२०८० मंसिर २५, सोमबार
नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी – दुम्किबास सडक जसरी पनि निर्माण गर्ने बताउनु भएको छ । आज नवलपुरको गैँडाकोटमा आयोजित आर्थिक कार्यविधि, वित्तिय हस्तान्तरण तथा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले भारतीय सीमासँग जोडिने त्रिवेणी नाकाको सहज पहुँचका लागि त्रिवेणी – दुम्किबास सडक जसरी पनि निर्माण गर्ने बताउनुभयो ।
गण्डकी प्रदेशको विकासको आधारका रुपमा नवलपुर रहेको बताउँदै यसको थप विकासका लागि त्रिवेणी नाकासम्म पुग्ने बाटो निर्माणको आवश्यकता रहेको बताउँदै आवश्यक प्रक्रिया पुरा गरि बाटो निर्माण गरिने मुख्यमन्त्री अधिकारीले बताउनुभयो । ‘ हामी डिटेल सर्भे , वातावरणीय अध्ययनका प्रक्रिया पुरा गरि जान्छौ, अर्थ मन्त्रालयसँग सहमति लिएर , हाम्रा सबै कुरा बन्द गरेर , रकमान्तर गरेर भएपनि सकिन्छ अहिलेनै ,नभए प्राविधिकको रिपोर्ट अनुसार फास्ट ट्रयाकबाट यो बाटो पहिला हामी खोल्न चाहान्छौ ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो ।
त्रिवेणी क्षेत्र पुग्न अहिले पनि लुम्बिनी प्रदेश हुँदै जानुपर्ने बाध्यता रहेको बताउँदै प्रदेशको आफ्नो भूगोलमा पुग्ने बाटो बनाएरै छाड्ने मुख्यमन्त्री अधिकारीले बताउनुभयो । ‘ श्रिपेच मनाङ ,मुस्ताङ होला, तर हाम्रो सिंहासन भनेपनि जे भनेपनि नवलपुर हो, नत्र गण्डकी प्रदेश, प्रदेश हुँदैन, त्यसैले हाम्रो पहिलो प्राथमिकता मनाङ, मुस्ताङ र नवलपुर नै हो’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो ‘यसलाई अगाडि नबढाए प्रदेशलाई बलियो बनाउन सक्दैनौ।’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले स्थानीय तह बलियो हुनु भनेको प्रदेश र संघ बलियो बन्नु भएको बताउनुभयो ।
यसकारण स्थानीय तहलाई बलियो बनाउँदै लैजानुपर्ने उहाँले बताउनुभयो । ‘स्थानीय तह बलियो हुनु भनेका हाम्रो जग बलियो हुनु हो , जग बलियो भयो भने प्रदेश त्यहाँ उभिन सक्छ, संघ पनि बलियो हुन्छ’ मुख्यमन्त्री अधिकारीले भन्नुभयो । मुख्यमन्त्री अधिकारीले प्रदेशको पूर्वाधार विकास कार्यक्रम कसरी व्यवस्थित गराउन भन्ने विषयमा आफू गम्भिर रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री सिता कुमारी सुन्दासले संघ ,प्रदेश र स्थानीय तहको सम्बन्ध, समन्वय ,सहकार्य र सह अस्तित्वले मात्रै राज्य सञ्चालन हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नवलपुर सम्भावनाको खानी भएकाले प्रदेश सरकारले चासोका साथ हेर्नुपर्ने बताउनुभयो । कृषि, पशुपालन, पर्यटन र उद्योगको सम्भावना धेरै रहेकाले यसतर्फ प्रदेश सरकारले चासो दिएर लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । नवलपुरले समग्र गण्डकी प्रदेशलाई आवश्यक खाद्यान्न उत्पादन गर्न सक्ने उहाँले बताउनुभएको थियो । यसकारण पनि नवलपुर जिल्लाका बारेमा चासो दिएर काम गर्न जिसस प्रमुख विश्वकर्माले मुख्यमन्त्रीलाई अनुरोध गर्नुभएको थियो ।
नवलपुरको गैँडाकोटमा भएको अन्तिक्रिया कार्यक्रममा नवलपुर सहित प्रदेशका पाँच जिल्लाका प्रमुख ,उप प्रमुख, अध्यक्ष ,उपाध्यक्ष सहित कर्मचारीको उपस्थिती रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |