२०८० मंसिर २४, आईतबार
चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा बैशाख १८ गतेबाट भूमि आयोगले जग्गा नापजाँच शुरु गर्ने भएको छ । मध्यविन्दु नगरपालिका वडा नं. १ को सेतापानीबाट जग्गा नापजाँच शुरु हुने मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताउनुभयो ।
जग्गा नापजाँच पूर्व शुक्रबार मध्यविन्दु नगरपालिको १ को सेतापानीमा वडा भित्रका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थीत बसोबासीहरुलाई जग्गा नापँजाचबारे नगरपालिकाले अभिमुखिकरण गरेको छ । लामो समय देखि राजनितिक मुद्दाको रुपमा मात्रै सिमित भूमि सम्बन्धी समस्याको दीर्घकालिन समाधानको प्रक्रिया शुरु भएको नगर प्रमुख अधिकारीले बताउनुभयो ।
वडा नं. १ बाट शुरु भएको जग्गानापजाँच कार्य क्रमशः अन्य वडाहरुमा समेत शुरु हुने उहाँले बताउनुभयो । निर्वाचन पूर्व र पटकपटक स्थानीय समुदायसंग गरेको बाचा पुरा गर्ने चरणमा आफुहरु रहेको भन्दै उहाँले जग्गानापजाँच कार्यमा आवश्यक सहजिकरण गर्न स्थानीयहरुलाई अनुरोध गर्नुभयो ।
केन्द्रीय सत्तासमिकरणमा भइरहने फेरबदल र राजनितिक दाउँपेचको कारण लामो समयदेखि भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान हुन नसकेको भन्दै उहाँले सबै राजनितिक दलहरुको साँझा मुद्दा र सरोकार रहेको सुकुम्बासी समस्या समाधानमा सबै दल, स्थानीय समुदायबीच समान बुझाईको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
उहाँले जाग्गा नापजाँचको क्रममा कुनैपनि शुल्क कुनै निकाय वा व्यक्तिलाई बुझाउनु नपर्ने भन्दै त्यस्ता चलखेलहरु भए नगरपालिकालाई जानकारी गराउन समेत अनुरोध गर्नुभयो । भूमिहिनहरुको हकमा कुनैपनि शुल्क बिना र अव्यवस्थितहरुको हकमा राज्यले तोकेको राजश्व जग्गाधनि पुर्जा प्राप्त गर्ने समयमा मात्रै बुझाउनु पर्ने भन्दै अन्य कुनै पनि शुल्कहरु संकलन यो बीचमा नुहने बताउनुभयो । उहाँले जग्गा नापजाँच कै क्रममा स्थानीय समुदायमा उल्लास र खुशीहरु देखिएको भन्दै बास्तविक खुशी र सफलता जग्गाधनि पुर्जा सम्बन्धीत व्यक्तिलाई प्रदान गर्दाको दिन हुने बताउनुभयो ।
जिल्ला भूमि आयोग नवलपुरका अध्यक्ष तारापति खरेलले मध्यविन्दु नगरपालिकाले जग्गानापजाँचको लागि सूचना प्रकाशन गरेर बैशाख १८ गतेबाट नापीको काम शुरुवात गर्न लागेको भन्दै त्यसमा सहजिकरण गर्न सबै स्थानीयहरुलाई अनुरोध गर्नुभयो । जग्गाको साँध, बाटो, कुलो लगायतको विषयमा केही विवादहरु भए नापी आउनु पूर्व नै त्यसको समाधान गर्न अनुरोध गर्दै उहाँले विवाद कायम रहेको अवस्था जग्गा नापजाँच हुन नसक्ने बताउनुभयो ।
जग्गा नापजाँच र त्यसको प्रमाणिकरण पस्चात हुने विभिन्न चरणहरु पार गरेर स्थानीय समुदायले जग्गाधनि पुर्जा प्राप्त गर्ने भन्दै उहाँले यसमा आवश्यक सहयोग गर्न सबैमा अनुरोध गर्नुभयो ।
आयोग जिल्ला सदस्य सुस्मा खनालले आयोग गठन पछि जिल्लामा रहेका नक्साप्रमाणिकरणका धेरैका कामहरु भइरहेको भन्दै अब जग्गा नापजाँच गरेर सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनि पुर्जा वितरण हुने बताउनुभयो ।
नेकपा एमाले मध्यविन्दु नगर अध्यक्ष एवम् भूमि सम्बन्धी नगर स्तरीय सहजिकरण समितिका सदस्य मधुविलाश अधिकारीले आफ्नो नाममा जग्गाधनि पुर्जा नहुँदा भोग्नुपर्ने पीडा र समस्याहरु जग्गाधनि पुर्जा प्राप्त भएपछि हट्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस नगर सभापति एवम् भूमि सम्बन्धी नगर स्तरीय सहजिकरण समितिका सदस्य दोमन भण्डारीले सबै राजनितिक दलहरुको साँझा मुद्दाको रुपमा रहेको भूमि सम्बन्धी समस्या समाधानको लागि नगरपालिकाले शुरुवात गरेको नापीको काममा सहजिकरण, आवश्यक सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
मध्यविन्दु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तिलकराम न्यौपानेले नगर प्रमुखको प्रस्ताव र सबै कार्यपालिका सदस्यहरुको सहमतिमा नगरकार्यपालिकाको निर्णय अनुसार मध्यविन्दु १ को सेतापानीबाट जग्गा नापजाँचको काम शुरुवात हुन लागेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । जग्गानापजाँचको क्रममा स्थानीय स्तरमा हुने विवाद, देखिने समस्या समाधान वडा स्तरमा रहेको सहजिकरण समिति, नगर स्तरको सहजिकरण समितिबाट हुने बताउनुभयो ।
कार्यक्रममा सहभागिहरुले लामो समय देखि सपनाको रुपमा रहेको जग्गा नापजाँचको काम शुरु भएकोमा खुशी व्यक्त गरेका थिए । उल्लेखनीय रुपमा सहभागी भएका स्थानीयहरुले स्थानीय स्तरमा देखिने समस्याहरुको समाधान गरेर जतिसक्दो चाडो नापजाँचको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।
मध्यविन्दु नगरपालिकामा दुई सय ६४ भूमिहिन दलित, एक हजार एक सय ३२ भूमिहिन सुकुम्बासी र ६ हजार दुई सय ७२ अव्यवस्थित बसोबासीहरु रहेको तथ्यांक संकलन गरी भूमि आयोगमा प्रविष्टी भएको भूमि ईकाई मध्यविन्दुका बिष्णु गौतमले बताउनुभयो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |