नै भारतीय पक्षलाई अनुरोध गरि भन्सार सञ्चालनको आवश्यक प्रबन्ध गर्नुपर्ने निमित्त प्रमुख गेलालले बताउनुभयो । त्रिवेणी भन्सार कार्यालयमा हाल ९ जना कर्मचारी रहेका छन् । भन्सारको अन्य गतिविधि नहुँदा कार्यालय समेत भाडाको घरबाट सञ्चालन गरिएको छ ।
त्रिवेणी भन्सार कार्यालयको स्तरोन्नति गर्दै यसलाई पूर्ण रुपमा सञ्चालन गर्न सरकारले पहल गर्नुपर्ने उद्योगीहरूको माग छ । देशकै मध्यभागमा पर्ने नाका भएकाले यहाँबाट आयात निर्यात गर्न सके उद्योगीहरूलाई थप सहज हुने नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालको भनाई छ । ‘देशकै मध्यभागमा छ, यसको संचालन गर्न सके आयात भएका सामाग्री देशका कुनै पनि भागमा पुर्यान सहज हुन्छ, निर्यातका लागि समेत यो नाका उत्तम हुन्छ’ अध्यक्ष अर्यालले भन्नुभयो । त्रिवेणी भन्सार कार्यालयलाई व्यवस्थित गर्न सके समग्र देशको अर्थतन्त्र मजबुत बनाउन यसले सहयोग पुर्याउने उहाँको भनाई रहेको छ । भारतीय पक्षसँग समेत यो नाकाबाट आयात निर्यातको काम थाल्ने विषयमा समन्वय गर्न आवश्यक रहेको अर्यालको भनाई रहेको छ ।
त्रिवेणी भन्सारले उठायो लक्ष्यभन्दा ८९ प्रतिशत बढी राजश्व
त्रिवेणी भन्सार कार्यालयले आर्थिक वर्ष २०७९ ÷८० मा लक्ष्य भन्दा ८९ प्रतिशत बढी राजश्व संकलन गरेको छ । निमित्त कार्यालय प्रमुख चण्डीराज गेलालका अनुसार त्रिवेणी भन्सार कार्यालयलाई रु. ५५ लाख राजश्व सङ्कलनको लक्ष्य दिइएको थियो । कार्यालयले गत आर्थिक वर्षमा रु. एक करोड ४ लाख राजश्व संकलन गरेको निमित्त प्रमुख गेलालले बताउनुभयो ।
त्रिवेणी भन्सार कार्यालयले गत आर्थिक वर्षमा उठाएको सबै रकम भारतीय सवारी साधनको अस्थायी पैठारी बापतको शुल्क मात्रै भएको निमित्त कार्यालय प्रमुख गेलालले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |