२०८१ श्रावण १२, शनिबार
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर स्थित त्रिवेणी धाम र चितवनको वाल्मीकि आश्रम जोड्ने गरि नारायणी नदीमा झोलुङ्गे निर्माण भएपछि पर्यटकको आगमनमा वृद्धि भएको छ ।
झोलुङ्गे पुल अवलोकन गर्नकै लागि यहाँ सयौँ पर्यटक दैनिक रुपमा आउने गरेका छन् । झोलुङ्गे पुल अवलोकन गर्न नेपाल र भारतबाट दैनिक पाँच सय हाराहारी पर्यटक आउने गरेको विनयी त्रिवेणी गाउँपालिका–६ का अध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो ।
‘झोलुङ्गे पुल हेर्न दैनिक पाँच सय हाराहारी पर्यटक आउँछन् । फोटो खिच्छन् । टिकटक बनाउँछन् । यो पुल अहिले टिकटक भाइरल पुल भएको छ । ’ अध्यक्ष शाहले भन्नुभयो – धार्मिक कार्यमा त यहाँ पर्यटकको आगमन हुन्थ्यो नै पुल बनेपछि अहिले युवाहरू पनि आउँछन् । नयाँ नयाँ ठाउँबाट आउने पर्यटकहरू बढेका छन् । ’
पुल अवलोकन गर्न आउनेहरू नजिककै रहेको गजेन्द्र मोक्षधाम, लक्ष्मीनारायण मन्दिर, सिसमहल र आसपासका विभिन्न देवीदेवताका मठ मन्दिरको दर्शन समेत गरेर फर्कने गरेका छन् । जसले गर्दा व्यापार व्यवसायमा समेत टेवा पुगेको छ ।
पुल बनेकै कारण अहिले केही स्थानीयको दैनिकी चलाउन पनि सहज भएको छ । पुलको आडैमा साना साना छाप्रा बनाएर केही स्थानीयले व्यापार सुरु गरेका छन् । केही समय पहिलेबाट मात्रै यहाँ व्यापार सुरु गर्नुभएका हरि शङ्कर कँडेलका अनुसार शुक्रबार र शनिबार धेरै पर्यटक आउँछन् । बिदाको समयमा पनि बढी हुन्छन् । त्यस समयमा व्यापार राम्रो हुन्छ । अन्य समयमा पनि सन्तोषजनक नै व्यापार हुने गरेको उहाँ बताउनुहुन्छ । पुल बनेकै कारण घरखर्च चलाउने माध्यम पाएको उहाँको भनाई छ । उहाँ जस्तै आठ–दश परिवारले खाजानास्ताको व्यापारबाट घरखर्चको जोहो गरेका छन् ।
हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्रको रुपमा रहेको त्रिवेणी धाम र वाल्मीकि आश्रम जोड्ने गरी ९ वर्ष अघिदेखि नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको पहल भएको भएपनि विभिन्न अवरोधका कारण पुरा हुन सकेको थिएन । पुल ६ महिना अघि मात्रै निर्माण सम्पन्न भएको हो । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने भएकाले पुल निर्माणको प्रक्रिया शुरु गर्न नै लामो समय लागेको थियो ।
पुल सम्पन्न भएपनि पुलबाट पारी पर्ने वाल्मीकि आश्रम जान भने रोक लगाइएको छ । जसका कारण पुलबाट नेपालको बाटो हुँदै वाल्मीकि आश्रम जान चाहने पर्यटकहरू खिन्न हुन्छन् । वाल्मीकि पुग्ने उत्साह बोकेर आएका पर्यटक मुखैमा पुगेर फर्किनु पर्ने बाध्यता छ ।
चितवन राष्ट्रिय निकुञ्जको जङ्गलमा बाटो निर्माण हुन सकेको छैन । वन क्षेत्रमा मानव चहलपहल बढ्दा पर्यावरणमा पर्न सक्ने असरलाई मध्यनजर गरेर चितवन राष्ट्रिय निकुञ्जले पुलको पल्लो छेउमा बार लगाएर पारि जान रोकेको छ ।
विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले पुलबाट वाल्मीकि आश्रम आउजाउ गर्न मिल्ने वातावरण बनाउन पहल भइरहेको बताउनुभयो । ‘वाल्मीकि आश्रम चितवनमा परे पनि त्यसको व्यवस्थापन हामीले गर्दै आएका छौँ, पुल बनेपनी पारि बाटो बनाउन बाँकी छ, यस विषयमा समन्वय भइरहेको छ ।’ अध्यक्ष गिरीले भन्नुभयो । निकुञ्ज क्षेत्र भएकाले त्यहाँ पुलबाट मानिस आवतजावत गर्दा सुरक्षा चुनौती हुने विषय उठेकाले त्यहाँ सुरक्षाकर्मी बस्ने व्यवस्थाका लागि समेत छलफल चलिरहेको उहाँले बताउनुभयो।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: | ज्ञानु पंगेनी |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |