२०८० मंसिर २४, आईतबार
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको भारतीय सीमासँग जोडिएको क्षेत्र हो त्रिवेणी क्षेत्र । विनयी त्रिवेणी गाउँपालिका अन्र्तगतका दुईवटा वडाहरु , ६ र ७ यस क्षेत्रमा पर्दछन् । त्रिवेणी धामले परिचित यो भूगोल गण्डकी प्रदेशको भारतीय सीमासँग जोडिएको एक मात्रै सिमा नाकाको रुपमा समेत रहेको छ ।
धार्मिक पर्यटन, सीमासँग जोडिएकाले उद्योग, व्यापारको सम्भावनाका लागि प्रचुर सम्भाव्यता रहेको त्रिवेणी क्षेत्रको शुक्रबार जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा सहित जिससको टोलीले अनुगमन गरेको छ । साथै यस क्षेत्रका जनप्रतिनिधि, स्थानीयका धारणाहरू बुझ्ने काम समेत सम्पन्न गरेको छ ।
अनुगमन पछि जिसस प्रमुख बाबुराम विश्वकर्माले त्रिवेणी क्षेत्र सम्भावनाले भरिएको क्षेत्र रहेको बताउनुभयो । उहाँले यसको एकीकृत विकासमा लाग्नुपर्ने देखिएको बताउनुभयो । जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक समन्वयात्मक पहल गर्ने समेत सो क्रममा जिसस प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो ।जिल्ला समन्वय समिति आफैमा विकासका काम गर्ने अड्डा नभएपनि सम्बन्धित निकायमा यस क्षेत्रको विकासका लागि आवश्यक सबै पहलगर्ने उहाँले बताउनुभयो ।
त्रिवेणी क्षेत्रका जनप्रतिनिधिले त्रिवेणी– दुम्किबास सडक निर्माण नहुँदा जिल्ला सदरमुकाम सम्म पुग्न निक्कै सास्ती खेप्नुपरेको गुनासो गरेका थिए । उनीहरूले यो सडक निर्माणका लागि पहल गर्न अनुरोध गरेका थिए । साथै त्रिवेणी क्षेत्रलाई जिल्ला ,प्रदेश र संघले विषेश प्राथमिकतामा राखी विकासका कामहरू गर्नुपर्ने उनीहरूको माग रहेको थियो ।
यसैगरी त्रिवेणीबाट बाल्मीकी आश्रम जानेगरि निर्माण गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको समेत बताएका थिए । जिसस प्रमुख विश्वकर्माले झोलुङ्गे पुल तत्काल सञ्चालनको वातावरण बनाउन पहल गर्ने र त्रिवेणी –दुम्किबास सडक निर्माणका विषयमा समेत आवश्यक पहलगर्ने बताउनुभएको थियो । झोलुङ्गे पुल संचालन गर्न सके नेपालकै बाटो हुँदै हजारौं पर्यटक बाल्मिकी आश्रम जान सक्ने र यसले पर्यटनको माध्यमबाट आर्थिक विकासमा समेत सहयोग पुग्ने उहाँले बताउनुभयो । यसकारण तत्काल पुल संचालनका लागि आवश्यक समन्वय गर्ने जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।
त्रिवेणी क्षेत्रमा पर्ने गजेन्द्र मोक्षधाम ,बाल्मिकी आश्रम र मदारबाबाका विषयमा समेत जिसस प्रमुख विश्वकर्माले जानकारी लिनुभएको थियो । वाल्मीकि आश्रम क्षेत्र धार्मिक दृष्टिले महत्वपूर्ण क्षेत्र भएर पनि सरकारले यसको विकासका लागि उदासिनता देखाएका देखिएको भन्दै यसको विकासका लागि सरकार सहित सम्बन्धित पक्ष लाग्नुपर्ने उहाँले बताउनुभयो । त्रिवेणी क्षेत्र सहित मदारबाबा समेत धार्मिक दृष्टिले प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्न सकिने हुँदा यस क्षेत्रको समग्र विकासमा आफ्नो तर्फबाट समेत पहल हुने उहाँले बताउनुभयो ।
प्रदेशकै पुछारमा पर्ने भूगोल त्रिवेणी आफैमा धार्मिक पर्यटन, उद्योग, व्यापारको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सबै मिली यसको विकासमा लाग्नुपर्ने जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।
गण्डकी प्रदेशमा पर्दा दीप प्रज्वलन गरेको स्मरण गर्दै त्रिवेणी क्षेत्रका स्थानीले अहिले प्रदेशले समेत खासै चासो नदिएकोमा दुःख व्यक्त गरेका थिए । ‘हामीले त्रिवेणी गण्डकी प्रदेशमा पर्दा दीप प्रज्वलन गर्यौं, खुसियाली मनायौँ तर अहिले सास्ती खेपीरहेका छौ, घण्टौँ घुमेर सदरमुकाम जानुपर्ने बाध्यता छ ’ स्थानीय मुनिर अंसारीले भन्नुभयो ‘ जिल्ला र प्रदेशले हाम्रा समस्या सुनेनन, बुझेनन् । ’
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: pressnawalpur@gmail.com
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |