२०८० मंसिर २०, बुधबार
नवलपुर ।नवलपुरमा एकवर्षमा वैदेशिक रोजगारका १सय ८८ घटना दर्ता भएका छन् । जिल्लामा संचालित सुरक्षित आप्रवासन कार्यक्रम (सामी)मा एक सय ८८ घटना दर्ता भएका हुन् । जस मध्य सामी मार्फत ८१ को समाधान गरिएको छ ।
स्विस सरकारको सहयोग, हेल्भेटास नेपालको प्राविधिक सहयोग, कावासोती, गैँडाकोट, मध्यविन्दु र विनयी त्रिवेणीको सहकार्यमा हिकोडेफ मार्फत नवलपुरमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगार सम्बन्धी नवलपुरमा १ सय ८८ वटा मुद्दा दर्ता भएका हुन् । यस तथ्याङ्क अनुसार ठगीमा पर्नेको संख्या सबैभन्दा धेरै रहेको छ । १ सय ८८ वटा मुद्दा मध्य १ सय १८ वटा मुद्दा ठगि सम्बन्धी रहेकाछन् । उद्धार सम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका मुद्दा १० रहेका छन् ।
सुरक्षित आप्रवासन कार्यक्रम मार्फत दर्ता भएका एक सय ८८ मुद्दा मध्य ८१ मुद्दाको समाधान गरिएको र यसबाट पीडितहरूलाई रु.३ करोड २० लाख ६० हजार क्षतिपूर्ति उपलब्ध गराइएको कार्यक्रम संयोजक सोतीले बताउनुभयो । यो सामी कार्यक्रमको सम्पर्कमा आएका घटना मात्रै भएको उहाँले बताउनुभयो ।कतिपय घटना समाधानको प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।
यसै गरि नवलपुरमा वैदेशिक रोजगारका घटनामा २८ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको हाल सम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका र रोजगारका क्रममा बिरामी भइ श्रम सम्झौताको अवधीमा नेपालमा गरि २८ जनाले ज्यान गुमाएका हुन् ।
वैदेशिक रोजगारको क्षेत्रमा जिल्लामा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यो वर्ष २७ जना पुरुष र १ जना महिला गरि २८ जनाको वैदेशिक रोजगारका घटनामा मृत्यु भएको हो । उहाँका अनुसार मृत्यु हुनेमा कावासोतीका ६ जना, गैँडाकोटका ४ जना, मध्यविन्दुका ६ जना, विनयी त्रिवेणीका ३ जना , हुप्सेकोट १ जना र देवचुलीका ७ जना रहेका छन् । उहाँका अनुसार धेरै जसो वैदेशिक रोजगारका सिलसिलामा विदेशमा ज्यान गुमाउने रहेका छन् । केही विदेशमा बिरामी परेर स्वदेश फर्केपछि श्रम अवधिमा ज्यान गुमाउने समेत रहेका छन् ।
नवलपुर सहित सुरक्षित आप्रवासन कार्यक्रम ( सामी ) मार्फत प्राप्त निवेदनका आधारमा पर्वत फलेवासका एक जना र पाल्पा रम्भा गाउँपालिका निवासी एक जनाको मृत्युको घटना यहाँ दर्ता भई समाधानका लागि पहल गरिएको संयोजक सोतीले बताउनुभयो ।
वैदेशिक रोजगारमा ज्यान गुमाउनेमा धेरै जसो लेबरको काममा गएका रहेका छन् । ओभरटाइम काम गर्ने, लगातार धेरै काम गर्ने ,भने जस्तो काम नहुँदा तनावमा काम गर्ने गर्दा मृत्यु भएको पाइएको कार्यक्रमका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो । जिल्लामा सञ्चालित कार्यक्रम मार्फत सूचनामा पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताका क्षेत्रमा रहेका काम गर्ने गरिएको परामर्शकर्ता लम्सालले बताउनुभयो ।
नवलपुरमा गैंडाकोट, कावासोती, मध्यविन्दु र विनयी त्रिवेणीमा सामी कार्यक्रम सञ्चालनमा रहेको छ । कार्यक्रमको मंगलबार कावासोतीमा भएको समीक्षा कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले वैदेशिक रोजगारमा देखिएका समस्या समाधान नगर अघि बढ्न नसकिने भएकाले यसको व्यवस्थापन थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
अज्ञानता, सूचनाको कमी, लोभका कारणले ठगिने ,समस्यामा पर्ने गरेको देखिएकाले सही सूचना हरेक विदेश जाने नागरिकलाई प्रदान गर्ने गरि लाग्नुपर्ने बताउनुभयो । नगर प्रमुख अधिकारीले वैदेशिक रोजगारका धेरै समस्या वैदेशिक रोजगारमा जानेलाई सही सूचना पुर्याउन सकेमात्र पनि समाधान हुने भएकाले सूचना प्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
गैंडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले वैदेशिक रोजगारमा जानेलाई सीप प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । तालीम लिएर मात्रै वैदेशिक रोजगारमा जानुपर्छ भन्ने कुरालाई जोड दिएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले वैदेशिक रोजगारको विषय महत्वपूर्ण विषय भएकाले यस कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो । वैदेशिक रोजगारमा जान चाहनेलाई यस विषयमा ज्ञान, सूचना र आवश्यक सीप प्रदान गर्न सके यसका कतिपय घटनामा कमहुने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकाको सभाहलमा भएको समीक्षा कार्यक्रममा कार्यक्रम सञ्चालित पालिकाका विभिन्न व्यक्ति लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |